काठमाण्डौं − नेपाल टेलिकमको मेरुदण्ड मानिने ‘कन्भर्जेन्ट रियल टाइम बिलिङ’ (CRTB) प्रणालीको ५ अर्ब रुपैयाँ बराबरको ठेक्का प्रक्रिया ‘विशेष परिस्थिति’ भन्दै रोकिएपछि सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी गम्भीर संकटतर्फ धकेलिएको छ।
प्राविधिक मूल्यांकनमा ‘हुवावे’ मात्र सफल भई आर्थिक प्रस्ताव खोल्ने अन्तिम तयारी भइरहँदा मन्त्रालय र नेतृत्वको ‘अदृश्य’ निर्देशनमा प्रक्रिया रोकिएको हो।
सन् २०११ देखि प्रयोगमा रहेको ‘एसिया इन्फो’ को पुरानो प्रणालीले काम गर्न छाडेपछि देशभरका २ करोडभन्दा बढी ग्राहकले पटक-पटक सेवा अवरुद्ध हुने समस्या भोगिरहेका छन्।
‘सेटिङ’ र भ्रष्टाचारको पुरानो शृङ्खला
टेलिकमको बिलिङ प्रणाली जहिले पनि विवाद र भ्रष्टाचारको केन्द्र बन्दै आएको छ। गत जेठ २५ गते मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्तमान प्रबन्ध निर्देशक (MD) संगीता पहाडी, पूर्वएमडी सुनिल पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।
बिना प्रतिस्पर्धा ‘एसिया इन्फो’ लाई नै पटक-पटक म्याद थपेर राज्यलाई हानि पुर्याएको भन्दै मुद्दा दायर भएपछि एमडी पहाडी निलम्बनमा समेत परेकी छन्। हालको ठेक्का प्रक्रिया पनि सोही ‘एसिया इन्फो’ को म्याद २०२७ सम्म लम्ब्याएर नयाँ टेन्डरलाई असफल बनाउने खेल अन्तर्गत रोकिएको हुनसक्ने उच्च स्रोतको दाबी छ।
प्रणालीगत असफलता: नि:शुल्क डाटा र राजस्व क्षति
पुरानो प्रविधि कति जर्जर भइसकेको छ भन्ने उदाहरण हालैका घटनाले पुष्टि गर्दछन्:
- १७ पटक ‘ब्रेकडाउन’: सन् २०२४ मा मात्रै १७ पटक देशव्यापी नेटवर्क फेल भयो।
- बिलिङ बाइपास: सन् २०२५ को अन्त्यतिर डाटा सेवा ठप्प भएपछि प्राविधिकहरूले शुल्क काट्ने प्रणाली (OCS) नै ‘बाइपास’ गरेर सेवा सञ्चालन गर्नुपरेको थियो। यसबाट करिब ५० लाख रुपैयाँभन्दा बढी राजस्व सिधै गुमेको अनुमान छ।
- विज्ञको चेतावनी: नयाँ प्रणाली जडान र डाटा माइग्रेसनका लागि कम्तीमा २४ महिना लाग्छ। अहिले ठेक्का अघि नबढे २०२७ सेप्टेम्बरमा पुरानो सम्झौता सकिएपछि टेलिकमको बिलिङ प्रणाली पूर्ण रूपमा ठप्प हुने जोखिम छ।
नेतृत्वको ‘एक्जिट’ र मन्त्रालयको दबाब
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको निर्देशनमा प्राविधिक प्रस्तावको विवाद देखाउँदै ठेक्का स्थगित गरिएको हो। निमित्त एमडी सविना मास्केको कार्यकाल अब एक महिनाभन्दा कम बाँकी छ। कार्यकालको अन्त्यमा विवादास्पद निर्णय नगर्ने रणनीति र अर्कोतर्फ मुख्य प्राविधिक अधिकृत (CTO) लगायतको टोलीले आर्थिक प्रस्ताव खोल्न नमान्दा प्रक्रिया अन्योलमा परेको हो।
सङ्कटको मुख्य बुँदाहरू:
| विवरण | तथ्य/अवस्था |
| वर्तमान प्रणाली | १४ वर्ष पुरानो (एसिया इन्फो) |
| नयाँ ठेक्का रकम | करिब ५ अर्ब रुपैयाँ |
| प्राविधिक छनोट | हुवावे टेक्नोलोजी (एक मात्र सफल) |
| अवरोधको कारण | जिम्मेवारीहिन नेतृत्व, मन्त्रालयको अनावस्यक हस्तक्षेप |
| जोखिम | २०२७ पछि बिलिङ विहीनता र राजस्वको ठूलो क्षति |
टेलिकमको उच्च व्यवस्थापन अहिले ‘न निल्नु न ओकल्नु’ को अवस्थामा छ। एकातिर टेन्डर अघि बढाउँदा ‘एकल बोलपत्रदाता’ सँगको मिलेमतोको आरोप लाग्ने डर छ भने अर्कोतिर टेन्डर रद्द गर्दा पुरानै मक्किएको प्रणालीको भर पर्नुपर्ने बाध्यता छ। नेतृत्वको यो अनिर्णयले नेपाल टेलिकमलाई निजी क्षेत्रको कम्पनीसँगको प्रतिस्पर्धामा निकै कमजोर बनाउँदै लगेको छ।