काठमाण्डौ — प्रविधि जायन्ट गुगलले सन् २०२५ मा आफ्ना धेरै ‘सिस्टम एप’ हरूलाई नयाँ स्वरूप (Material 3 Expressive UI) मा ढाल्ने क्रममा ‘गुगल क्लक’ मा पनि ठूलो परिवर्तन गरेको थियो। उक्त परिवर्तनसँगै अलार्म बन्द गर्न (Dismiss) वा केही समयका लागि सार्न (Snooze) प्रयोग गरिने ‘स्लाइडर’ लाई हटाएर ‘बटन’ राखिएको थियो। तर, प्रयोगकर्ताको रुचि र सहजतालाई ध्यानमा राख्दै गुगलले अब पुरानो स्लाइडर फिचरलाई पुनः भित्र्याउने तयारी गरेको छ।
सार्वजनिक एक रिपोर्ट अनुसार गुगलले अब प्रयोगकर्तालाई ‘बटन’ वा ‘स्लाइडर’ मध्ये कुन प्रयोग गर्ने भन्ने रोज्ने अधिकार दिन लागेको हो।
के-के हुँदैछ नयाँ अपडेटमा?
१. अलार्म नियन्त्रणमा विकल्प: गुगल क्लकको सेटिङ्समा अब “Dismiss an alarm with a” भन्ने नयाँ विकल्प देखिनेछ। यसमा गएर प्रयोगकर्ताले अलार्म बज्दा स्क्रिनमा बटन देखाउने वा स्लाइडर देखाउने भन्ने कुरा आफ्नो इच्छा अनुसार छनोट गर्न सक्नेछन्। यसले गर्दा झुक्किएर अलार्म बन्द हुने समस्या कम हुने विश्वास गरिएको छ।
२. भोल्युम कन्ट्रोलमा सुधार: नयाँ अपडेटमा अलार्मको आवाज घटाउन वा बढाउन प्रयोग गरिने ‘स्लाइड बार’ लाई केही बाक्लो बनाइएको छ। साथै, भोल्युम सार्दा अब यसले ‘डेसिबल’ (decibels) मा ठ्याक्कै कति आवाज छ भन्ने अंक पनि देखाउनेछ।
३. स्टपवाच (Lap Time) मा नयाँ फिचर: स्टपवाच प्रयोग गर्दा विभिन्न ‘ल्याप टाइम’ हरू हेर्न सजिलो होस् भनेर गुगलले दुईवटा साना ‘एरो’ (Arrow) बटनहरू थपेको छ। अब प्रयोगकर्ताले स्क्रोल गर्नुका साथै बटन थिचेर पनि विभिन्न ल्याप रेकर्डहरू हेर्न सक्नेछन्।
डिजाइनमा स्थिरता
गुगलले नयाँ डिजाइनमा रङहरूलाई बढी जीवन्त बनाए पनि अलार्मको ब्याकग्राउन्डमा भने वालपेपर देखिने फिचरलाई हटाएर ‘सोलिड’ रङहरूलाई नै निरन्तरता दिने भएको छ। यसले गर्दा अलार्म बज्दा स्क्रिनमा लेखिएका अक्षरहरू पढ्न सजिलो हुनेछ।
कहिले आउँछ यो सुविधा?
अलार्म भोल्युमको बाक्लो बार र स्टपवाचको नयाँ बटनहरू ‘गुगल क्लक’ को पछिल्लो संस्करण (Version 8.5) मा उपलब्ध भइसकेका छन्। तर, बटन र स्लाइडर रोज्न पाउने मुख्य फिचर भने अहिले परीक्षणकै क्रममा छ र छिट्टै सबै प्रयोगकर्ताका लागि सार्वजनिक गरिनेछ।
