काठमाडौं — बिलिङ प्रणालीमा लगातार समस्या देखिन थालेपछि नेपाल टेलिकमले पुनः प्रणाली बाइपास गरेर सेवा सञ्चालन गरेको तथ्य खुलेको छ। जनवरी १२ र १३, २०२६ मा दुई दिन लगातार आएको प्राविधिक खराबीका कारण देशभर डेटा सेवा अवरुद्ध बनेपछि टेलिकम अस्थायी उपायमा निर्भर हुन पुगेको हो।
टेलिकमको बिलिङ प्रणाली जनवरी १२ मा बिहान १०:३० देखि ११:०० बजेसम्म डाउन भएको थियो। त्यसको भोलिपल्ट जनवरी १३ मा दिउँसो १:२२ देखि १:५० बजेसम्म फेरि प्रणाली असफल हुँदा डेटा सेवा पूर्ण रूपमा प्रभावित बनेको थियो। समस्या तत्काल समाधान हुन नसकेपछि टेलिकमले जनवरी १३ को दिउँसो करिब ३ बजेसम्म बिलिङ प्रणाली बाइपास गरी सेवा सञ्चालन गरेको स्रोतको भनाइ छ।
सो अवधिमा ग्राहकले डेटा सेवा निःशुल्क प्रयोग गर्न पाएका कारण टेलिकमको आम्दानीमा उल्लेख्य क्षति पुगेको बताइएको छ। एकातिर लाखौँ प्रयोगकर्ता केही समय सेवाबाट वञ्चित भए भने अर्कोतिर प्रणाली बाइपासका कारण कम्पनीले प्रत्यक्ष राजस्व गुमाउनुपरेको अवस्था देखिएको छ।
बिलिङ प्रणालीमा देखिएको समस्या टेलिकमका लागि नयाँ भने होइन। तथ्यांकअनुसार सन् २०२४ मा मात्रै पुरानो बिलिङ प्रणालीले भार थेग्न नसक्दा १७ पटकसम्म सेवा अवरुद्ध भएको थियो। सन् २०२५ मा पनि पाँचपटक प्रणाली असफल भएको अभिलेख छ, जसअन्तर्गत जनवरी ४, जुलाई २८, सेप्टेम्बर २५ मा दुईपटक र डिसेम्बर २ मा समस्या देखिएको थियो। सन् २०२६ को सुरुआती महिनामै जनवरी १२ र १३ गरी दुईपटक बिलिङ प्रणाली फेल भइसकेको छ।
पटक पटक समस्या दोहोरिँदा पनि मूल कारण पहिचान गरेर स्थायी समाधान निकाल्न नसक्नु टेलिकमको प्रमुख कमजोरीका रूपमा देखिएको छ। समस्या देखिनासाथ बिलिङ प्रणाली बाइपास गरेर सेवा सञ्चालन गर्ने अभ्यासले तत्काल राहत दिए पनि दीर्घकालीन रूपमा समस्या झन् जटिल बनाइरहेको सरोकारवालाहरूको भनाइ छ।
लामो समयदेखि बिलिङ प्रणाली अपग्रेड वा नयाँ प्रणाली खरिद गर्ने योजना अल्झिँदा टेलिकमको सेवा गुणस्तरमा प्रत्यक्ष असर परेको छ। बारम्बारको नेटवर्क डाउन, प्राविधिक गडबडी र अस्थायी समाधानको निरन्तरताले कम्पनीको आम्दानी मात्र होइन ग्राहक र सरोकारवाला माझ टेलिकमको विश्वसनीयतामा समेत गम्भीर प्रश्न उठाएको छ।
‘बाइपास’ को अर्थ: सित्तैमा डेटा, करोडौँको नोक्सानी
प्राविधिक भाषामा ‘बिलिङ बाइपास’ गर्नु भनेको मिटर रिडिङ नगरी धाराको पानी छाड्नु जस्तै हो। यस अवस्थामा प्रयोग कति भयो भन्ने कुनै हिसाब हुँदैन। बिलिङ प्रणाली बाइपास गरिएको अवधिमा ग्राहकले जतिसुकै डेटा प्रयोग गरे पनि त्यसको शुल्क काटिँदैन। स्रोतका अनुसार जनवरी १३ मा दिउँसो ३ बजेसम्मको अवधिमा लाखौँ ग्राहकले निःशुल्क डेटा सेवा प्रयोग गरेका थिए।
टेलिकमका एक पूर्व प्राविधिकका अनुसार “प्रणाली डाउन हुँदा हुने आलोचना झेल्नुभन्दा सित्तैमा सेवा दिएर भए पनि ग्राहक टिकाउने रणनीति टेलिकमले लिएको देखिन्छ। तर यसको मूल्य भने एकै दिनमा करोडौँ रुपैयाँ राजस्व गुमाउनु हो।”
किन समाधान हुँदैन समस्या?
नेपाल टेलिकमले हाल प्रयोग गरिरहेको बिलिङ प्रणाली दशकभन्दा पुरानो भइसकेको छ। सुरुमा सीमित सेवाका लागि डिजाइन गरिएको यो प्रणाली अहिलेको उच्च डेटा खपत, रियल टाइम चार्जिङ र नयाँ प्रविधिको दबाब धान्न असक्षम बन्दै गएको छ।
यसका साथै नयाँ कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टम (CRTBS) खरिद गर्ने प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको छैन। नयाँ टेन्डर प्रक्रिया विवाद, स्वार्थ समूहको तानातान र निर्णय तहको ढिलाइका कारण अल्झिँदा टेलिकम पुरानै प्रणालीमा निर्भर रहन बाध्य भएको देखिन्छ। सरोकारवालाहरूका अनुसार जबसम्म आधुनिक र सक्षम बिलिङ प्रणाली समयमै भित्र्याइँदैन तबसम्म सेवा अवरोध, बाइपासमार्फत निःशुल्क सेवा र राजस्व क्षतिको चक्र दोहोरिइरहनेछ।