काठमाण्डौ — सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा नयाँ नेतृत्व चयनका लागि दौडधुप सुरु भएको छ । वर्तमान निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानको कार्यकाल आज (माघ २१ गते) सकिन लागेसँगै सरकारले नयाँ निमित्त प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।
सम्भवतः आज बेलुकासम्म मन्त्रालयले टेलिकममा नयाँ निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोक्नेछ ।
वरिष्ठता मिच्ने खेल
नयाँ निमित्त चयनमा टेलिकमभित्र वरिष्ठता मिच्ने खेल सुरु भएको स्रोतको दाबी छ । नियमानुसार वरिष्ठताको आधारमा वित्त प्रमुख राजेन्द्र प्रसाद अर्यालले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाउनुपर्ने हो । अर्याल हाल संस्थानको रोलक्रममा सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।
तर सरकारले अर्याललाई पन्छाएर दोस्रो नम्बरमा रहेकी प्राविधिक प्रमुख रिना डंगोललाई जिम्मेवारी सुम्पिने तयारी गरेको बुझिएको छ । “वरिष्ठतालाई आधार मान्ने हो भने राजेन्द्र अर्याल निर्विकल्प हुनुहुन्छ, तर राजनीतिक समीकरण र शक्ति केन्द्रको दबाबका कारण दोस्रो नम्बरका व्यक्तिलाई अघि सार्ने गृहकार्य भइरहेको छ,” स्रोतले भन्यो ।
शक्ति केन्द्रको दबाबमा डंगोल !
टेलिकम स्रोतका अनुसार डंगोललाई निमित्त प्रबन्ध निर्देशक बनाउन विभिन्न शक्ति केन्द्रहरू सक्रिय भएका छन् । बालुवाटार र सञ्चार मन्त्रालयका उच्च अधिकारीहरूसँगको निकटताका कारण डंगोल नै सिफारिस हुने प्रबल सम्भावना रहेको स्रोतको दाबी छ ।
पछिल्लो समय नेपाल टेलिकममा नियमित प्रबन्ध निर्देशक (एमडी) नियुक्तिको प्रक्रिया समेत विवादमा पर्दै आएको छ । यस्तो अवस्थामा निमित्त चयनमा पनि वरिष्ठता मिचिएमा संस्थाभित्र कर्मचारीहरूबीच असन्तुष्टि बढ्न सक्ने देखिएको छ ।
सरकारले आजै निर्णय गरेमा भोलिदेखि नयाँ निमित्त प्रबन्ध निर्देशकले कार्यभार सम्हाल्नेछन् ।