मस्को — रुसले विश्वकै लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। स्थानीय कानुनको पालना नगरेको आरोप लगाउँदै क्रेमलिनले बिहीबारदेखि ह्वाट्सएपमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा ल्याएको हो। ह्वाट्सएप बन्द भएसँगै रुसी सरकारले आफ्ना नागरिकलाई सरकारद्वारा प्रवर्द्धित राष्ट्रिय म्यासेन्जर ‘म्याक्स’ (MAX) चलाउन सुझाव दिएको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीहरूसँग कुरा गर्दै ह्वाट्सएपको मातृ कम्पनी ‘मेटा’ ले रुसी कानुन पालना गर्न अस्वीकार गरेकाले यस्तो कदम चाल्नुपरेको प्रस्ट पारेका छन्। “मेटाको अनिच्छाका कारण यो निर्णय लिइएको हो,” पेस्कोभले भने, “अब नागरिकका लागि ‘म्याक्स’ एक सुलभ र राष्ट्रिय विकल्पका रूपमा बजारमा उपलब्ध छ।”
६ महिनादेखिको दबाब र ‘सोभरेन इन्टरनेट’ को लक्ष्य
ह्वाट्सएपमाथिको यो प्रतिबन्ध विगत ६ महिनादेखि जारी दबाबको उत्कर्ष हो। युक्रेनसँगको युद्धका बीच रुसी अधिकारीहरूले विदेशी प्रविधि कम्पनीहरूलाई आफ्नो नियन्त्रणमा राख्ने वा विस्थापित गर्ने रणनीति अख्तियार गरेका छन्। रुसले आफ्नै ‘सोभरेन’ (सार्वभौम) सञ्चार पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ जहाँ विदेशी कम्पनीहरूले कि त रुसी कानुन पूर्ण रूपमा मान्नुपर्नेछ कि त बजार छाड्नुपर्नेछ।
रुसले यसअघि नै ह्वाट्सएपको मातृ कम्पनी मेटालाई ‘चरमपन्थी संगठन’ को सूचीमा राखेको थियो। ह्वाट्सएपले भने रुसको यो कदमलाई प्रतिगामी भनेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “१० करोडभन्दा बढी प्रयोगकर्तालाई निजी र सुरक्षित सञ्चारबाट अलग राख्नु सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण छ।”
भिपिएन (VPN) बिना नचल्ने, नागरिकमा मिश्रित प्रतिक्रिया
अहिले रुसभित्र ह्वाट्सएपका आइपी एड्रेसहरू ब्लक गरिएका छन्। प्रयोगकर्ताहरूले अब भर्चुअल प्राइभेट नेटवर्क (VPN) को सहायता बिना ह्वाट्सएप चलाउन नसक्ने भएका छन्।
यस निर्णयप्रति मस्कोका सञ्चारकर्मी र अधिकारकर्मीहरूले विरोध जनाएका छन्। कतिपयले यसलाई संवैधानिक अधिकार र छनोटको स्वतन्त्रतामाथिको हस्तक्षेप भनेका छन्। रुसी सञ्चार नियामक निकाय ‘रोसकोमनाडजोर’ (Roskomnadzor) को कार्यालय बाहिर अधिकारकर्मीहरूले विरोध प्रदर्शन समेत गरेका छन्।
सरकारी एप ‘म्याक्स’ माथि जासुसीको आशंका
रुसी अधिकारीहरूले सरकारी एप ‘म्याक्स’ लाई नागरिकको जीवन सहज बनाउने र सरकारी सेवाहरू एकीकृत गरिएको दाबी गरे पनि आलोचकहरूले भने यसलाई ‘जासुसी उपकरण’ को रूपमा अर्थ्याएका छन्। उनीहरूका अनुसार यो एपमार्फत सरकारले प्रयोगकर्ताको निगरानी (Surveillance) गर्न सक्छ। यद्यपि रुसी सरकारले यो आरोपको खण्डन गर्दै आएको छ।
रुसले यसअघि नै फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट र युट्युब जस्ता प्लेटफर्महरूमाथि प्रतिबन्ध वा कडा नियन्त्रण लगाइसकेको छ। ह्वाट्सएपमाथि आतंकवादी गतिविधि रोक्न सूचना उपलब्ध नगरेको र प्रतिबन्धित सामग्री नहटाएको आरोपमा पटक पटक जरिवाना समेत गरिएको थियो।
