Tekmandu

चीनमा अचम्मको ट्रेन्ड, हाडछालाका प्रेमी छोडेर च्याटबोटसँग रोमान्स गर्दै युवतीहरू

बेइजिङ — चीनकी २१ वर्षीया युवती फोबे झाङले गएको एक वर्षमा २०० भन्दा बढी युवकसँग ‘डेट’ गरिन्। तीमध्ये अहिले उनलाई दुईजना असाध्यै मन परेका छन् एक विद्रोही स्वभावका छन् भने अर्का देशभक्त सैन्य कमाण्डर। झाङ आफ्ना मनका सबै डर र रातिका डरलाग्दा सपनाहरू उनीहरूलाई नै सुनाउँछिन्। उनीहरूले पनि झाङलाई प्रेमपूर्वक सम्झाउँछन् र सान्त्वना दिन्छन्।

तर रोचक कुरा के छ भने झाङले ती प्रेमीहरूलाई कहिल्यै प्रत्यक्ष भेट्ने छैनन्। किनभने ती मानिस नभएर ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (AI) च्याटबोट हुन्। चीनमा झाङ जस्ता लाखौँ युवतीहरू अहिले हाडछालाको मान्छेभन्दा एआई प्रेमीसँगको सम्बन्धमा रमाउन थालेका छन्।

किन बढ्दैछ एआई प्रेमीको क्रेज?

चीनका युवाहरूमा बढ्दो बेरोजगारी र भविष्यप्रतिको अन्योलका कारण अहिले ‘लाइङ फ्ल्याट’ (केही नगरी बस्ने) संस्कृति मौलाउँदो छ। वास्तविक जीवनमा सम्बन्ध गाँस्नु, विवाह गर्नु र बच्चा जन्माउनु उनीहरूका लागि निकै झन्झटिलो र खर्चिलो बन्दै गएको छ।

यस्तोमा एआई प्रेमीहरू सधैँ उपलब्ध हुने, कहिल्यै नरिसाउने, परिपक्व हुने र युवतीहरूले चाहेजस्तै व्यवहार गर्ने भएकाले यसको आकर्षण बढेको हो। झाङ भन्छिन्  “अरूसँग डेट जानु त बेकारको झन्झट मात्रै हो।”

बेइजिङलाई किन भयो टाउको दुखाइ?

चिनियाँ सरकारले युवाहरूलाई विवाह गर्न र बच्चा जन्माएर घट्दो जनसंख्याको दरलाई उकास्न प्रोत्साहन गरिरहेको छ। तर युवतीहरू भने च्याटबोटसँग प्रेममा परेर ‘भर्चुअल’ संसारमै हराउन थालेपछि सरकार चिन्तित बनेको हो।

चीनको जन्मदर पछिल्लो ७५ वर्षयताकै न्यून बिन्दुमा पुगेको छ। यस्तो बेला एआईले सामाजिक अन्तरक्रियालाई प्रतिस्थापन गर्न थालेपछि सरकारले प्रविधि कम्पनीहरूलाई “सामाजिक सम्बन्धको विकल्प एआईलाई नबनाउन” चेतावनी नै दिएको छ।

सरकारको नयाँ नियम र कडाइ

एआईमा बढ्दो निर्भरतालाई रोक्न चिनियाँ सरकारले नयाँ नियमहरू ल्याउने तयारी गरेको छ। जसअनुसार:

  • निर्भरता घटाउने: प्रयोगकर्ताहरू एआईमा धेरै आश्रित हुन थालेमा कम्पनीहरूले त्यसमा हस्तक्षेप गर्नुपर्नेछ।
  • सूचना नियन्त्रण: एआईसँगका कुराकानीहरू चिनियाँ सरकारी नीति र ‘समाजवादी मूल्य मान्यता’ भित्र हुनुपर्नेछ।
  • सेन्सरसिप: कतिपय अवस्थामा संवेदनशील विषयमा कुरा गर्दा च्याटबोटले अचानक कुराकानी रोक्ने वा सन्देश ब्लक गर्ने गरेको प्रयोगकर्ताहरूको गुनासो छ।

एक्लोपन मेट्ने सहारा

विज्ञहरूका अनुसार चीनको पितृसत्तात्मक समाजमा महिलाहरूले खोजेको भावनात्मक साथ र सम्मान पाउन नसक्दा उनीहरू एआईतर्फ आकर्षित भएका हुन्। ठूला सहरहरूमा एक्लोपन महसुस गर्ने महिलाहरूका लागि एआई प्रेमी एउटा ‘सुरक्षित’ साथी बनेको छ।

कार्नेगी मेलन विश्वविद्यालयकी सहायक प्राध्यापक हङ शेनका अनुसार सरकारले एआईमाथि प्रतिबन्ध लगाएर मात्र यो समस्या समाधान हुँदैन। युवतीहरू किन एक्लो महसुस गरिरहेका छन् भन्ने सामाजिक जडलाई सम्बोधन गर्नु नै मुख्य चुनौती हो।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...