काठमाण्डौं — आर्टिफिसियल इन्टेलिजेन्स (AI) को क्षेत्रमा अग्रणी मानिएको च्याटजीपीटीले आफ्नो एन्ड्रोइड एपलाई पूर्ण रूपमा ‘मेकओभर’ गर्ने तयारी गरेको छ। ओपनएआईले च्याटजीपीटीको मोबाइल एपलाई अझ प्रयोगकर्ता मैत्री बनाउन नयाँ ‘मेमोरी’ टुल र फुल स्क्रिन इन्टरफेस लगायतका फिचरहरू परीक्षण गरिरहेको छ।
हालै सार्वजनिक भएको ‘एन्ड्रोइड अथोरिटी’ को रिपोर्ट अनुसार च्याटजीपीटीको नयाँ संस्करण (v1.2026.062) मा धेरै आकर्षक परिवर्तनहरू देखिनेछन्।
के के छन् त नयाँ परिवर्तनहरू?
१. काम गरिरहेकै ठाउँबाट सुरु (Session Resume): नयाँ फिचर अनुसार अब च्याटजीपीटीले तपाईंले एपमा के गरिरहनुभएको थियो भन्ने कुरा सम्झिनेछ। यदि तपाईंले एप बन्द गरेर फेरि खोल्नुभयो वा अर्को एप चलाउनुभयो भने पनि च्याटजीपीटीले तपाईंलाई पहिलेकै अवस्थाबाट काम सुचारु गर्न सघाउनेछ। यो हालको ‘मेमोरी’ फिचरभन्दा फरक र थप प्रभावकारी हुने बताइएको छ।
२. फुल स्क्रिन ‘साइडबार’ र युआई परिवर्तन: अहिले च्याटजीपीटीको साइडबार देब्रेतिरबाट थोरै मात्र बाहिर निस्कन्छ। तर आगामी अपडेटमा यो साइडबार ‘फुल स्क्रिन’ मा देखिनेछ जसले गर्दा प्रयोगकर्तालाई पुराना कुराकानी र सेटिङहरू खोज्न सजिलो हुनेछ। साथै फोटो सम्पादन गर्ने इन्टरफेसमा पनि केही सुधारहरू गरिएका छन्।
३. एआईबाटै ‘बायो’ जेनेरेट हुने: प्रोफाइल सेक्सनमा अब दुईवटा नयाँ विकल्पहरू थपिनेछन्– ‘फन फ्याक्ट’ (Fun fact) र ‘जेनेरेट बायो’ (Generate bio)। यसको मद्दतले प्रयोगकर्ताले एआई प्रयोग गरेरै आफ्नो व्यक्तिगत विवरण (Bio) लेख्न सक्नेछन्। यद्यपि यी फिचरहरू अहिले विकासको चरणमै रहेकाले सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेका छैनन्।
विवाद र प्रगति सँगसँगै
साम अल्टम्यानको नेतृत्वमा रहेको ओपनएआईले हालै कम्प्युटर र सफ्टवेयर समेत चलाउन सक्ने क्षमता भएको आफ्नो नयाँ मोडेल ‘जीपीटी-५.४’ (GPT-5.4) सार्वजनिक गरेको छ। यसले च्याटजीपीटीले दिने अनावश्यक उपदेशात्मक डिस्क्लेमरहरूलाई पनि हटाएको छ।
तर पछिल्ला केही हप्तामा च्याटजीपीटी विभिन्न विवादमा पनि मुछिएको छ। अमेरिकी युद्ध विभाग (Department of War) सँग सम्झौता गरेको र प्रयोगकर्तालाई ‘आत्म-हानि’ तर्फ प्रेरित गरेको जस्ता गम्भीर आरोपहरूका कारण कम्पनीले अहिले चर्को आलोचनाको सामना गरिरहेको छ।
यी नयाँ फिचरहरू अहिले ‘बिटा’ वा विकासको चरणमा रहेकाले सर्वसाधारणका लागि कहिलेदेखि उपलब्ध हुन्छन् भन्नेबारे आधिकारिक मिति भने तय भइसकेको छैन।
