काठमाण्डौं — भिडियो कन्फरेन्सिङ एप ‘जुम’ (Zoom) ले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरी अनलाइन बैठक र कार्यालयका कामलाई पूर्ण रूपमा बदल्ने गरी नयाँ सुविधाहरू सार्वजनिक गरेको छ। जुमले आफ्नै एआई डक्स, स्लाइड्स र सिट्स (AI Docs, Slides, Sheets) सँगै मानिसको हुबहु नक्कल गर्न सक्ने ‘एआई अवतार’ ल्याएको हो।
मंगलबार आयोजित एक कार्यक्रममा कम्पनीले यी फिचरहरू यसै महिनाको अन्त्यदेखि प्रयोगकर्ताका लागि उपलब्ध हुने जानकारी दिएको छ।
के हो एआई अवतार?
जुमले ल्याएको यो सबैभन्दा रोचक फिचर हो। यदि तपाईं भिडियो कलका लागि तयार हुनुहुन्न वा क्यामेरा अगाडि बस्न चाहनुहुन्न भने तपाईंको सट्टा एउटा ‘एआई अवतार’ बैठकमा बस्न सक्छ। यो अवतारले तपाईंको अनुहार, हाउभाउ, ओठको चाल र आँखाको नानीलाई हुबहु नक्कल गर्दछ जसले गर्दा अरू सहभागीलाई तपाईं नै बैठकमा बसिरहेको भान हुन्छ।
यससँगै जुमले ‘डिपफेक’ (Deepfake) पहिचान गर्ने प्रविधि पनि ल्याएको छ। यसले बैठकमा कसैले अर्को व्यक्तिको आवाज वा भिडियो प्रयोग गरेर ठग्न खोजेमा तुरुन्तै सतर्क गराउनेछ।
जुमका आफ्नै एआई अफिस एपहरू
गुगल र माइक्रोसफ्टलाई टक्कर दिँदै जुमले अब आफ्नै अफिस एपहरू पनि ल्याएको छ।
- एआई डक्स, स्लाइड्स र सिट्स: बैठकमा भएका कुराकानी (Transcripts) र अन्य डेटाका आधारमा यो एआईले आफैँ डकुमेन्टको ड्राफ्ट तयार पार्ने, हिसाबकिताबको टेबुल बनाउने र प्रिजेन्टेसन तयार पारिदिनेछ।
- अनुवाद सुविधा: अब बैठकमा हुने कुराकानीलाई एआईले रियल टाइममा अनुवाद (Voice Translator) समेत गरिदिनेछ।
साधारण मानिसले पनि बनाउन सक्ने ‘एआई एजेन्ट’
प्राविधिक ज्ञान नभएका सामान्य प्रयोगकर्ताले पनि अब जुममा आफ्नै ‘एआई एजेन्ट’ बनाउन सक्नेछन्। साधारण भाषामा निर्देशन दिएर यस्तो एजेन्ट तयार गर्न सकिन्छ जसले च्याटमा तपाईंले भनेका कामहरू गरिदिनेछ। जुमको ‘एआई कम्प्यानियन ३.०’ (AI Companion 3.0) अब डेस्कटप एपमा पनि उपलब्ध हुनेछ।
सबै सेवाहरू एकै ठाउँमा
जुमले आफ्नो एआईलाई स्ल्याक (Slack), सेल्सफोर्स, जिमेल र आउटलुक जस्ता अन्य सेवाहरूसँग पनि जोडेको छ। यसले गर्दा प्रयोगकर्ताले विभिन्न एपहरूमा रहेका जानकारीबारे जुमबाटै प्रश्न सोध्न र जवाफ पाउन सक्नेछन्। मोबाइल, डेस्कटप र वेब सबै ठाउँमा जुमको डिजाइनलाई एकैनासको बनाइनेछ ताकि नोटहरू र बैठकका सारांशहरू सजिलै भेटाउन सकियोस्।
अहिले ‘क्यानभा’ र ‘स्ल्याक’ जस्ता कम्पनीहरूले पनि यस्तै एआई सुविधाहरू थपिरहेका छन्। जुमले ल्याएका यी नयाँ फिचरहरूले विशेषगरी कर्पोरेट क्षेत्र र घरबाटै काम गर्ने (Work from Home) प्रयोगकर्ताहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
