काठमाण्डौं — प्रविधि कम्पनी गुगलले आफ्नो नक्सा सेवा Google Maps मा ठूलो अपडेट ल्याएको छ। नयाँ अपडेटसँगै प्रयोगकर्ताले ड्राइभिङ गर्दा अब २डी नक्सा होइन, वरपरको वातावरणलाई तीन आयाम (३डी) मा देखिने गरी मार्गदर्शन पाउने भएका छन्। साथै कम्पनीको कृत्रिम बुद्धिमत्ता आधारित Gemini च्याटबोट पनि म्याप्स एपमै समावेश गरिएको छ।
पछिल्ला केही सातायता गुगलले आफ्ना प्रमुख एपहरूमा एआई क्षमता विस्तार गरिरहेको छ। Gmail र Chrome पछि अब म्याप्समा पनि जेमिनी प्रविधि समेटिएको हो। कम्पनीले नयाँ ‘इमर्सिभ नेभिगेसन’ मोडलाई करिब एक दशकयताकै सबैभन्दा ठूलो सुधार भएको ड्राइभिङ फिचरको रूपमा प्रस्तुत गरेको छ।
नयाँ प्रणाली लागू भएपछि गाडी चलाउँदा वरपरको क्षेत्र केवल सपाट नक्सामा सीमित रहने छैन। भवन, ओभरपास लगायतका संरचनालाई गहिराइसहित ३डी ढाँचामा देखाइने भएकाले चालकलाई स्थान पहिचान गर्न सहज हुने गुगलको दाबी छ।
यो अनुभवलाई सञ्चालन गर्न गुगलको जेमिनी एआई मोडेल प्रयोग गरिएको छ। कम्पनीका अनुसार उक्त मोडेलले अनावश्यक दृश्य हटाउँदै आवश्यक तत्वहरूलाई प्राथमिकता दिने गरी नक्सा प्रस्तुत गर्छ। स्ट्रीट भ्यु डाटाबेस र हवाई तस्बिरको प्रयोग गरेर प्रणालीले क्रसवाक, ट्राफिक बत्ती वा स्टप साइन जस्ता सडकका महत्वपूर्ण संकेतहरूलाई विशेष रूपमा देखाउनेछ, जसले चालकलाई मोड वा एक्जिट छुटाउन नदिने लक्ष्य राखिएको छ।
यससँगै म्याप्सको भ्वाइस निर्देशन पनि थप स्वाभाविक बनाइएको छ। उदाहरणका लागि, राजमार्गमा गाडी चलाउँदा “यो एक्जिट पार गरेर अर्को एक्जिट लिनुहोस्” जस्ता निर्देशन सुन्न पाइनेछ। अपरिचित सडक नाम भएका विदेशी देशमा गाडी चलाउँदा यस्तो मार्गदर्शन विशेष उपयोगी हुने अपेक्षा गरिएको छ।
नेभिगेसन प्रणालीमा थपिएको एआई क्षमताले वैकल्पिक मार्ग सुझाउने तरिका पनि परिवर्तन गरेको छ। अब एपले अर्को बाटो सिफारिस गर्दा त्यसका फाइदा–बेफाइदा समेत बताउनेछ। उदाहरणका लागि, कुनै मार्ग लामो भए पनि ट्राफिक कम हुने जानकारी दिन सक्नेछ। यात्रा सुरु गर्नु अघि गन्तव्य स्थानको स्ट्रीट भ्यु पूर्वावलोकन र पार्किङका सम्भावित स्थानबारे सुझाव समेत प्रदान गरिनेछ।
नयाँ अपडेटसँगै म्याप्समा ‘Ask Maps’ नामक आइकन थपिएको छ। प्रयोगकर्ताले यसमा सामान्य भाषामा प्रश्न लेखेपछि जेमिनीले म्याप्समा उपलब्ध सबै डाटाको आधारमा उत्तर तयार गर्नेछ।
गुगलका अनुसार यो सुविधा परम्परागत नक्साले दिन नसक्ने जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको हो। उदाहरणका लागि, फोन चार्ज गर्न र कफी पिउन सकिने स्थान खोज्न प्रयोगकर्ताले जेमिनीलाई सोध्न सक्नेछन्। यसअघि यस्तो जानकारी पाउन धेरै समीक्षा (रिभ्यु) खोज्नुपर्ने अवस्था थियो। जेमिनीले भने प्रयोगकर्ताले पहिले खोजेका वा सुरक्षित गरेका स्थानका आधारमा व्यक्तिगत सुझाव पनि दिनेछ। साथै एपभित्रै रेस्टुरेन्ट बुक गर्ने, स्थान सुरक्षित गर्ने लगायतका काम गर्न सकिनेछ।
गुगलले नयाँ ३डी ‘इमर्सिभ’ ड्राइभिङ अनुभव हाल अमेरिकामा प्रयोगका लागि सुरु गरेको जनाएको छ। आगामी महिनाहरूमा यो सुविधा Android, iOS, CarPlay, Android Auto तथा गुगल प्रणाली समावेश भएका सवारी साधनमा विस्तार गरिनेछ। ‘Ask Maps’ फिचर भने अमेरिकासँगै भारतका एन्ड्रोइड र आईओएस उपकरणमा उपलब्ध गराउन थालिएको छ भने छिट्टै डेस्कटप संस्करणमा पनि ल्याइने तयारी गरिएको कम्पनीले जनाएको छ।
