काठमाण्डौं — विश्वव्यापी प्रविधि कम्पनी हुवावेले औद्योगिक क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग तीव्र बनाउन नयाँ रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा जारी ‘मोबाइल वर्ल्ड कंग्रेस (MWC) २०२६’ अन्तर्गत आयोजित ‘इन्डस्ट्रियल डिजिटल एन्ड इन्टेलिजेन्ट ट्रान्सफर्मेसन समिट’ मा कम्पनीले उत्पादन प्रणालीमै एआई एकीकृत हुने चरण नजिकिँदै गएको भन्दै उद्योग सञ्चालनको मोडेल नै परिवर्तन हुने संकेत गरेको हो।
कम्पनीका अनुसार एआई प्रविधि तीव्र गतिमा परिपक्व हुँदै जाँदा विश्वभरका व्यवसायमा ठूलो प्रभाव पारिरहेको छ। हाल एआई आधारित ‘एजेन्टिक’ कार्यप्रवाह विकसित भइसकेकाले प्रणालीले साधारण निर्देशनभन्दा अघि बढेर जटिल कार्यहरूको पूर्वानुमान गरी स्वत सञ्चालन गर्न सक्ने क्षमता प्राप्त गरेको छ।
यससँगै ‘फिजिकल एआई’ को विकासले डिजिटल प्रणालीलाई भौतिक वातावरण बुझ्ने र त्यससँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवस्थामा पुर्याएको छ। यस्तो प्रविधिले वास्तविक पूर्वाधारसँग सम्बन्धित निर्णयहरू स्वत लिन सक्ने क्षमता विकास गरिरहेको हुवावेले जनाएको छ।
औद्योगिक एआई विस्तारका लागि ‘ACT’ मोडेल
ठूलो स्तरमा उद्योग क्षेत्रमा एआई प्रयोग विस्तार गर्न देखिएका अवरोध हटाउन हुवावेले ACT नामक रूपरेखा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार यसले प्रयोगात्मक परियोजनाबाट पूर्ण औद्योगिक प्रयोगतर्फ संक्रमण सहज बनाउने लक्ष्य राख्दछ ।
यस मोडेलको पहिलो चरण Assess अर्थात् उच्च मूल्यका प्रयोग क्षेत्र पहिचान गर्नु हो। कम्पनीहरूले व्यावसायिक लाभ, प्रयोगको परिपक्वता र प्रविधिगत तयारी मूल्यांकन गर्नुपर्ने हुवावेको सुझाव छ। कम्पनीले विभिन्न उद्योगमा एआई प्रयोग सम्भव हुने एक हजारभन्दा बढी उत्पादन सम्बन्धी परिदृश्य पहिचान गरिसकेको जनाएको छ।
दोस्रो चरण Calibrate अन्तर्गत उच्च गुणस्तरको क्षेत्रविशेष डाटामार्फत एआई मोडेल परिमार्जन गरिन्छ। यस प्रक्रियालाई सुरक्षित बनाउन हुवावेले एआई जीवनचक्रका सबै चरण समेट्ने ६ तहको सुरक्षा संरचना तयार गरेको जनाएको छ।
तेस्रो चरण Transform हो जसले एआई र उद्योग दुवै बुझ्ने दक्ष जनशक्ति विकासमा जोड दिन्छ। कम्पनीका अनुसार उद्योग चुनौतीलाई एआई समाधानमा रूपान्तरण गर्न सक्ने ‘द्विभाषिक’ अर्थात् दुवै क्षेत्रको ज्ञान भएका विशेषज्ञ आवश्यक हुन्छन्।
SHAPE 2.0 साझेदारी ढाँचामा एआई समावेश
औद्योगिक एआई विकासमा साझेदारसँगको सहकार्यलाई सुदृढ बनाउन हुवावेले आफ्नो SHAPE 2.0 साझेदारी ढाँचामा पनि एआई समावेश गरेको छ।
यसअन्तर्गत कम्पनीले आफ्ना पूर्वाधार र समाधानमा एआई सीधै समावेश गर्न थालेको छ। उदाहरणका लागि नेटवर्कमा समस्या स्वतः पत्ता लगाएर सुधार गर्ने एआई आधारित प्रणाली विकास गरिएको छ।
साझेदार कम्पनीहरूले हुवावेका क्लाउड प्लेटफर्ममार्फत संयुक्त रूपमा एआई एप्लिकेसन र एआई एजेन्ट विकास गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यसका लागि कम्पनीले २० भन्दा बढी एआई प्रमाणीकरण पाठ्यक्रम सार्वजनिक गरेको छ र एक हजारभन्दा बढी साझेदारलाई एआई प्रमाणित गर्ने लक्ष्य राखेको छ।
साथै साझेदारहरूको सञ्चालन प्रक्रियालाई सहज बनाउन एआई आधारित कन्फिगरेसन, च्याट सपोर्ट तथा स्वचालन उपकरण पनि प्रयोगमा ल्याइएको छ। ऊर्जा, वित्त, यातायात र खुद्रा व्यापार जस्ता क्षेत्रका लागि विशेष एआई समाधान विकास गरी नयाँ राजस्व अवसर सिर्जना गर्ने लक्ष्य कम्पनीले राखेको छ।
विश्वभरका ११५ औद्योगिक एआई परियोजना प्रस्तुत
समीटमा हुवावेले विश्वका विभिन्न उद्योगमा प्रयोग भइरहेका ११५ वटा औद्योगिक एआई परियोजना सार्वजनिक गरेको थियो। साथै साझेदारहरूसँग मिलेर विकसित २२ नयाँ औद्योगिक एआई समाधान पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रममा सहभागी साझेदार कम्पनीहरूमा Eskom, Shandong Port Group, Converge ICT, HM Hospitales तथा PetroChina को डिजिटल अनुसन्धान संस्थान समेत रहेका थिए। यी संस्थाहरूले आफ्ना एआई रूपान्तरण अनुभव र चुनौतीहरूबारे प्रस्तुति दिएका थिए।
दक्षिण अफ्रिकाको करिब ९८ प्रतिशत विद्युत् आपूर्ति गर्ने ऊर्जा कम्पनी Eskom का CTIO Len de Villiers का अनुसार सय वर्षभन्दा पुरानो संस्थामा एआई लागू गर्नु चुनौतीपूर्ण भए पनि आवश्यक कदम हो। उनले संस्थाभित्र नियन्त्रित प्रयोगमार्फत एआई अपनाउने रणनीति अवलम्बन गरिएको बताए।
त्यस्तै हङकङको Pui Kiu Middle School का प्राचार्य Ng Wun-kit ले शिक्षामा एआईलाई केवल उपकरण नभई सम्पूर्ण सञ्चालन प्रणालीका रूपमा प्रयोग गर्न थालिएको बताए। विद्यालयले एआई आधारित सामान्य ज्ञान पाठ्यक्रम, स्मार्ट कक्षा तथा सुरक्षित क्याम्पस प्रणाली लागू गरिसकेको उनले जानकारी दिए।
उद्योग सञ्चालनको नयाँ चरण
हुवावेका अनुसार एआईलाई केवल प्रयोगात्मक प्रविधि नभई औद्योगिक सञ्चालनको आधार प्रणालीका रूपमा प्रयोग गर्ने चरण सुरु हुँदैछ। डेटा, दक्ष जनशक्ति र प्रविधिगत एकीकरणबीचको अन्तर घटाउँदै ACT र SHAPE 2.0 रूपरेखाले औद्योगिक एआईलाई व्यवहारिक र व्यापक स्तरमा प्रयोगयोग्य बनाउने कम्पनीको विश्वास छ।
