काठमाण्डौं — फाल्गुन २९ गतेका लागि तय गरिएको नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक उत्सव अन्तिम समयमा आएर स्थगित भएको छ। कर्मचारी युनियनहरूले कार्यक्रमा सहभागि नहुन कर्मचारीहरुलाई अनुरोध गरेपछि निर्धारित कार्यक्रम सञ्चालन हुन नसकेको हो।
प्राधिकरणले हरेक वर्ष फाल्गुन २० गते मनाउँदै आएको वार्षिक उत्सव यस वर्ष भने राष्ट्रिय चुनावका कारण मिति सारेर फाल्गुन २९ गते दिउँसो १ बजेदेखि २ बजेसम्मका लागि तय गरेको थियो। तर कार्यक्रम हुनुअघि नै प्राधिकरणभित्रका दुईवटै कर्मचारी युनियनहरूले कर्मचारीहरूलाई इमेलमार्फत कार्यक्रममा सहभागी नहुन आग्रह गरेपछि कार्यक्रम सञ्चालन हुन सकेन।
कर्मचारी युनियनहरूले प्राधिकरणको नेतृत्व र बोर्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यक्रम बहिष्कार गरिएको बताएका छन्। उनीहरूका अनुसार दूरसञ्चार सेवाको विस्तार र विकाससँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्राधिकरण बोर्डबाट आवश्यक निर्णय हुन सकेको छैन।
युनियनहरूले बोर्डले निर्णय गरे पनि ती निर्णयहरू स्पष्ट, परिपक्व र कार्यान्वयनमुखी नभएको आरोप लगाएका छन्। प्राधिकरणको नेतृत्वबाट समयमै नीतिगत निर्णय नहुने, आवश्यक कामहरूमा ढिलासुस्ती हुने तथा नेतृत्वमा निर्णय गर्न हिच्किचाउने प्रवृत्ति देखिएको उनीहरूको भनाइ छ।
यस्तै कर्मचारीहरूको पेशागत हकहितको संरक्षणका लागि प्राधिकरण नेतृत्वले कुनै ठोस कदम नचालेको पनि युनियनहरूको आरोप छ। कामको जिम्मेवारी व्यवस्थापन पक्षले प्रभावकारी रूपमा निर्वाह नगर्ने तर समस्या र कमजोरीको दोष कर्मचारीहरूलाई थोपर्ने प्रवृत्ति बढ्दै गएको उनीहरूले बताएका छन्।
यसका अतिरिक्त दूरसञ्चार क्षेत्रको विकाससँग सम्बन्धित नीति निर्माणमा ढिलाइ, नयाँ प्रविधि तथा सेवाहरूको विस्तारका विषयमा स्पष्ट कार्ययोजना अभाव, नियामक निकायको भूमिकामा कमजोर उपस्थिति तथा सरोकारवाला निकायसँग समन्वय अभावजस्ता विषयहरूमा समेत असन्तुष्टि व्यक्त गरिएको छ।
कर्मचारी युनियनहरूले प्राधिकरण नेतृत्वले दूरसञ्चार क्षेत्रको समग्र विकास, प्रभावकारी नियमन र संस्थागत सुधारका लागि स्पष्ट योजना र दृढ निर्णय क्षमता देखाउनुपर्ने माग गरेका छन्। उनीहरूले यस्ता समस्याहरू समाधान नगरेसम्म संस्थाभित्र असन्तुष्टि कायमै रहने चेतावनी समेत दिएका छन्।
