Tekmandu

कम प्रयोग भएपछि इन्स्टाग्राम DM को एन्ड–टु–एन्ड इन्क्रिप्सन सुविधा हटाउँदै मेटा

काठमाण्डौं — सामाजिक सञ्जाल कम्पनी मेटाले इन्स्टाग्रामको डाइरेक्ट म्यासेज (DM) मा उपलब्ध एन्ड–टु–एन्ड इन्क्रिप्सन सुविधा हटाउने भएको छ। कम्पनीका अनुसार उक्त सुविधा सन् २०२६ मे ८ पछि इन्स्टाग्राममा उपलब्ध रहने छैन।

मेटाले आफ्नो सपोर्ट पेज अद्यावधिक गर्दै यो जानकारी सार्वजनिक गरेको हो। कम्पनीका अनुसार इन्स्टाग्राममा एन्ड–टु–एन्ड इन्क्रिप्सन प्रयोग गर्ने प्रयोगकर्ताको संख्या अत्यन्त कम देखिएपछि यो सुविधा हटाउने निर्णय गरिएको हो।

मेटाका प्रवक्ताले इन्स्टाग्राम DM मा धेरै कम प्रयोगकर्ताले इन्क्रिप्सन सक्रिय गरेर प्रयोग गर्ने गरेको बताउँदै आगामी केही महिनाभित्र यो विकल्प हटाइने जानकारी दिएका छन्। उनले एन्ड–टु–एन्ड इन्क्रिप्सनसहित सुरक्षित सन्देश पठाउन चाहने प्रयोगकर्ताले भने व्हाट्सएप प्रयोग गर्न सक्ने उल्लेख गरेका छन्।

व्हाट्सएपमा भने एन्ड–टु–एन्ड इन्क्रिप्सन सुरुदेखि नै सबै प्रयोगकर्ताका लागि स्वचालित रूपमा लागू गरिएको छ। तर इन्स्टाग्राममा यो सुविधा सबैका लागि खुला गरिएको थिएन। केही क्षेत्रका सीमित प्रयोगकर्ताले मात्र च्याटका आधारमा आफूले चाहेको बेला इन्क्रिप्सन सक्रिय गर्न सक्ने व्यवस्था गरिएको थियो।

मेटाले भने मेसेन्जर एपमा रहेको इन्क्रिप्सन सुविधाबारे नयाँ निर्णय सार्वजनिक गरेको छैन। कम्पनीले सन् २०२३ देखि मेसेन्जरमा व्यक्तिगत सन्देशलाई डिफल्ट रूपमा एन्ड–टु–एन्ड इन्क्रिप्सनमार्फत सुरक्षित बनाउने प्रक्रिया अघि बढाएको थियो। मेसेन्जरको सपोर्ट पेजमा पनि व्यक्तिगत सन्देशलाई स्वचालित रूपमा इन्क्रिप्सनमार्फत सुरक्षित बनाउने प्रक्रिया जारी रहेको उल्लेख छ।

मेटाले आफ्ना प्लेटफर्महरूमा इन्क्रिप्सनसम्बन्धी नीति विगत केही वर्षयता पटक–पटक परिवर्तन गर्दै आएको छ। कम्पनीले सन् २०१६ मा पहिलो पटक व्हाट्सएपमा एन्ड–टु–एन्ड इन्क्रिप्सन लागू गरेको थियो। त्यसपछि सन् २०१९ मा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कम्पनीका एपहरूलाई ‘गोपनीयता केन्द्रित’ बनाउने योजना सार्वजनिक गर्दै निजी सञ्चारमा इन्क्रिप्सन विस्तार गर्ने कुरा बताएका थिए।

तर सन् २०२१ मा कम्पनीले प्रयोगकर्ताको सुरक्षा सुदृढ बनाउने तयारीका लागि इन्क्रिप्सन विस्तार गर्ने योजना केही समय पछाडि सारिएको जनाएको थियो।

यता मेटाले प्रयोग गर्ने इन्क्रिप्सन प्रविधिबारे भने विभिन्न कानुन कार्यान्वयन निकाय तथा बाल सुरक्षा सम्बन्धी संस्थाहरूले आलोचना गर्दै आएका छन्। उनीहरूको भनाइमा यस्तो प्रविधिले सामाजिक सञ्जालमार्फत बालबालिकालाई लक्षित गर्ने अपराधीलाई पत्ता लगाउन कठिन बनाउन सक्छ।

हाल अमेरिकाको न्यु मेक्सिकोमा बाल सुरक्षासम्बन्धी मुद्दामा भइरहेको सुनुवाइका क्रममा पनि इन्क्रिप्सनको विषय चर्चामा आएको छ। सो मुद्दामा सार्वजनिक भएका केही आन्तरिक कागजातले मेटाका अधिकारी र अनुसन्धानकर्ताबीच गोपनीयता र सुरक्षाबीचको सन्तुलनबारे बहस भएको देखाउँछन्।

सुनुवाइका क्रममा दिएको बयानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले मेसेन्जरमा इन्क्रिप्सन लागू गर्न ढिलाइ हुनुमा सुरक्षा सम्बन्धी चिन्ता मुख्य कारण रहेको बताएका थिए। उनका अनुसार यस विषयमा बहस भए पनि अधिकांश प्रयोगकर्ता तथा सुरक्षा क्षेत्रका विज्ञहरूले बलियो इन्क्रिप्सनलाई सकारात्मक रूपमा लिने गरेका छन्।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...