काठमाण्डौं — डिजिटल दुनियाँको चमकधमकले बालबालिका र किशोरकिशोरीहरूलाई बिस्तारै मानसिक अन्धकारतर्फ धकेलिरहेको पाइएको छ। हालै सार्वजनिक भएको ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२६’ ले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण नयाँ पुस्तामा मानसिक स्वास्थ्यको संकट चुलिँदै गएको पुष्टि गरेको हो।
प्रतिवेदनका अनुसार अनलाइनमा धेरै समय बिताउने युवाहरूमा छटपटी (Anxiety), उदासीनता (Depression) र आफ्नो जीवनप्रति असन्तुष्टि डरलाग्दो गरी बढिरहेको छ।
दैनिक ५ घण्टाभन्दा बढी समय, जोखिमको घण्टी
अनुसन्धानले एउटा चौंकाउने तथ्य बाहिर ल्याएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स (X) वा स्न्यापच्याट जस्ता प्लेटफर्ममा दिनको ५ घण्टाभन्दा बढी समय बिताउने किशोरकिशोरीहरूमा डिप्रेसनको लक्षण तीव्र देखिएको छ। थोरै समय मात्र प्रयोग गर्ने बालबालिकाको तुलनामा लामो समय अनलाइन झुम्मिनेहरूमा मानसिक विचलन बढी पाइएको हो। यो अब व्यक्तिगत समस्या मात्र नभई एउटा सिंगो पुस्ताकै स्वास्थ्य ग्राफ खस्काउने कारण बनेको विज्ञहरूको ठहर छ।
सन् २०१० पछि खस्किएको खुसी
विशेषज्ञहरूका अनुसार सन् २०१० को आसपासबाट युवाहरूको सुख, चैनमा गिरावट आउन सुरु भएको थियो। यो ठ्याक्कै त्यही समय हो जतिबेला स्मार्टफोन हरेकको हातमा पुग्न थाल्यो र सामाजिक सञ्जाल २४ घण्टे लत बन्यो। विशेषगरी पश्चिमी र अंग्रेजी भाषी देशहरूमा २५ वर्षमुनिका युवाहरूको जीवन सन्तुष्टिमा सबैभन्दा तीव्र गिरावट रेकर्ड गरिएको छ।
प्रतिवेदनका मुख्य निष्कर्षहरू:
- किशोरीहरू बढी प्रभावित: इन्फ्लुएन्सर कल्चर र अरूसँग आफ्नो तुलना गर्ने बानीले गर्दा बालिकाहरूमा आफ्नो शरीरलाई लिएर हिनताबोध (Body-image issues) र न्यून आत्मसम्मान जस्ता समस्या देखिएका छन्।
- एल्गोरिदमको खेल: सामाजिक सञ्जालका एल्गोरिदमले प्रयोगकर्तालाई निरन्तर बाँधिराख्ने सामग्रीहरू पस्किन्छन् जसले गर्दा बालबालिकाको समय र मानसिक अवस्था दुवैमा नकारात्मक असर परिरहेको छ।
- निष्क्रिय स्क्रोलिङको असर: कुनै अन्तर्क्रिया नगरी केवल भिडियो र फोटो स्क्रोल गरिरहनु मानसिक स्वास्थ्यका लागि सबैभन्दा बढी हानिकारक पाइएको छ।
सुरक्षा र उत्पीडनको खतरा
मानसिक स्वास्थ्यका साथै बालबालिकाहरू ‘साइबर बुलिङ’, अनलाइन उत्पीडन र आपत्तिजनक सामग्रीहरूको जोखिममा समेत परिरहेका छन्। यसले उनीहरूमा डर र तनावको मात्रा अझ बढाएको छ। सामाजिक सञ्जाल अब व्यक्तिगत मनोरञ्जनको साधन मात्र रहेन यसले सिंगो पुस्ताको मनोविज्ञान नै परिवर्तन गरिदिएको छ।
विश्व प्रतिवेदनले औँल्याएको यो समस्या अब अभिभावक, शिक्षक र सरकारका लागि एउटा ठूलो चुनौती बनेको छ। बालबालिकाको डिजिटल बानीलाई समयमै नियमन नगरे यसले भविष्यमा अझ गम्भीर परिणाम ल्याउने चेतावनी विज्ञहरूले दिएका छन्।
