Tekmandu

भू-उपग्रह प्रक्षेपण असफल भएपछि ‘AST SpaceMobile’ लाई ठूलो झट्का, सेटलाइट नै नष्ट

काठमाण्डौं — अन्तरिक्षबाट सिधै मोबाइलमा इन्टरनेट र नेटवर्क सेवा (Direct-to-Device) पुर्‍याउने लक्ष्य राखेको ‘AST SpaceMobile’ को एउटा महत्वपूर्ण भू-उपग्रह प्रक्षेपणका क्रममा भएको त्रुटिका कारण नष्ट भएको छ। गत सप्ताहान्तमा भएको यो प्राविधिक गडबडीले कम्पनीको यसै वर्ष व्यावसायिक सेवा सुरु गर्ने योजनामा गम्भीर असर पर्ने देखिएको छ।

लामो समयदेखि प्रतीक्षा गरिएको ‘BlueBird 7’ नामक भू-उपग्रह प्रक्षेपणका क्रममा समस्या आएपछि उक्त अपरेटरको ‘LEO’ (Low Earth Orbit) सेवा विस्तारमा अवरोध पुगेको हो।

के भएको थियो प्रक्षेपणमा?

अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी ‘Blue Origin’ को ‘New Glenn’ रकेटमार्फत आइतबार उक्त भू-उपग्रह अन्तरिक्षमा पठाइएको थियो। ‘Blue Origin’ को लागि यो मिसन केही हदसम्म सफल रह्यो किनभने उसले पहिलोपटक ‘New Glenn Booster’ लाई पुन: प्रयोग (Reuse) गर्न सफल भयो।

तर  ‘BlueBird 7’ लाई भने तोकिएको कक्ष (Orbit) मा पुर्‍याउन रकेट असफल भयो। ‘Blue Origin’ ले सामाजिक सञ्जाल एक्स (X) मा जनाए अनुसार पेलोडलाई ‘अफ-नोमिनल अर्बिट’ अर्थात् तोकिएको भन्दा फरक कक्षमा राखिएको थियो। पछि ‘AST SpaceMobile’ ले उक्त भू-उपग्रह सञ्चालन गर्न नसकिने र यो नष्ट हुने (Toast) पुष्टि गरेको छ।

‘D2D’ सेवामा चुनौती

यो भू-उपग्रह ‘Starlink’ जस्ता प्रतिस्पर्धी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न र सन् २०२६ भित्रै ‘Direct-to-Device’ (D2D) सेवा बजारमा ल्याउन कम्पनीका लागि निकै महत्त्वपूर्ण थियो।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ  “प्रक्षेपण वाहनको माथिल्लो तहले ‘BlueBird 7’ लाई योजना गरिएको भन्दा तल्लो कक्षमा राखिदियो। यसको उचाइ यति कम छ कि त्यहाँबाट सेवा सञ्चालन गर्न सम्भव छैन  त्यसैले यसलाई ‘De-orbit’ (कक्षबाट हटाइने) गरिनेछ।”

बीमाबाट क्षतिपूर्ति लिने तयारी, अन्य सेटलाइट उत्पादन तीव्र

प्रक्षेपण असफल भए पनि कम्पनीले यसबाट हुने वित्तीय नोक्सानीलाई बीमा मार्फत सुरक्षित गर्ने बताएको छ। ‘AST SpaceMobile’ का अनुसार नष्ट भएको ‘BlueBird 7’ को सम्पूर्ण लागत बीमा पोलिसी (Insurance Policy) अन्तर्गत असुल गरिनेछ।

कम्पनीले एउटा सेटलाइट गुमाए पनि आफ्नो उत्पादन प्रक्रियालाई भने तीव्रता दिएको छ। ‘BlueBird 8’ देखि १० सम्मका भू-उपग्रहहरू आगामी ३० दिनभित्रै ढुवानीका लागि तयार हुने र ‘BlueBird 32’ सम्मका सेटलाइटहरू अहिले उत्पादनको विभिन्न चरणमा रहेको कम्पनीले जानकारी दिएको छ।

महत्त्वाकांक्षी लक्ष्यमा ‘ब्रेक’

यो असफलतासँगै कम्पनीले सन् २०२६ का लागि तय गरेको आफ्नो महत्त्वाकांक्षी लक्ष्यमा केही परिमार्जन (Scale back) गरेको छ। यसअघि यसै वर्षभित्र ४५ देखि ६० वटा भू-उपग्रह अन्तरिक्षमा पठाउने घोषणा गरेको कम्पनीले अहिले आफ्नो लक्ष्यलाई घटाएर ‘करिब ४५’ मा सीमित पारेको छ।

कम्पनीले अब सन् २०२६ भरि औसतमा हरेक एक देखि दुई महिनामा एउटा ‘अर्बिटल लन्च’ गर्ने लक्ष्य राखेको छ। विभिन्न प्रक्षेपण सेवा प्रदायकहरूसँगको सम्झौताका आधारमा यो लक्ष्य पूरा गरिने कम्पनीको दाबी छ। तर  सुरुवातमै आएको यो प्राविधिक अवरोधले गर्दा कम्पनीले तोकिएको समयमै व्यावसायिक सेवा सुरु गर्न सक्छ कि सक्दैन भन्नेमा भने प्रश्न उठेको छ।

लगानीकर्ता साझेदारहरू चिन्तित

यो असफलताले ‘AST SpaceMobile’ मात्र नभई यसका लगानीकर्ता र साझेदारहरूलाई पनि चिन्तित बनाएको छ। यसमा युरोपेली लगानीकर्ता ‘Vodafone’ देखि क्यानडाको ‘Telus’ जस्ता विश्वव्यापी मोबाइल अपरेटरहरू जोडिएका छन्।

वर्षौँदेखि ‘D2D’ बजारमा आफ्नो पकड जमाउने दाबी गर्दै आएको यस कम्पनीका लागि अहिले कक्षमा केवल एउटा मात्र दोस्रो पुस्ताको भू-उपग्रह ‘BlueBird 6’ बाँकी छ। आगामी महिनाहरूमा हुने अन्य प्रक्षेपणहरूको सफलताले नै यो कम्पनीको व्यावसायिक भविष्य तय गर्नेछ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...