काठमाण्डौं — सोसल मिडिया प्लेटफर्म ‘एक्स’ (X) ले प्रयोगकर्ताको अनुभवलाई थप व्यक्तिगत र सहज बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित नयाँ फिचर ‘कस्टम टाइमलाइन्स’ (Custom Timelines) सार्वजनिक गरेको छ। एलन मस्कको कम्पनी xAI द्वारा विकसित ‘ग्रोक’ (Grok) एआई मोडलले अब प्रयोगकर्ताका लागि ७५ भन्दा बढी विशिष्ट विधाका फिडहरू तयार पारिदिनेछ।
कम्पनीले यसलाई एपमा हालसम्मकै सबैभन्दा ठूलो परिवर्तनमध्ये एक भनेको छ। यो फिचरमार्फत प्रयोगकर्ताले आफ्नो रुचि अनुसारका विषयहरू ‘होम ट्याब’ मा पिन गरेर राख्न सक्नेछन्।
कसरी काम गर्छ ग्रोकले?
यसअघि एक्समा ‘कीवर्ड’ वा ‘ह्यासट्याग’ को आधारमा सामग्रीहरू देखिने गर्थे। तर ग्रोकमा आधारित यो नयाँ प्रणालीले हरेक पोस्टलाई पढ्ने, त्यसको आशय बुझ्ने र सोही अनुसार ‘टपिक लेभल’ निर्धारण गर्नेछ।
एक्सका प्रडक्ट प्रमुख निकिता बियरका अनुसार, प्रयोगकर्ताले जुन विषयमा बढी इन्गेजमेन्ट देखाउँछन् यो फिडले ती विषयमा अझ प्रभावकारी ढंगले काम गर्नेछ। xAI ले गत वर्ष एक्सलाई प्राप्ति गरेपछि यी दुई सेवाहरू बीचको प्राविधिक सम्बन्ध झन् बलियो बन्दै गएको यो फिचरले देखाउँछ।
७५ भन्दा बढी विधा: राजनीतिदेखि पप कल्चरसम्मको रोजाइ
एक्सले सुरुवाती चरणमा ७५ भन्दा बढी विधाका विकल्पहरू प्रयोगकर्ताका सामु राखेको छ जसलाई समाचार पोर्टलका विभिन्न ‘सेक्सन’ झैँ वर्गीकरण गरिएको छ। यसमा बिजनेस एण्ड फाइनान्स, स्पोर्ट्स, टेक्नोलोजी, राजनीति, स्टक एण्ड इकोनोमी, मुभिज र फुड एण्ड ड्रिङ्क जस्ता व्यापक विषयहरू समेटिएका छन्।
खेलकुदमा रुचि राख्नेहरूका लागि यो फिचर निकै विशिष्ट बनाइएको छ। सामान्य स्पोर्ट्स विधाबाहेक क्रिकेट, अमेरिकन फुटबल, फर्मुला वान, टेनिस, एमएमए र रेस्लिङ जस्ता खेलका लागि छुट्टाछुट्टै फिडहरू उपलब्ध छन्। त्यस्तै प्रविधि क्षेत्रमा विशेष चासो राख्नेहरूले आर्टिफिसियल इन्टेलिजेन्स, क्रिप्टोकरेन्सी, सफ्टवेयर डेभलपमेन्ट, रोबोटिक्स र स्पेस जस्ता विषयहरू मात्र फलो गर्न सक्नेछन्।
मनोरञ्जन र पप कल्चरतर्फ पनि एक्सले उत्तिकै ध्यान दिएको छ। प्रयोगकर्ताले सेलिब्रेटी, कन्सर्ट र फेसनदेखि लिएर के-पप (K-pop), जे-पप (J-pop), पडकास्ट र हिप-हप जस्ता विधालाई आफ्नो होम ट्याबमा राख्न सक्नेछन्। समाचार विधाअन्तर्गत भने हाल विश्व राजनीतिमा चर्चामा रहेका इरान द्वन्द्व, अपराध र निर्वाचन जस्ता विषयहरूलाई प्राथमिकताका साथ सुझावमा राखिएको छ।
कम्युनिटी फिचर बन्द, प्रिमियम प्रयोगकर्तालाई प्राथमिकता
यो नयाँ फिचर सार्वजनिक भएसँगै एक्सले आफ्नो पुरानो ‘एक्स कम्युनिटीज’ (X Communities) फिचर भने बन्द गर्ने घोषणा गरेको छ। कम्युनिटी फिचरको प्रयोगकर्ता घट्दै गएका कारण यसलाई हटाउन लागिएको हो।
हाललाई ‘कस्टम टाइमलाइन्स’ फिचर आईओएस (iOS) मा Premium सब्सक्राइबरहरूका लागि मात्र उपलब्ध छ। एन्ड्रोइड प्रयोगकर्ताका लागि यो चाँडै ल्याइने तयारी छ। प्रिमियम प्रयोगकर्ताले अधिकतम १० वटा सूची वा टपिकहरूलाई आफ्नो होम स्क्रिनमा पिन गरेर राख्न सक्नेछन्।
विज्ञापन र विश्वसनीयताबारे चर्चा
यो नयाँ फिचरसँगै एक्सले विज्ञापन (Ads) देखाउने नयाँ ठाउँ पनि फेला पारेको छ। हरेक फिडको दोस्रो स्थानमा विज्ञापन देखिने गरेको छ जसले मस्कको स्वामित्वपछि ओरालो लागेको एक्सको विज्ञापन व्यवसायलाई टेवा पुग्न सक्ने अनुमान गरिएको छ।
यद्यपि ग्रोकले तयार पार्ने यी फिडहरूको राजनीतिक सन्तुलनबारे प्रश्नहरू उठिरहेका छन्। कतिपयले ग्रोकले दक्षिणपन्थी झुकाव वा भ्रामक सूचनालाई स्थान दिन सक्ने आशंका गरे पनि परीक्षणका क्रममा भने यसले बीबीसी, रोयटर्स, एएफपी र ब्लुमबर्ग जस्ता प्रतिष्ठित समाचार संस्थाहरूको सामग्रीलाई सन्तुलित रूपमा समेटेको पाइएको छ।
आफ्नो ‘फर यू’ (For You) फिडलाई थप नियन्त्रण गर्न चाहने प्रयोगकर्ताका लागि एक्सले ‘स्नुज टपिक’ (Snooze Topics) को विकल्प पनि उपलब्ध गराएको छ।