काठमाण्डौं — समय हेर्न वा एउटा म्यासेज चेक गर्न मोबाइल खोल्नुहुन्छ तर अनपेक्षित रूपमा एक घण्टा बितेको पत्तो नै हुँदैन। सेलिव्रिटीका गफ, बिरालाका भिडियो, निराशाजनक समाचार र इन्फ्लुएन्सरका कुराहरू हेर्दाहेर्दै ‘अल्गोरिदम’ ले तपाईंलाई कतिबेला अलमल्याइसक्छ पत्तै हुँदैन।
यसरी सामाजिक सञ्जालमा घण्टौँसम्म नकरात्मक वा अनुत्पादक सामग्री हेरिरहने बानीलाई ‘Doomscrolling’ (डुमस्क्रोलिङ) भनिन्छ। पछिल्लो एक सर्वेक्षणअनुसार ६४ प्रतिशत अमेरिकीहरू आफू यसको सिकार भएको स्वीकार गर्दछन्। अनुसन्धानकर्ताहरूका अनुसार यसले मानसिक स्वास्थ्य, एकाग्रता र निद्रामा गम्भीर असर पार्छ।
यदि तपाईं पनि यो चक्रबाट बाहिर निस्कन चाहनुहुन्छ भने यहाँ केही यस्ता एप्सहरू छन् जसले तपाईंको मोबाइल प्रयोगलाई मनोरञ्जनात्मक मात्र होइन ‘प्रोडक्टिभ’ पनि बनाउनेछन्:
१. Dudel Draw: सिर्जनशीलता जगाउन
यदि तपाईं स्क्रोलिङ छाडेर केही नयाँ गर्न चाहनुहुन्छ भने Dudel Draw उत्कृष्ट हुन सक्छ। यसले हरेक दिन एउटा ‘रेन्डम’ आकार दिन्छ जसलाई तपाईंले एउटा चित्रमा बदल्नुपर्ने हुन्छ। यो iOS मा नि शुल्क उपलब्ध छ र तपाईंले आफ्ना सिर्जनाहरू साथीहरूसँग तुलना पनि गर्न सक्नुहुन्छ।
२. Radio Garden: विश्वभरका रेडियो सुन्न
सामाजिक सञ्जालको भीडभाडबाट टाढा रहेर विश्वसँग जोडिन यो एप निकै उपयोगी छ। यसमा संसारभरका २५ हजारभन्दा बढी ‘लाइभ’ रेडियो स्टेशनहरू सुन्न सकिन्छ। नक्सामा देखिएका हरिया थोप्लाहरूमा क्लिक गरेर तपाईंले जुनसुकै देशको रेडियो सुन्न सक्नुहुन्छ। यो iOS र Android दुवैमा नि शुल्क उपलब्ध छ।
३. Elevate: दिमागलाई तीखो बनाउन
यो एप तपाईंको एकाग्रता, स्मरणशक्ति, गणितीय कौशल र पढ्ने क्षमता सुधार्न डिजाइन गरिएको हो। यसमा ४० भन्दा बढी गेमहरू छन् जसले दैनिक जीवनमा चाहिने बौद्धिक क्षमताको तालिम दिन्छन्। यसको नि शुल्क संस्करणमा दैनिक ३ वटा गेम खेल्न पाइन्छ।
४. Vocabulary: नयाँ शब्द सिक्न
हरेक दिन नयाँ शब्दहरू सिक्नका लागि यो एप उपयोगी छ। यसमा शब्दको अर्थ, उदाहरण र उच्चारण गर्ने तरिका पनि दिइएको हुन्छ। तपाईंले आफ्नो रुचिअनुसारका विधा (जस्तै: व्यापार, भावना आदि) रोजेर शब्दहरू सिक्न र ‘मिनी-गेम्स’ मार्फत अभ्यास गर्न सक्नुहुन्छ।
५. Seterra: भूगोलको ज्ञान बढाउन
तपाईंलाई नक्सा र भूगोलमा रुचि छ भने Seterra तपाईंको लागि ‘पर्फेक्ट’ हुन सक्छ। यसमा विश्वका झण्डा, समुद्र, नदी, हिमाल र ज्वालामुखीका बारेमा ३०० भन्दा बढी गेमहरू छन्। यो iOS र Android मा नि शुल्क उपलब्ध छ।
६. NYT Games: शब्द र तर्कको खेल
न्यु योर्क टाइम्सको यो एपमा Wordle, Connections र Spelling Bee जस्ता चर्चित शब्द र तर्कमा आधारित गेमहरू छन्। यसले तपाईंको दिमागलाई कसरत गराउँछ। यसका केही गेमहरू नि शुल्क छन् भने पूर्ण सुविधाका लागि मासिक शुल्क तिर्नुपर्छ।
७. Drops: नयाँ भाषा सिक्न
यदि तपाईं दिनको ५ मिनेट मात्र दिएर नयाँ भाषा सिक्न चाहनुहुन्छ भने Drops एउटा राम्रो विकल्प हो। यसले ४५ भन्दा बढी भाषाहरूमा शब्दावली र थेगोहरू सिकाउन चित्रसहितका छोटा गेमहरू प्रयोग गर्छ। यसको नि शुल्क संस्करणमा दैनिक ५ मिनेटको पाठ लिन सकिन्छ।
मोबाइलमा बिताउने समयलाई केवल ‘स्क्रोलिङ’ मा खेर फाल्नुभन्दा यस्ता एप्सहरूको प्रयोगले तपाईंको ज्ञान र मानसिक स्वास्थ्य दुवैमा सकारात्मक परिवर्तन ल्याउन सक्दछ।
