काठमाण्डौं — ५० करोडभन्दा बढी प्रयोगकर्ता रहेको विश्वको लोकप्रिय कलर आइडेन्टिफिकेसन प्लेटफर्म ‘ट्रु कलर’ (Truecaller) पछिल्लो समय निकै चुनौतीपूर्ण चरणमा प्रवेश गरेको छ। आफ्नो सबैभन्दा ठूलो बजारमा वृद्धिदर सुस्ताउनु र टेलिकम नेटवर्क तथा स्मार्टफोन प्लेटफर्महरूमा प्रतिस्पर्धा तीव्र हुनुले कम्पनी दबाबमा परेको हो।
विशेषगरी भारतमा आधारित भएर ठूलो सफलता पाएको यस एपको लोकिप्रियता अब परीक्षणको घडीमा पुगेको छ। कुल प्रयोगकर्तामध्ये ७० प्रतिशत अर्थात् ३५ करोडभन्दा बढी प्रयोगकर्ता भारतमै रहेका छन्।
सुस्ताउँदो वृद्धिदर र घट्दो डाउनलोड
सेन्सर टावर (Sensor Tower) को तथ्याङ्कअनुसार सन् २०२५ मा भारतमा ट्रु कलरको डाउनलोड अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको छ। विश्वभरको तथ्याङ्क हेर्दा पनि डाउनलोडमा ५ प्रतिशतको गिरावट देखिएको छ।
यस्तै एपफिगर्स (Appfigures) को डेटाले सन् २०२१ मा १७ करोड ५० लाख पुगेको डाउनलोड संख्या सन् २०२२ मा ह्वात्तै घटेर हाल वार्षिक १२ करोडको हाराहारीमा सीमित भएको देखाउँछ। कुनै समय कुल डाउनलोडको ७० प्रतिशत हिस्सा ओगट्ने भारतको योगदान अहिले ५० प्रतिशतको वरपर झरेको छ।
शेयर बजारमा ७८ प्रतिशतको गिरावट
वृद्धिदरमा आएको यो परिवर्तनले लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ। सन् २०२१ को IPO पछि ट्रु कलरको सेयर मूल्यमा करिब ७८ प्रतिशतले गिरावट आएको छ भने यो वर्ष मात्रै ३७ प्रतिशतले सेयर घटेको छ।
कम्पनीका Chief Executive ऋषित झुन्झुनवालाले लगानीकर्ताहरूले विशेषगरी भारतमा लागू हुन लागेको CNAP (Calling Name Presentation) सेवाका बारेमा चासो व्यक्त गरिरहेको स्वीकार गरेका छन्।
प्रमुख चुनौतीहरू: टेलिकम र विज्ञापन
ट्रु कलरका लागि अहिले दुईवटा ठूला चुनौती देखिएका छन्:
- CNAP को प्रभाव: भारतको टेलिकम नियामकले नेटवर्क तहमा नै प्रयोगकर्ताको नाम (KYC रेकर्ड अनुसार) देखाउने CNAP सेवा कार्यान्वयनमा ल्याउँदैछ। यसले गर्दा कुनै पनि थर्ड पार्टी एप बिना नै कलरको पहिचान सम्भव हुनेछ। यद्यपि झुन्झुनवालाले यसलाई चुनौतीभन्दा पनि समस्याको पहिचानको रूपमा लिएको र ट्रु कलरले AI Assistant, Spam Detection र Fraud Prevention जस्ता थप परिष्कृत सेवा दिने बताएका छन्।
- विज्ञापनमा आधारित आम्दानी: ट्रु कलरको कुल आम्दानीको ६५ देखि ७० प्रतिशत हिस्सा विज्ञापनबाट आउँछ। अगस्ट २०२५ मा गुगल (Google) सँगको ‘अल्गोरिदम इस्यु’ का कारण कम्पनीले आफ्नो एक तिहाइ विज्ञापन ट्राफिक गुमाएको थियो। यसको प्रत्यक्ष असर कम्पनीको आम्दानीमा देखिएको छ।
स्मार्टफोन निर्माताहरूको आफ्नै फिचर
अर्कोतर्फ एप्पल (Apple) र गुगल (Google) जस्ता कम्पनीहरूले आफ्नै अपरेटिङ सिस्टममा कल आइडेन्टिफिकेसन र स्पाम ब्लकिङ सुविधाहरू थपिरहेका छन्। एप्पलले सन् २०२५ को सुरुवातमै आइफोनका लागि Real-time Caller ID फिचर ल्याएको छ जसले गर्दा प्रयोगकर्ताहरूलाई छुट्टै एपको आवश्यकता कम हुन सक्छ।
आशाका किरण: आम्दानीका नयाँ स्रोततर्फ ट्रु कलर
डाउनलोडको दरमा केही सुस्तता देखिए पनि ट्रु कलरको आम्दानीका अन्य क्षेत्रहरू भने निकै उत्साहजनक देखिएका छन्। कम्पनीले विज्ञापनमा मात्र निर्भर नभई ‘इन-एप’ खरिद र व्यवसायिक सेवामार्फत आफ्नो वित्तीय अवस्था बलियो बनाउँदै लगेको छ।
१. इन-एप आम्दानीमा ठूलो फड्को तथ्याङ्कअनुसार ट्रु कलरको ‘ग्रस इन-एप रेभिन्यु’ (आन्तरिक आम्दानी) मा निकै ठूलो वृद्धि भएको छ। सन् २०१७ मा मात्र ६ लाख डलर रहेको यो आम्दानी सन् २०२५ सम्म आइपुग्दा बढेर ३ करोड ९३ लाख डलर पुगेको छ। सन् २०२६ को सुरुवाती तथ्याङ्क झनै राम्रो देखिएको छ, अप्रिल २० सम्ममै कम्पनीले १ करोड ३४ लाख डलर आम्दानी गरिसकेको छ। अहिले कम्पनीले मासिक २० लाख डलरभन्दा बढी आम्दानी इन-एप खरिदबाटै गरिरहेको छ।
२. सशुल्क प्रयोगकर्ताको आकर्षण विज्ञापनरहित अनुभव र अत्याधुनिक सुविधाहरूका लागि पैसा तिर्ने प्रयोगकर्ताहरूको संख्या पनि बढ्दो छ। हाल विश्वभर ट्रु कलरका ४० लाखभन्दा बढी ‘पेड सब्स्क्राइबर’ (सशुल्क ग्राहक) रहेका छन्। यी प्रयोगकर्ताहरूले विशेषगरी AI-based call screening, एड्भान्स स्पाम प्रोटेक्सन र विज्ञापनरहित सेवाका लागि कम्पनीलाई शुल्क तिर्ने गर्छन्।
३. व्यवसायिक सेवा (Truecaller for Business) मा ३९ प्रतिशतको वृद्धि कम्पनीले आफ्नो व्यवसायिक खण्डलाई पनि आक्रामक रूपमा विस्तार गरिरहेको छ। विभिन्न कम्पनीहरूलाई उनीहरूको पहिचान प्रमाणीकरण गर्न र ग्राहकसँग आधिकारिक रूपमा सञ्चार गर्न मद्दत गर्ने ‘ट्रु कलर फर बिजनेस’ खण्डमा सन् २०२५ मा ३९ प्रतिशतको वृद्धि देखिएको छ। कम्पनीका CEO झुन्झुनवालाका अनुसार यो सेवालाई विश्वभर फैलाउन च्याट सर्भिस र भेरिफाइड बिजनेस कलर आईडी जस्ता टुल्सहरूमा लगानी बढाइएको छ।
डाटा गोपनीयता र प्रयोगकर्ताको सहमति (Data Privacy and Consent) का विषयमा बेलाबेला आलोचना खेप्दै आएको ट्रु कलर अब एउटा निर्णायक मोडमा छ। AI को प्रयोग गरेर स्पाम कलहरू अझ जटिल बन्दै गएको अवस्थामा, ट्रु कलरले आफूलाई कसरी नेटवर्क र स्मार्टफोनका इन-बिल्ट फिचरहरूभन्दा उत्कृष्ट सावित गर्छ त्यसले नै यसको भविष्य तय गर्ने देखिन्छ।
