Tekmandu

अमेरिका र चीनबीच प्रविधि युद्ध उत्कर्षमा, मेटाको अर्बौँको एआई सम्झौता चीनद्वारा रोक

काठमाण्डौं — चिनियाँ नियामक निकायले सामाजिक सञ्जाल जायन्ट मेटा (Meta) को २ अर्ब डलर बराबरको ठूलो व्यापारिक सम्झौता रोकिदिएको छ। चीनको शीर्ष आर्थिक नियामक ‘नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन’ (NDRC) ले सोमबार एक निर्णय गर्दै मेटाले एआई स्टार्टअप मानस (Manus) लाई खरिद गर्ने प्रक्रियामा रोक लगाएको हो।

चिनियाँ इन्जिनियरहरूले स्थापना गरेको यो एजेन्टिक एआई (Agentic AI) स्टार्टअपलाई मार्क जुकरबर्गले गत वर्षको अन्त्यतिर खरिद गर्ने घोषणा गरेका थिए। यो कदमलाई पछिल्लो समय अमेरिका र चीनबीचको बढ्दो प्रविधि युद्ध र एआई उद्योगमा चीनको सबैभन्दा ठूलो हस्तक्षेपका रूपमा हेरिएको छ।

के थियो सम्झौता किन रोकियो?

सन् २०२२ मा साओ हङ, यिचो जी र ताओ झाङले बेइजिङमा ‘बटरफ्लाइ इफेक्ट’ नामक मुख्य कम्पनीअन्तर्गत ‘मानस’ को स्थापना गरेका थिए। सन् २०२५ को मध्यतिर यो कम्पनी चीनबाट सिंगापुर स्थानान्तरण भएको थियो। त्यसको केही महिनामै मेटाले यसलाई करिब २ देखि ३ अर्ब डलरमा खरिद गर्ने सम्झौता गरेको थियो।

यद्यपि  NDRC ले कुनै ठोस स्पष्टीकरण नदिई दुवै पक्षलाई यो सम्झौता पूर्ण रूपमा खारेज गर्न आदेश दिएको छ। “कानुन र नियम अनुसार मानस प्रोजेक्टमा वैदेशिक लगानी निषेध गर्ने निर्णय गरिएको छ र सम्बन्धित पक्षहरूलाई खरिद प्रक्रिया फिर्ता लिन निर्देशन दिइएको छ,” आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संस्थापकहरूलाई ‘एक्जिट ब्यान’, कर्मचारी र व्यवस्थापन अन्योलमा

मेटा र मानसबीचको यो व्यवसायिक विवादले तब नयाँ मोड लियो जब चिनियाँ सरकारले कम्पनीका मुख्य नेतृत्वकर्ताहरूमाथि कडा निगरानी र प्रतिबन्ध सुरु गर्‍यो। विभिन्न रिपोर्टहरूका अनुसार मानसका सिईओ साओ हङ र चिफ साइन्टिस्ट यिचो जीलाई चीनको मुख्य भूमि छाड्न प्रतिबन्ध (Exit Ban) लगाइएको छ जसका कारण उनीहरू कम्पनीको मुख्य मुख्यालय रहेको सिंगापुर जान पाएका छैनन्।

यता सम्झौता प्रक्रिया अघि बढेसँगै मार्च महिनासम्ममा मानसका करिब १०० जना कर्मचारीहरू मेटाको सिंगापुरस्थित कार्यालयमा सरेर काम समेत सुरु गरिसकेका थिए। व्यवस्थापकीय तहमा पनि कम्पनीको एकीकरण निकै अघि बढिसकेको थियो जहाँ मानसका सिईओ हङले सिधै मेटाका सिओओ (COO) ह्याभियर ओलिभनलाई रिपोर्ट गर्न थालेका थिए। तर चीनको पछिल्लो हस्तक्षेप र संस्थापकहरूमाथिको यात्रा प्रतिबन्धले अलपत्र परेका कर्मचारी र भविष्यको व्यवस्थापनलाई लिएर ठूलो अन्योल सिर्जना गरिदिएको छ।

मेटाको दाबी अमेरिकी चासो

मेटाका प्रवक्ताले यो सम्झौता पूर्ण रूपमा कानुनी प्रक्रिया पुर्‍याएर गरिएको दाबी गरेका छन्। “हामी यस विषयमा उपयुक्त समाधान निस्कने अपेक्षामा छौँ,” उनले भनेका छन्।

अर्कोतर्फ  यो सम्झौतालाई लिएर अमेरिकामा पनि प्रश्न उठ्न थालेका थिए। अमेरिकी सिनेटर जोन कोर्निनले चिनियाँ सम्बन्ध भएको कम्पनीमा अमेरिकी पुँजी प्रवाह हुनुपर्ने वा नपर्ने भन्दै सामाजिक सञ्जाल एक्स (X) मार्फत चासो व्यक्त गरेका थिए।

एजेन्टिक एआई को क्षेत्रमा फड्को मार्न खोजिरहेको मेटाका लागि चीनको यो निर्णय एक गम्भीर धक्का मानिएको छ। यसले भविष्यमा हुने क्रस बोर्डर प्रविधि सम्झौताहरूमा थप अन्योल सिर्जना गरिदिएको छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...