काठमाण्डौं — प्रविधि जगतको दिग्गज कम्पनी एप्पलले आफ्ना प्रयोगकर्ता र डेभलपरहरूका लागि सब्सक्रिप्सन शुल्कमा नयाँ र सस्तो विकल्प प्रस्तुत गरेको छ। एप्पलले सोमबार घोषणा गरेअनुसार अब प्रयोगकर्ताहरूले १२ महिनाको प्रतिबद्धता (Commitment) जनाएर मासिक रूपमा सस्तो शुल्कमा एप स्टोरका सेवाहरू लिन सक्नेछन्।
यो नयाँ मोडल अन्तर्गत प्रयोगकर्ताले ‘अटो रिन्यु’ हुने गरी वार्षिक योजना रोज्नुपर्नेछ तर भुक्तानी भने हरेक महिना किस्ताबन्दीमा गर्न पाउनेछन्। यसले डेभलपरहरूलाई दीर्घकालीन आम्दानी सुनिश्चित गर्न मद्दत गर्नेछ भने ग्राहकले मासिक शुल्कको तुलनामा विशेष छुट प्राप्त गर्नेछन्।
डेभलपरहरूको पुरानै शैलीलाई वैधानिकता
धेरै एप डेभलपरहरूले पहिलेदेखि नै ग्राहक आकर्षित गर्न वार्षिक योजनालाई मासिक दरमा विभाजन गरेर सस्तो देखाउने मार्केटिङ गर्दै आएका थिए। एप्पलले अहिले यसै प्रक्रियालाई औपचारिक रूप दिएको हो। यसो गर्दा एप्पलले ग्राहक झुक्किने सम्भावनालाई कम गर्न विज्ञापन र मूल्य प्रदर्शन सम्बन्धी कडा नीतिहरू समेत लागू गरेको छ। यसले गर्दा ग्राहकले अफरको वास्तविक लागत स्पष्ट रूपमा बुझ्न सक्नेछन्।
अमेरिका र सिंगापुरमा तत्काल उपलब्ध नहुने
रोचक कुरा के छ भने यो नयाँ फिचर सुरुवातमा अमेरिका र सिंगापुरका प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने छैन। अमेरिकामा ‘एपिक गेम्स’ सँगको कानुनी विवाद र सब्सक्रिप्सन शुल्कबारे अदालतको फैसला कार्यान्वयनका क्रममा रहेकाले एप्पलले यसलाई तत्काल त्यहाँ लागू नगरेको अनुमान गरिएको छ। त्यस्तै सिंगापुरको कडा उपभोक्ता कानुन र विकसित भुक्तानी बजारका कारण पनि यो फिचर प्रारम्भिक चरणमा त्यहाँ नसमेटिएको हुनसक्ने देखिएको छ।
रद्द गर्ने प्रक्रिया र भुक्तानीको सर्त
यो योजनामा सहभागी हुने ग्राहकले १२ महिनाको सम्झौता गर्नुपर्ने हुन्छ। यदि प्रयोगकर्ताले बीचैमा सब्सक्रिप्सन रद्द गर्न चाहेमा जुनसुकै बेला रद्द गर्न त सक्नेछन् तर सम्झौता अवधि (१२ महिना) नसकिउन्जेलसम्म उनको एप्पल एकाउन्टबाट मासिक शुल्क काटिनै रहनेछ।
एप्पलले ग्राहकको सहजताका लागि एप्पल एकाउन्टमै कति पटक भुक्तानी भयो र कति बाँकी छ भन्ने विवरण हेर्न मिल्ने सुविधा दिएको छ। साथै नवीकरण हुने मिति नजिकिँदै गर्दा इमेल र पुश नोटिफिकेशनमार्फत जानकारी समेत दिइनेछ। तर प्रयोगकर्ताहरू सचेत हुनुपर्ने कुरा के छ भने यो अटो रिन्यु हुने भएकाले समयमै रद्द नगरेमा झुक्किएर अर्को एक वर्षका लागि पनि रकम काटिन सक्छ।
कहिले र कुन डिभाइसमा चल्छ?
यो सुविधा iOS 26.4, iPadOS 26.4, macOS Tahoe 26.4, tvOS 26.4, र visionOS 26.4 वा सोभन्दा पछिल्ला भर्सनहरूमा उपलब्ध हुनेछ। डेभलपरहरूले यसलाई App Store Connect मा कन्फिगर गर्न र Xcode मा परीक्षण गर्न सक्नेछन्। एप्पलले आगामी मे महिनामा सार्वजनिक हुने iOS 26.5 र अन्य सफ्टवेयर अपडेटहरूसँगै यो फिचर विश्वव्यापी रूपमा उपलब्ध गराउने तयारी गरेको छ।
