काठमाण्डौं — चीनको टेलिकम कम्पनी China Mobile ले आफ्नै विकासमा तयार पारेको पहिलो रोबोट कुकुर सार्वजनिक गरेको छ। ‘लिङ्सी’ नाम दिइएको यो रोबोटले मालिकलाई चिन्नुका साथै पछ्याउन सक्ने विशेषता राखेको कम्पनीले जनाएको छ।
राज्य नियन्त्रित People’s Post का अनुसार ‘लिङ्सी’ लाई “सिलिकनमा आधारित आकर्षक पाल्तु जनावर” का रूपमा प्रस्तुत गरिएको छ जसले बालबालिकाका लागि खेलसाथी वा वृद्धवृद्धाका लागि हेरचाहकर्ताको भूमिका निभाउन सक्दछ । यसमा मानवजस्तै अन्तरक्रिया र विभिन्न परिस्थिति अनुसार सेवा दिने क्षमता समावेश गरिएको छ।
रोबोट कुकुरले टच इन्टर्याक्सन, हेल्थ म्यानेजमेन्ट, इमोशनल फिडब्याक तथा इन्टर्याक्टिभ एजुकेसन जस्ता कार्य गर्न सक्छ। यसले प्रयोगकर्ताको आवाज सिकेर नक्कल गर्नसमेत सक्ने बताइएको छ।
यस वर्षको सुरुवातमा घरभित्र परीक्षण सम्पन्न भएपछि ‘लिङ्सी’ मा UWB आइडेन्टिफायर थपिएको छ जसले मालिकलाई चिन्न र बाहिर निस्कँदा पछ्याउन सहयोग गर्दछ । साथै यसमा RTK, LiDAR सेन्सर र वाइड एङ्गल क्यामेरा जडान गरिएको छ जसले जटिल वातावरणमा नेभिगेसन र अवरोधबाट बच्न मद्दत गर्ने “फुल डोमेन सुपर सेन्सरी फ्युजन सिस्टम” निर्माण गर्दछ ।
हाल बेइजिङमा मात्र उपलब्ध यो रोबोट कुकुरको मूल्य ३५ हजार चिनियाँ युआन (करिब ५,१२० अमेरिकी डलर) तोकिएको छ। यो मूल्य बेइजिङको प्रति व्यक्ति मासिक खर्चयोग्य आम्दानीको करिब पाँच गुणा र Unitree Go2 को नयाँ उपभोक्ता रोबोट (१,६०० डलर) भन्दा झन्डै तीन गुणा महँगो हो।
कम्पनीका अनुसार ‘लिङ्सी’ लाई ठूलो बजार लक्षित उत्पादनभन्दा बढी फिजिकल र अटोमोनस एआई क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ। यो विकासले चाइना मोबाइललाई चीनको तीव्र गतिमा बढिरहेको रोबोटिक्स क्षेत्रमा अगाडि ल्याएको छ।
यसैबीच KDDI ले हालै आफ्ना रिटेल स्टोरहरूमा ह्युमनॉइड रोबोट प्रयोगमा ल्याए पनि अन्य टेलिकम अपरेटरहरू आफ्नै रोबोट विकासमा निकै पछाडि देखिएका छन्।
मार्चमा MWC Barcelona मा बोल्दै चाइना मोबाइलका उपाध्यक्ष Zhang Dong ले कम्पनीले विभिन्न निर्माता कम्पनीका रोबोटहरूलाई जोड्ने र व्यवस्थापन गर्ने एकीकृत प्लेटफर्म निर्माण गर्ने लक्ष्य राखेको बताएका थिए।
