Tekmandu

नेपालमा ५जी विस्तारको आधार बलियो बनाउन ४जी पूर्वाधार उपयोगी, नीतिगत स्पष्टता आवश्यक: विज्ञ

काठमाण्डौं — सूचना तथा सञ्चार प्रविधि क्षेत्रको समग्र अवस्था सुधार गर्दै ५जी विस्तारको आधार तयार पार्न नेपालसँग पर्याप्त सम्भावना रहेको सरोकारवालाहरूले बताएका छन्। ‘टेक फर्वार्ड: मिडिया डाइलग २०२६’ मा बोल्दै हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेन केयाङ (चेस्टर) ले दक्ष जनशक्ति हुँदाहुँदै पनि नेपाल क्षेत्रीय प्रतिस्पर्धामा पछि रहेको उल्लेख गर्दै यसलाई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए।

उनका अनुसार सरकारको डिजिटल भिजन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटा सेन्टर विकासतर्फ देखिएको सक्रियताले प्रविधि क्षेत्रलाई सकारात्मक दिशातर्फ अघि बढाउने संकेत दिएको छ। डिजिटलाइजेसनलाई प्राथमिकतामा राखिएको नीतिगत स्पष्टता र कार्यान्वयनप्रति सरकारको प्रतिबद्धताले निजी क्षेत्रलाई समेत उत्साहित बनाएको उनको भनाइ छ।

नेपालको दूरसञ्चार क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले उद्योग दिगो नभएसम्म सेवा प्रदायक, प्रविधि कम्पनी र साझेदार कसैले पनि दीर्घकालीन सफलता हासिल गर्न नसक्ने बताए। स्पेक्ट्रम शुल्क, उच्च कर, महँगा उपकरण र ऊर्जा लागतजस्ता कारणले नयाँ प्रविधि विस्तारमा अवरोध सिर्जना भएको उनको विश्लेषण छ।

चेस्टरले दूरसञ्चार पूर्वाधारलाई आर्थिक विकाससँग जोडेर हेर्नुपर्नेमा जोड दिए। नेटवर्क कनेक्टिभिटीले उत्पादनशीलता वृद्धि गर्दै देशको कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष योगदान पुर्‍याउन सक्ने उनको भनाइ छ। साथै  सेवा गुणस्तर सुधारका लागि प्रयोगकर्ताको औसत खर्च पनि केही बढ्नुपर्ने उनले उल्लेख गरे।

नेपालमा हुवावेले लामो समयदेखि काम गर्दै आएको स्मरण गर्दै उनले आगामी दिनमा डिजिटल इकोसिस्टम सुदृढीकरणमा केन्द्रित रहने बताए। माल्दिभ्सको अनुभव उल्लेख गर्दै उनले स्पष्ट नीति, समान प्रतिस्पर्धा र पूर्वाधार विस्तारमा सहजीकरणले दूरसञ्चार क्षेत्रलाई दिगो बनाउन मद्दत गर्ने बताए।

यसैक्रममा कार्यक्रममा टेलिकम क्षेत्रका विज्ञले नेपालमा ५जी विस्तारका आधार र चुनौतीहरूका बारेमा कार्यपत्र प्रस्तुत गर्दै देशको वर्तमान अवस्था र सम्भावनाहरूलाई केलाएका थिए। नेपालमा ५जी सेवाको विस्तारलाई कम खर्चिलो र तीव्र बनाउन विद्यमान ४जी पूर्वाधारलाई नै मुख्य आधार बनाउनुपर्ने विज्ञले सुझाए । धेरैजसो सुरुवाती ५जी विस्तार ‘नन स्ट्यान्डअलोन’ (NSA) मोडलमा आधारित हुने भएकाले ५जी रेडियो नेटवर्कलाई नियन्त्रण गर्ने मुख्य काम (Core) ४जीकै पूर्वाधारबाट हुन्छ जसले गर्दा नयाँ नेटवर्क शून्यबाट सुरु गर्नुभन्दा यो प्रक्रिया प्राविधिक र आर्थिक रूपमा निकै सस्तो र छिटो हुने विज्ञहरूको ठम्याइ छ । यस रणनीतिले सेवा प्रदायकहरूलाई कम लगानीमा द्रुत गतिमा सेवा विस्तार गर्न मद्दत पुग्ने र प्रयोगकर्ताले पनि भरपर्दो नेटवर्कको अनुभव गर्न पाउने  विज्ञहरूको भनाईछ ।

नेपालमा ५जी सेवाको वर्तमान अवस्था र यसको भविष्यका सम्भावनाहरूलाई केलाउँदा केही उत्साहजनक आधारहरू देखिएका छन्। कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार नेपालमा हाल करिब १९ प्रतिशत मोबाइल सेटहरू (Terminals) ५जी प्रविधि सपोर्ट गर्ने क्षमताका छन्  जसले सेवाको प्रारम्भिक चरणका लागि बलियो प्रयोगकर्ता आधार तयार पारेको छ।

प्राविधिक रूपमा नेपालका टेलिकम अपरेटरहरूको कोर नेटवर्क ५जी ‘नन स्ट्यान्डअलोन’ (NSA) मोडलका लागि तयारी अवस्थामा रहनुलाई अर्को सकारात्मक पक्षको रूपमा प्रस्तुत गरिएको थियो। यसका साथै सहरी क्षेत्रमा देखिएको टावर राख्ने ठाउँको अभाव र उच्च विद्युत माग जस्ता पूर्वाधारगत चुनौतीहरूलाई सम्बोधन गर्न हुवावे (Huawei) जस्ता कम्पनीहरुका नवीन रेडियो र पावर समाधानहरू (Innovative Solutions) नेपालका लागि निकै उपयोगी र प्रभावकारी हुन सक्ने विज्ञले बताएका छन्।

कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विज्ञले पनि कार्यपत्र प्रस्तुति दिएका थिए । कार्यपत्र प्रस्तुत गर्दै एआई अब केवल एक प्राविधिक प्रयोग मात्र नरहेर विद्युत वा इन्टरनेट जस्तै हरेक उद्योगलाई रूपान्तरण गर्ने ‘जनरल पर्पोज टेक्नोलोजी’ बनेको बताए। नेपालमा पनि यसको प्रभाव बढ्दो रहेको र विशेष गरी वित्तीय प्रविधि (Fintech) एवं बैंकिङ क्षेत्रले यसलाई तीव्र रूपमा अङ्गीकार गरिरहेको उनले उल्लेख गरे।

विज्ञका अनुसार नेपालमा हाल करिब ४५ प्रतिशत वाणिज्य बैंकहरूले ठगी पत्ता लगाउन (Fraud Detection), कर्जा मूल्यांकन (Credit Scoring) र ग्राहक सेवाका लागि एआई र मेसिन लर्निङको प्रयोग गरिरहेका छन्। बैंकहरूले औपचारिक क्रेडिट हिस्ट्री नभएकाहरूको पनि जोखिम विश्लेषण गर्न र चौबीसै घण्टा च्याटबोट सेवा दिन यस प्रविधिको उपयोग गरिरहेका छन्।

त्यस्तै टेलिकम क्षेत्रमा नेटवर्क अप्टिमाइजेसन र डाटा एनालिटिक्सका लागि एआई प्रयोग भइरहेको छ। कृषि र स्वास्थ्य क्षेत्रलाई भने उच्च सम्भावना भएका क्षेत्रको रूपमा पहिचान गरिएको छ जहाँ बालीको पूर्वानुमान र टेलिमेडिसिनमा एआईले ठूलो भूमिका खेल्न सक्दछ । यद्यपि पूर्वाधारको अभावले यी क्षेत्रमा अङ्गीकरणको गति केही सुस्त छ।

नेपालले एआईबाट अधिकतम लाभ लिन एउटा व्यवस्थित ‘इन्टेलिजेन्ट ट्रान्सफर्मेशन’ मार्गचित्र पछ्याउनुपर्ने सुझाव विज्ञले दिए । यस मार्गचित्रमा एआई सम्बन्धी कानुन र नीति निर्माण (Governance), जनशक्ति विकास (AI Talents), समावेशी कनेक्टिभिटी र साइबर सुरक्षा (AI Enablers), जनता केन्द्रित सेवा प्रवाह, स्थानीय विकासकर्ताहरूको प्रोत्साहन र लगानीको प्रतिफल सुनिश्चित गर्दै दिगोपना (Sustainability) मा जोड दिनुपर्ने उल्लेख छ। नेपालमा एआईको भविष्य इन्टरनेट र कनेक्टिभिटीको पहुँचमा भर पर्ने भन्दै हाल धेरै स्टार्टअपहरूले च्याटबोट र वर्कफ्लो अटोमेसन जस्ता व्यावहारिक समाधानमा काम गरिरहेको उनले जानकारी दिए।

कार्यक्रममा हुवावे नेपालका कर्पोरेट एण्ड पब्लिक अफेयर्स डाइरेक्टर आसित अधिकारीले हुवावेलाई नेपालको दूरसञ्चार विकासमा एक महत्त्वपूर्ण हिस्सेदार (Stakeholder) का रूपमा स्वीकार गरिएकोमा सबै अपरेटर र सरोकारवालाहरूलाई आभार व्यक्त गरे। उनले प्रविधि भित्र्याउने प्रक्रियामा मिडियाको भूमिका निर्णायक हुने चर्चा गर्दै भने  “मिडियाले नयाँ प्रविधिका बारेमा सरोकारवाला र आम जनतालाई सुसूचित गराउने सेतुका रूपमा काम गरिरहेको छ। मिडियाको सकारात्मक र रचनात्मक भूमिकाले नै देशमा नयाँ प्रविधि अङ्गीकार गर्न र डिजिटल इकोसिस्टम बलियो बनाउन सहज वातावरण निर्माण गर्दछ ।” हुवावेको २७ वर्ष लामो नेपाल यात्रामा प्राप्त सहयोगका लागि धन्यवाद दिँदै उनले  आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा रहेको बताए ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...