काठमाण्डौं — सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी प्राधिकरणकै निर्देशक अर्जुन घिमिरेलाई दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ अध्यक्ष नियुक्ति नभएसम्मका लागि घिमिरेलाई उक्त जिम्मेवारी तोकेको हो ।
मन्त्रालयको संस्थान समन्वय शाखाले वैशाख २९ गतेको निर्णयानुसार घिमिरेलाई जिम्मेवारी तोकिएको पत्र पठाएको छ । पत्रमा घिमिरेलाई दैनिक प्रशासनिक तथा आर्थिक अधिकारसमेत प्रयोग गर्ने अख्तियारी दिइएको छ ।
“नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नयाँ नियुक्ति नभएसम्म दैनिक प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गरी कार्य सञ्चालन गर्न निमित्तको जिम्मेवारी दिइएको व्यहोरा अनुरोध छ,” मन्त्रालयले घिमिरेलाई लेखेको पत्रमा भनिएको छ ।
मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूको (सेवा सर्त सम्बन्धी) विनियमावली, २०७६ को नियम ४३ को उपनियम (२) को व्यवस्था बमोजिम उनलाई निमित्त अध्यक्ष भई काम गर्ने जिम्मेवारी दिइएको हो ।
