काठमाण्डौं — सामाजिक सञ्जाल प्लेटफर्म एक्सले पैसा नतिर्ने (अनभेरिफाइड) प्रयोगकर्ताहरूलाई लक्षित गर्दै निकै कडा नियम ल्याएको छ। अब ब्लु चेकमार्क नभएका एकाउन्टबाट दिनमा जम्मा ५० वटा ओरिजिनल पोस्ट र २०० वटा मात्रै रिप्लाई गर्न पाइनेछ। यसअघि यस्ता एकाउन्टबाट दिनमा २,४०० वटासम्म पोस्ट गर्न पाइने व्यवस्था थियो।
सशुल्क ‘भेरिफिकेसन’लाई प्रवर्द्धन गर्ने रणनीतिअन्तर्गत एक्सले सुटुक्क यो नयाँ लिमिटेसन लागू गरेको हो। बिनाकुनै औपचारिक जानकारी ल्याइएको यो नयाँ नियमका कारण वर्षौंदेखि एक्स चलाइरहेका पुराना प्रयोगकर्ताहरू निकै रुष्ट बनेका छन्। अहिले एक्स र रेडिट जस्ता प्लेटफर्ममा प्रयोगकर्ताहरूले आफूहरूलाई पोस्ट गर्न रोक लगाइएको भन्दै तीव्र असन्तुष्टि पोखिरहेका छन्।
एक्सको ‘हेल्प सेन्टर’ पेजमै अपडेट गरिएको नयाँ नियममा स्पष्ट रूपमा अनभेरिफाइड एकाउन्टहरूले दैनिक ५० ओरिजिनल पोस्ट र २०० रिप्लाईको सीमाभित्र रहनुपर्ने उल्लेख छ। पुरानो भर्सनको पेजसँग तुलना गर्दा यो सीमा निकै कम हो। रोचक कुरा त के छ भने अपडेट गरिएको हेल्प सेन्टर पेजमा अझै पनि कतै कतै पुरानै २,४०० अपडेटको नियम पनि लेखिएको भेटिन्छ। तर व्यवहारमा भने नयाँ सीमा पार गर्नेबित्तिकै प्रयोगकर्तालाई कुन लिमिट क्रस भयो भनेर प्रस्ट देखाउने इरर मेसेज आउन थालिसकेको छ।
प्लेटफर्ममा बढ्दो स्पाम (spam) र बट (bot) गतिविधि नियन्त्रण गर्ने वृहत् अभियानअन्तर्गत एक्सले यो कदम चालेको हुन सक्ने विश्लेषकहरूको अनुमान छ। यसअघि गत अक्टोबरमा पनि एक्सले एकाउन्ट कुन देशबाट चलिरहेको छ भनेर देखाउने ‘अबाउट दिस एकाउन्ट’ फिचर ल्याएको थियो जुन स्पाम नियन्त्रणकै एउटा हिस्सा थियो।
असन्तुष्ट प्रयोगकर्ताहरूले भने यो नयाँ झन्झटका कारण धेरैले एक्स चलाउनै छाड्न सक्ने चेतावनी दिएका छन्। यदि पोस्ट र रिप्लाईमा कुनै रोकटोक नचाहने हो भने प्रयोगकर्ताले अब पैसा तिरेर एक्स प्रिमियम (X Premium) लिनैपर्ने बाध्यता सिर्जना भएको छ। यसका लागि एक्स प्रिमियमको सबैभन्दा सस्तो ‘बेसिक टियर’ खरिद गर्न सकिन्छ जसको मूल्य मासिक ३ डलर वा वार्षिक ३२ डलर तोकिएको छ।
