काठमाण्डौं — बायोटेक कम्पनी कोलोसल बायोसाइन्सेसले ३डी-प्रिन्ट गरिएको कृत्रिम अण्डाको खोल प्रयोग गरेर २६ वटा स्वस्थ चल्ला जन्माउन सफल भएको घोषणा गरेको छ। कम्पनीका अनुसार यो प्रविधि भविष्यमा लोप भइसकेका विशाल ‘मोआ’ र ‘डोडो’ जस्ता चरालाई पुन ल्याउने लक्ष्यतर्फको महत्त्वपूर्ण चरण हो।
‘डी एक्सटिङ्सन’ अर्थात् लोप भइसकेका प्रजातिलाई पुनर्जीवित गर्ने दाबीका कारण चर्चामा रहेको कोलोसलले दक्षिण टापुको विशाल ‘मोआ’ (Dinornis robustus) लाई आफ्नो प्रमुख परियोजनामध्ये एक बनाएको छ। करिब ६ सय वर्षअघि विलुप्त भएको यो चरालाई संसारकै विशाल प्रजातिमध्ये एक मानिन्छ।
कम्पनीले विकास गरेको कृत्रिम अण्डाको खोल सिलिकोनमा आधारित अर्ध पारगम्य झिल्ली संरचनाबाट बनेको छ। यसले अक्सिजन भित्र प्रवेश गर्न दिन्छ तर अण्डाभित्रको सामग्रीलाई सुरक्षित राख्ने काम पनि गर्दछ । त्यसलाई स्थिर राख्न बलियो सपोर्ट कप जोडिएको हुन्छ।

भ्रूण भने कृत्रिम रूपमा सिर्जना गरिएको होइन। सामान्य प्रक्रियाअनुसार कुखुरीले पारेको अण्डाबाट भ्रूण निकालेर त्यसलाई कृत्रिम संरचनामा सारिने कम्पनीले जनाएको छ।
कोलोसलले आफ्नो ब्लगमा लेखेको छ कि वैज्ञानिकहरूले कुखुरीले पारेको अण्डा २४ देखि ४८ घण्टाभित्र परीक्षण गर्दछन्। त्यसपछि प्रयोगका लागि उपयुक्त भ्रूण चयन गरेर खोल हटाइन्छ र त्यसलाई कृत्रिम अण्डाको संरचनाभित्र राखिन्छ। निषेचनदेखि अण्डा पार्ने प्रक्रियासम्मको सम्पूर्ण जैविक चरण भने जीवित चरामै हुने कम्पनीको भनाइ छ।
मोआको अण्डा एमुको अण्डाभन्दा करिब आठ गुणा ठूलो हुने भएकाले अहिले जीवित कुनै पनि प्रजातिले त्यसको सम्पूर्ण जैविक प्रक्रिया वहन गर्न सक्ने अवस्था नरहेको कम्पनीले बताएको छ। डोडो परियोजनाका लागि निकोबार पिजनलाई सम्भावित विकल्पका रूपमा हेरिएको छ भने मोआका लागि एमु वा टिनामुमाथि विचार भइरहेको छ।
तर कम्पनीको विधि र यसको उद्देश्यलाई लिएर आलोचना पनि भइरहेको छ। धेरै वैज्ञानिकले अहिले संकटमा रहेका प्रजातिको संरक्षणमा यस्तो प्रविधि प्रयोग गर्न सकिने अवस्थामा लोप भइसकेका जीव फर्काउन प्राथमिकता दिनुको औचित्यमाथि प्रश्न उठाउँदै आएका छन्।
कोलोसलले भने आफ्नो प्रणाली संरक्षणका काममा पनि उपयोगी हुन सक्ने दाबी गरेको छ।
