Tekmandu

एआई, रोबोट र जीन सम्पादनले बदल्दै आईभीएफको भविष्य, सन्तान जन्माउने प्रविधि नयाँ मोडमा

काठमाण्डौं — विश्वकै पहिलो आईभीएफ शिशु लुइस जोय ब्राउन जन्मिएको झन्डै ४८ वर्ष बितिसकेको छ। त्यसयता लाखौं बालबालिका इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) को सहायताले जन्मिइसकेका छन्। प्रविधिको विकाससँगै यो प्रक्रिया सुरक्षित र प्रभावकारी बनेको छ। तर अझै पनि आईभीएफलाई पूर्ण समाधान मान्न सकिने अवस्था छैन। यसको प्रक्रिया महँगो छ, शारीरिक र मानसिक रूपमा कठिन हुन सक्छ  र सबैले सहज पहुँच पनि पाउँदैनन्। पछिल्ला वर्षहरूमा केही मापनका आधारमा सफलता दर घट्दो देखिएको छ।

मानव प्रजनन प्रक्रिया आफैं जटिल छ। किन स्वस्थ देखिने धेरै भ्रूणहरू गर्भाशयमा सफलतापूर्वक बस्न सक्दैनन् भन्ने प्रश्न अझै पूर्ण रूपमा बुझिएको छैन। कतिपय अवस्थामा चिकित्सकसँग बिरामी किन गर्भवती हुन सकेन भन्ने स्पष्ट कारण पनि हुँदैन। यही अनिश्चितता हटाउने प्रयास अहिले विश्वभरका वैज्ञानिकहरूले गरिरहेका छन्। एआई, रोबोटिक्स र जीन प्रविधिको सहाराले आईभीएफ क्षेत्रमा नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ।

गर्भाशयमा भ्रूण बसाउने प्रक्रियामा नयाँ प्रयोग

स्पेनको भ्यालेन्सियास्थित कार्लोस सिमोन फाउन्डेसनमा वैज्ञानिकहरूले गर्भाशय बाहिरै मानव युटेरसलाई जीवित राख्ने उपकरणमाथि काम गरिरहेका छन्। उनीहरूको मुख्य चासो भनेको भ्रूण गर्भाशयमा कसरी बस्छ भन्ने प्रक्रिया बुझ्नु हो।

अहिलेसम्म स्वस्थ देखिने भ्रूणहरू पनि करिब ४० देखि ६० प्रतिशत अवस्थामा मात्र सफलतापूर्वक गर्भाशयमा बस्ने गरेका छन्। यसलाई सुधार गर्न वैज्ञानिक जेभियर सान्तामारिया र उनको टोलीले नयाँ उपकरण बनाएको छ जसले बटन थिच्नेबित्तिकै भ्रूणलाई गर्भाशयको तहभित्र सिधै पुर्‍याउन सक्छ। उपकरणमा क्यामेरा, प्रकाश र सेन्सर राखिएको छ  जसले चिकित्सकलाई सही स्थान पहिचान गर्न मद्दत गर्दछ ।

यसको परीक्षण सुरु भइसकेको छ। हालसम्म १० भन्दा कम महिलामा प्रयोग गरिएको छ तर सफल गर्भधारण भएको छैन। त्यसका बाबजुद अनुसन्धान टोली आशावादी छ। उनीहरूको तर्क छ  पहिलो आईभीएफ शिशु जन्माउन पनि सयौं प्रयास आवश्यक परेको थियो।

कुन अण्डा, शुक्रकीट भ्रूण  उत्तम  हो भन्ने खोजमा एआई

आईभीएफको अर्को ठूलो चुनौती छनोट हो। एउटा दम्पतीबाट प्राप्त अण्डा र शुक्रकीटमध्ये कुन प्रयोग गर्ने, बनेका भ्रूणमध्ये कुन स्थानान्तरण गर्ने भन्ने निर्णय लामो समयदेखि विशेषज्ञको अनुभव र आँखाको अनुमानमा आधारित रहँदै आएको छ।

अब यो काममा एआई प्रवेश गरिरहेको छ। अमेरिकाको कोलम्बिया युनिभर्सिटी मेडिकल सेन्टरले विकसित गरेको ‘स्टार’ (Sperm Tracking and Recovery) प्रणालीले अत्यन्त कम स्वस्थ शुक्रकीट भएका नमूनाहरूमा पनि लाखौं माइक्रोस्कोपिक तस्बिर विश्लेषण गर्न सक्दछ। यो प्रणालीले एक घण्टाभित्र १० लाखभन्दा बढी तस्बिर जाँच गर्न सक्ने बताइएको छ। यो प्रयोगबाट स्वस्थ भ्रूण बनाइएको छ र गत वर्ष पहिलो सफल गर्भधारणको घोषणा गरिएको थियो।

रोबोटले गर्ने आईभीएफ प्रक्रिया

प्रजनन विशेषज्ञ अलेजान्द्रो चाभेज बादिओलाले आईभीएफ प्रक्रियालाई स्वचालित बनाउने लक्ष्यसहित रोबोटिक प्रणाली विकास गरिरहेका छन्।

यो प्रणालीले अण्डा र शुक्रकीट छनोट गर्ने, निषेचन गर्ने, भ्रूण विकास गराउने र अन्तिम छनोटसम्मका धेरै काम आफैं गर्न सक्दछ। उनका अनुसार रोबोटले थकाइ महसुस गर्दैन र प्रत्येक प्रक्रिया एउटै मापदण्डअनुसार दोहोर्‍याउन सक्छ।

हालसम्म स्वचालित आईभीएफ प्रक्रियाबाट कम्तीमा १९ बालबालिका जन्मिइसकेका छन्। भविष्यमा एउटै प्रणालीले वर्षमा हजारौं आईभीएफ चक्र सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ  जसले लागत घटाउन र पहुँच विस्तार गर्न सक्ने विश्वास गरिएको छ।

जीन सम्पादन, आशा कि विवाद?

आईभीएफको भविष्यसँग जोडिएको अर्को संवेदनशील विषय जीन सम्पादन हो। केही वैज्ञानिकहरूले भ्रूण प्रत्यारोपणअघि नै CRISPR जस्ता प्रविधिमार्फत जीनमा परिवर्तन गरेर गम्भीर रोग रोक्न सकिने सम्भावना औंल्याइरहेका छन्।

चीनका बायोफिजिसिस्ट हे जियानकुईले सन् २०१० को दशकको अन्त्यतिर यस्तो प्रयोग गरेर तीन बालबालिका जन्माएको घटनाले विश्वव्यापी विवाद निम्त्याएको थियो। वैज्ञानिक समुदायले त्यसलाई तीव्र आलोचना गरेको थियो र उनी तीन वर्ष जेलसमेत परेका थिए।

अहिले केही अनुसन्धानकर्ता सिस्टिक फाइब्रोसिस, हन्टिङटन र सिकल सेलजस्ता गम्भीर रोग रोक्न भ्रूण सम्पादन उपयोगी हुन सक्ने तर्क गर्दछन्। तर वैज्ञानिकहरू सावधानी अपनाउनुपर्ने बताउँछन्। एउटा रोग हटाउँदा अर्को जोखिम बढ्ने हो कि भन्ने प्रश्न अझै खुला छ। कतिपयले यसलाई भविष्यमा  डिजाइनर बेबी वा आनुवंशिक भेदभावतर्फ जाने जोखिमका रूपमा पनि हेरेका छन्।

आईभीएफको यात्रा पहिलो सफल शिशु जन्मिएको समयभन्दा धेरै अघि बढिसकेको छ। तर नयाँ प्रविधिको विकाससँगै प्रश्नहरू पनि थपिएका छन्। अहिलेको बहस केवल स्वस्थ शिशु जन्माउने प्रविधिसम्म सीमित छैन विज्ञानले मानव प्रजननको सीमालाई कहाँसम्म पुर्‍याउन सक्छ भन्ने विषयतर्फ पनि मोडिएको छ।

सम्बन्धित समाचार

अब व्हाट्सएपमै एआईले दिनेछ ग्राहकको जवाफ, मेटाको  बिजनेस एजेन्ट  विश्वभर लन्च

अब व्हाट्सएपमै एआईले दिनेछ ग्राहकको जवाफ, मेटाको बिजनेस एजेन्ट विश्वभर लन्च

काठमाण्डौं — साना तथा मझौला व्यवसायका लागि व्हाट्सएप अब एउटा सामान्य सञ्चारको माध्यम मात्र रहेन। मेटाले यसलाई शक्तिशाली 'वर्कफ्लो ...
तपाईंको काम गर्ने शैली सिक्ने स्काउट एआई ल्यायो माइक्रोसफ्टले

तपाईंको काम गर्ने शैली सिक्ने स्काउट एआई ल्यायो माइक्रोसफ्टले

काठमाण्डौं —  माइक्रोसफ्टले ओपनक्लोबाट प्रेरित नयाँ एआई असिस्टेन्ट ‘स्काउट’ सार्वजनिक गरेको छ। माइक्रोसफ्ट ३६५ इकोसिस्टमभित्र काम ...
ओपनएआईले ल्यायो ‘Codex’ का नयाँ टुल, कर्पोरेट बजार तान्ने आक्रामक रणनीति

ओपनएआईले ल्यायो ‘Codex’ का नयाँ टुल, कर्पोरेट बजार तान्ने आक्रामक रणनीति

काठमाण्डौं — ओपनएआई (OpenAI) ले कर्पोरेट प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ। मंगलबार यस एआई ल्या...
टिकटकको सिको गर्दै मेटा,  इन्स्टाग्राम र फेसबुकमा अब रिल्सको ‘सिरिज’ बनाउन मिल्ने

टिकटकको सिको गर्दै मेटा, इन्स्टाग्राम र फेसबुकमा अब रिल्सको ‘सिरिज’ बनाउन मिल्ने

काठमाण्डौं — छोटा भिडिओ रुचाउने दर्शकलाई अब लामो समयसम्म अड्याइराख्ने रणनीतिमा मेटा लागेको छ। फेसबुक र इन्स्टाग्राममा छरिएर रहेका ...