काठमाडौं — छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकले आफ्नो कमेन्ट सेक्सनलाई थप अन्तरक्रियात्मक (Interactive) र रोचक बनाउने भएको छ। प्रयोगकर्ताको सहजता र आकर्षण बढाउन कम्पनीले बिहीबार कमेन्टमै भ्वाइस म्यासेज, पोल (मतदान), फोटो क्याराउजल र लाइभ फोटो जस्ता नयाँ फिचरहरू सार्वजनिक गरेको छ।
टिकटकले म्यासेजिङ एपहरूबाट प्रभावित हुँदै यी फिचरहरू ल्याएको हो। यसको मुख्य उद्देश्य भनेको भिडियोमा सामान्य प्रतिक्रिया जनाउन मात्र सीमित नभई, कमेन्ट सेक्सनलाई नै प्रयोगकर्ताहरू बीच लामो समयसम्म छलफल र अन्तरक्रिया गर्ने थलो बनाउनु हो।
भ्वाइस म्यासेजबाटै प्रतिक्रिया
नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले कमेन्ट बक्समा रहेको ‘माइक’ आइकन थिचेर एक मिनेटसम्मको अडियो रेकर्ड गरी पोस्ट गर्न सक्नेछन्। यसरी पोस्ट गरिएका भ्वाइस म्यासेज जो कोहीले प्ले गरेर सुन्न सक्छन्।
“सुरुवातदेखि नै साउन्ड र म्युजिकले टिकटकलाई चिनाउँदै आएको छ,” कम्पनीले आफ्नो ब्लगपोस्टमा लेखेको छ, “अडियो क्लिप र गीतहरू भाइरल हुने यो प्लेटफर्मको कमेन्ट सेक्सनमा पनि हामी त्यही ऊर्जा ल्याउन चाहन्छौं।”
क्रिएटरलाई पोलको सुविधा
त्यस्तै भिडियो निर्माता (क्रिएटर) हरूले अब आफ्नै भिडियोको कमेन्टमा पोल सिर्जना गर्न सक्नेछन्। यो फिचरमार्फत उनीहरूले आफ्ना दर्शकलाई ५ वटासम्म विकल्प दिएर मतदान गराउन सक्छन्। आगामी भिडियो कुन विषयमा बनाउने, कस्तो लुगा लगाउने वा कुन परिकार पकाउने जस्ता विषयमा दर्शकको प्रत्यक्ष राय लिन यो निकै उपयोगी हुने कम्पनीको भनाइ छ। क्रिएटरले पोलको समयसीमा तोक्न सक्नेछन् र कमेन्ट सेक्सनमै लाइभ नतिजा हेर्न पाउनेछन्।
एकैपटक ९ वटासम्म फोटो
फोटो कमेन्टतर्फ पनि टिकटकले महत्त्वपूर्ण परिमार्जन गरेको छ। यसअघि एउटा मात्र फोटो राख्न मिल्नेमा अब फोटो क्याराउजल मार्फत एकैपटक ९ वटासम्म फोटो पोस्ट गर्न सकिनेछ। यसका साथै लाइभ फोटो पनि कमेन्ट गर्न मिल्ने बनाइएको छ, जसले तस्बिरको छोटो भिडिओ झलक (मोसन) देखाउनेछ।
सुरक्षा र उपलब्धता
सुरक्षा र नीति नियमको सवालमा टिकटकले भ्वाइस कमेन्टहरूमा पनि अन्य सामग्री जस्तै कडा निगरानी गरिने प्रष्ट पारेको छ। कम्पनीका अनुसार कम्युनिटी गाइडलाइन उल्लंघन गर्ने अडियोहरूलाई स्पिच-टु-टेक्स्ट ट्रान्सक्रिप्सन लगायतका प्रविधि र मानवीय निगरानीबाट पहिचान गरी हटाइनेछ।
टिकटकका अनुसार लाइभ फोटो र पोल फिचर विश्वभर उपलब्ध भइसकेका छन्। भ्वाइस कमेन्ट र फोटो क्याराउजल भने आगामी एक महिनाभित्र सबै प्रयोगकर्ताको पहुँचमा पुग्नेछ। यद्यपि भ्वाइस कमेन्टको सुविधा भने १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउनेछन्।
