काठमाडौं — भोटेकोशी नदीमा आएको बाढीका कारण सञ्चार सेवाबाट विच्छेद भएका प्रभावित क्षेत्रमा निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले स्याटलाइट प्रविधिमार्फत नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। विपद्को समयमा खोज, उद्धार, राहत र पुनर्स्थापनाको कामलाई सहज बनाउन कम्पनीले आपत्कालीन सञ्चारको रूपमा यो प्रविधि प्रयोगमा ल्याएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणलगायतका सरकारी निकायको स्वीकृति र समन्वयमा एनसेलले ‘युटेलस्याट’को लो अर्थ अर्बिट (LEO) स्याटलाइटमार्फत इन्टरनेट सेवा दिन थालेको हो। हालसम्म नुवाकोटका तीनवटा महत्त्वपूर्ण स्थानमा यो प्रविधि जडान भइसकेको र अन्य प्रभावित क्षेत्रमा समेत विस्तारको काम धमाधम भइरहेको कम्पनीले जनाएको छ।
सडक सञ्जाल र अप्टिकल फाइबर चुँडिएर मोबाइल तथा ब्रोडब्यान्ड इन्टरनेटले काम गर्न छाडेको अवस्थामा पनि यो प्रविधिले उच्च गतिको इन्टरनेट दिन्छ। जमिनमा राखिएको डिभाइसले सीधै स्याटलाइटबाट सिग्नल लिएर राउटरमार्फत वरपरका क्षेत्रमा वाईफाई उपलब्ध गराउँछ। यो सेवा विशेषगरी बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र र अस्थायी शिविरहरूमा निःशुल्क रूपमा उपलब्ध गराइएको छ। यसबाट प्रभावित नागरिकलाई सन्देश पठाउन, इन्टरनेट कल गर्न र राहत समन्वय गर्न सहज हुने कम्पनीको विश्वास छ।
एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठले सडक र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटका तीन स्थानमा सेवा सुचारु गरिएको जानकारी दिए। “यसले कठिन समयमा स्थानीयवासीलाई सम्पर्कमा रहन र उद्धार कार्यलाई सहज बनाउन ठूलो मद्दत पुग्नेछ,” उनले भने।
यसका साथै, एनसेलले विपद्को पहिलो दिनदेखि नै प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई दैनिक रूपमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ। त्यस्तै उद्धार तथा पुनर्स्थापनामा सघाउ पुर्याउन कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँसमेत जम्मा गरिसकेको छ।
विपद्को समयमा कनेक्टिभिटी सुविधा मात्र नभई ज्यान बचाउने लाइफलाइन नै हुने भएकाले सबै नागरिकलाई सम्पर्कमा राख्न हरसम्भव प्रयास गरिरहेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
