काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि एनसेलले प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि थप ७ दिन लम्ब्याएको छ । उद्धार, राहत तथा सहज सञ्चारमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले भोलि (भदौ २० गते) देखि २६ गतेसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
बाढी आएको दिन भदौ १० गते कम्पनीले प्रभावित क्षेत्रमा सुरुवाती तीन दिनका लागि सेवा निःशुल्क गरेको थियो । त्यसपछि ७ दिन थप गरेर भदौ १९ गतेसम्म पुर्याइएकोमा, विपद्को समयमा सञ्चारको आवश्यकतालाई मध्यनजर गर्दै पुनः एक साताका लागि म्याद थपिएको एनसेलले जनाएको छ ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यस कठिन घडीमा सञ्चारविहीन हुनु नपरोस् भनेर सेवा अवधि थप गरिएको बताए । “अवरुद्ध भएकामध्ये ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेका छन्,” उनले भने, “हाम्रो यो निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवारसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं ।”
प्रभावित २७ मध्ये २५ टावर पुनः सञ्चालनमा
बाढीका कारण त्यस क्षेत्रमा एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएका थिए । जसमध्ये बिहीबार नुवाकोटको त्रिशुलीस्थित २५औं टावर सञ्चालनमा आएसँगै ९२ प्रतिशत नेटवर्क सुचारु भएको छ ।
रसुवाको घट्टेखोला (टिमुरे) मा रहेको एउटा टावर भने बाढीले पूर्ण रूपमा नष्ट गरेको कम्पनीले जनाएको छ । त्यस्तै रसुवाकै उत्तरगया (तिरु) मा रहेको बाँकी एक टावर सञ्चालनका लागि हेलिकप्टरमार्फत उपकरण पुर्याउन आवश्यक समन्वय भइरहेको छ ।
विपद्को समयमा सञ्चार निरन्तरतासँगै खोज, उद्धार र जनचेतनामूलक सन्देश प्रवाहमा समेत एनसेलले सहजीकरण गरिरहेको छ । यसअघि, बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार र पुनःस्थापना कार्यमा सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोग गरेको थियो ।
