Tekmandu

मौसम पूर्वानुमानमा एआई क्रान्ति? विन्डबोर्नले गर्‍यो नयाँ दाबी

काठमाण्डौं — मौसम पूर्वानुमान क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा अघि बढिरहेका बेला अमेरिकी स्टार्टअप विन्डबोर्न सिस्टम्सले आफ्नो नयाँ एआई आधारित मौसम पूर्वानुमान प्रणाली सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वेदरमेस ६ ले युरोपेली सरकारी निकायहरूले विकास गरेका विश्वकै अग्रणी प्रणालीभन्दा धेरै अवस्थामा अझ छिटो र सटीक पूर्वानुमान दिने दाबी गरेको छ।

सन् २०१९ मा स्ट्यानफोर्डका केही विद्यार्थीहरूले स्थापना गरेको विन्डबोर्न सिस्टम्सले सुरुआतमा राम्रो मौसम बलुन निर्माण गर्ने र त्यसबाट सङ्कलन हुने डेटा बेच्ने योजना बनाएको थियो। तर सन् २०२२ मा मौसम पूर्वानुमानमा डिप लर्निङ मोडलहरूको प्रयोग बढेपछि कम्पनीले आफ्नै एआई मोडल विकास गर्ने दिशामा ध्यान केन्द्रित गर्‍यो।

कम्पनीका अनुसार वेदरमेसको छैटौं संस्करणले युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्टिङ (ईसीएमडब्लुएफ) का परम्परागत तथा एआई आधारित दुवै प्रणालीलाई केही मुख्य सूचकहरूमा उछिनेको छ। विन्डबोर्न सिस्टम्सका प्रमुख उत्पादन अधिकृत Kai Marshland का अनुसार वेदरमेस ६ ले पाँच दिनअघिको पूर्वानुमानमा पनि परम्परागत प्रणालीले एक दिनअघिको दिने सटीकता बराबर नतिजा दिन सक्छ, विशेषगरी सतही तापक्रम मापनमा।

नयाँ प्रणालीको अर्को विशेषता यसको अपडेट गर्ने गति हो। परम्परागत मोडलहरूले सामान्यतया प्रत्येक ६ घण्टामा पूर्वानुमान अपडेट गर्ने भए पनि वेदरमेस ६ ले हरेक घण्टा नयाँ पूर्वानुमान दिन सक्छ। युरोप र अमेरिकाको मुख्य भूभागमा यसको रिजोल्युसन ३ किलोमिटरसम्म पुगेको कम्पनीको दाबी छ।

परम्परागत मौसम पूर्वानुमान प्रणाली जटिल फिजिक्स मोडलमा आधारित हुन्छन्  जसलाई सञ्चालन गर्न महँगा सुपरकम्प्युटर आवश्यक पर्दछ। एआई आधारित प्रणालीहरू भने तुलनात्मक रूपमा छिटो काम गर्दछन् तर अझै धेरैजसो प्रणालीमा रिजोल्युसन, दीर्घकालीन पूर्वानुमान र धेरै प्रकारका सूचकहरूमा सीमितता देखिन्छ। मौसमसम्बन्धी एआई प्रविधि भने तीव्र रूपमा सुधार भइरहेको छ र विश्वका प्रमुख सरकारी निकायहरूले समेत यसको प्रयोग सुरु गरिसकेका छन्।

विन्डबोर्न सिस्टम्सको बलियो पक्ष भनेको आफ्नै डेटा सङ्कलन संरचना हो। कम्पनीका अनुसार अहिले विश्वभरका १५ स्थानबाट उडाइएका करिब ४०० वटा बलुन कुनै पनि समयमा आकाशमा रहन्छन् जसले निरन्तर सेन्सर रिडिङ सङ्कलन गरिरहेका हुन्छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत John Dean का अनुसार डेटा सेटमा आफ्नो नियन्त्रण नभई एआई आधारित मौसम कम्पनी सञ्चालन गर्ने मोडल आफूलाई स्पष्ट नलाग्ने बताउँछन्।

हालका अधिकांश एआई मौसम प्रणाली ईसीएमडब्लुएफ र अमेरिकी National Oceanic and Atmospheric Administration (NOAA) ले तयार पार्ने डेटासेटमा निर्भर छन्। तर विन्डबोर्न सिस्टम्सले आफ्ना बलुन तथा अन्य स्रोतबाट आउने डेटा सिधै मोडलमा प्रवाह गर्ने प्रणाली विकास गरेको छ। कम्पनीका एआई प्रमुख Joan Creus-Costa का अनुसार यही प्रत्यक्ष डेटा इनजेसन नै नयाँ संस्करण सुधारको मुख्य कारण हो। ट्रान्सफर्मर आधारित मोडललाई स्थिरता कायम राख्दै यस्तो पूर्वानुमान दिन सक्ने बनाउन करिब एक वर्षसम्म ट्युनिङ र पुनः संरचना गरिएको कम्पनीले जनाएको छ।

गत वर्ष कम्पनी एउटा अप्रिय घटनाबाट पनि गुज्रियो। United Airlines को एउटा विमान विन्डबोर्न सिस्टम्सको बलुनसँग ठोक्किएको थियो। विमानमा सामान्य क्षति भए पनि कुनै मानवीय क्षति भएन। त्यसपछि कम्पनीले आफ्ना बलुनमा ADS-B प्रणालीमार्फत लोकेसन पठाउने ट्रान्सपोन्डर जडान गर्न थालेको छ  जसले भविष्यमा यस्ता दुर्घटना कम गर्ने अपेक्षा गरिएको छ।

सन् २०२४ मा ८५ मिलियन डलर मूल्यांकनसहित २५ मिलियन डलर भेन्चर फन्डिङ जुटाएको विन्डबोर्न सिस्टम्सले आफ्नो बलुनबाट सङ्कलित डेटा NOAA, अमेरिकी एयर फोर्स र नेभीलाई बिक्री गरिरहेको छ। कम्पनीले लगानीकर्ता र कमोडिटी ट्रेडरहरूलाई पूर्वानुमान सेवा पनि बेच्ने गरेको छ। तर प्रमुख कार्यकारी अधिकृत Dean का अनुसार कम्पनीको प्राथमिकता अझै पनि व्यावसायिक उत्पादन विस्तारभन्दा मोडल र डेटा पूर्वाधार विकासमै केन्द्रित छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...