काठमाण्डौं — सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले किशोरकिशोरीलाई लक्षित गर्दै नयाँ नियमको परीक्षण थालेको छ। अबदेखि टिनएजर प्रयोगकर्ताले शारीरिक बनोट र मानसिक स्वास्थ्यसँग सम्बन्धित पोस्टहरू बारम्बार देख्ने छैनन्। एन्जाइटी, वेटलिफ्टिङ र न्युट्रिसन जस्ता विषयका सामग्री एकैपटक धेरै मात्रामा देखिँदा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राख्दै माउ कम्पनी मेटाले यस्तो अभ्यास सुरु गरेको हो।
गत वर्ष मात्रै मेटाले टिनएजरहरूलाई यौनिक आशयका सामग्री हेर्नबाट रोक्न केही कदम चालेको थियो। त्यतिबेला मदिरा र हिंसा जस्ता विषयसँग जोडिएका शब्द सर्च गर्न नमिल्ने बनाइएको थियो। कम्पनीले त्यतिखेर किशोरकिशोरीका अकाउन्टलाई ‘पिजी-१३’ रेटिङका चलचित्रसँग तुलना गरेको थियो। तर मोसन पिक्चर एसोसिएसनले भने मेटाको यो दाबीलाई सीधै अस्वीकार गरिदिएको थियो।
पछिल्लो नियमले इन्स्टाग्रामको नीति नै नतोड्ने तर धेरै मात्रामा हेर्दा टिनएजरलाई नकारात्मक असर गर्न सक्ने पोस्टहरूलाई नियन्त्रण गर्न खोजेको छ। मेटाका अनुसार यसमा शरीरको बनोटसँग जोडिएका ‘न्युट्रिसन’ र ‘वेटलिफ्टिङ’ अनि मानसिक स्वास्थ्यसँग जोडिएका ‘एन्जाइटीसँग कसरी जुध्ने’ जस्ता सामग्रीहरू पर्दछन्। यी विषयहरू फिड, एक्सप्लोर र रिल्समा आउँदा अन्य प्रकारका कन्टेन्टहरूसँगै सन्तुलित रूपमा आउन् भन्ने कम्पनीको मुख्य उद्देश्य हो। एउटै विषयवस्तु बारम्बार नदोहोरियोस् भनेर यस्तो गर्न लागिएको हो।
साना उमेरका प्रयोगकर्तालाई एउटै प्रकारको भिडिओ वा पोस्टको लतमा फसाउने (अल्गोरिथमिक र्याबिट होल) गरेको भन्दै इन्स्टाग्राममाथि लामो समयदेखि प्रश्न उठ्दै आएको छ। यस्तो लतले उनीहरूको मानसिक स्वास्थ्य र आत्मसम्मानमा गहिरो चोट पुर्याउने चिन्ता व्यक्त हुने गरेको छ। लस एन्जलसमा सामाजिक सञ्जालको लतसम्बन्धी चलेको एउटा बहुचर्चित सिभिल ट्रायलमा पनि यो विषयले निकै प्राथमिकता पाएको थियो। उक्त मुद्दामा जुरीले मेटाको विपक्षमा फैसला सुनाएका थिए।
इन्स्टाग्राममा मात्र सीमित नभई टिनएजर अकाउन्टहरूका लागि ल्याइएको यो कडा सेटिङलाई मेटाले आफ्ना अन्य प्लेटफर्महरू फेसबुक र मेसेन्जरमा पनि विस्तार गर्ने योजना बनाएको छ। कम्पनीका अनुसार यो नयाँ व्यवस्था यसै वर्षको अन्त्यतिर ती एपहरूमा पनि लागू हुनेछ।
