काठमाण्डौं — एलन मस्कको स्वामित्वमा रहेको सोसल मिडिया प्लेटफर्म एक्स (X) ले आफ्ना प्रयोगकर्ताका लागि ‘रियाक्ट विथ भिडिओ’ (React with Video) नामक नयाँ फिचर सार्वजनिक गरेको छ। मंगलबार ल्याइएको यो फिचरले प्लेटफर्ममा हुने अन्तरक्रिया र कमेन्ट गर्ने शैलीलाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ।
कम्पनीले यसलाई ‘रिपोस्ट’ (Repost) बटनको विकल्पको रूपमा प्रस्तुत गरेको छ। अब प्रयोगकर्ताले अरूको पोस्ट सेयर गर्न वा ‘कोट पोस्ट’ (Quote Post) मार्फत लेखेर मात्र प्रतिक्रिया दिनु पर्दैन सीधै आफ्नो भिडिओ रेकर्ड गरेरै जवाफ फर्काउन सक्नेछन्।
खासगरी अरूको कन्टेन्टमा टिप्पणी गरेर आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने क्रिएटर (Creator) हरूलाई लक्षित गर्दै यो फिचर ल्याइएको प्रस्ट देखिन्छ। समसामयिक घटनाक्रम वा राजनीतिमा तत्काल आफ्नो धारणा राखेर भाइरल हुन चाहने न्युज इन्फ्लुएन्सरहरूका लागि एक्सको यो नयाँ फिचर निकै उपयोगी हुन सक्दछ।
नयाँ फिचरबारे जानकारी दिँदै एक्सका हेड अफ प्रडक्ट निकिता बियरले भनेका छन् “एक्सको सबैभन्दा महत्त्वपूर्ण आधार नै कमेन्ट्री (Commentary) हो। अनि कतिपय अवस्थामा आफ्नो विचार राख्ने सबैभन्दा राम्रो माध्यम भिडिओ नै हुन्छ।”
कम्पनीका अनुसार यो फिचर हाल आईओएस (iOS) प्रयोगकर्ताका लागि उपलब्ध छ। चाँडै नै यसलाई एन्ड्रोइड (Android) र वेब (web) मा पनि विस्तार गरिने एक्सले जनाएको छ।
यस विषयमा एक्सका एक प्रवक्ताले यो फिचरले क्रिएटर र दर्शकबीच जोडिने नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्। अब क्रिएटरहरूले दर्शकको अनुहारको हाउभाउ र बोल्ने शैलीसहितको जीवन्त प्रतिक्रिया पाउन सक्नेछन्। सँगसँगै यस्ता भिडिओ रियाक्सनमार्फत उनीहरू आफैं पनि संवादको महत्त्वपूर्ण हिस्सा बन्न सक्नेछन्।
पछिल्ला केही महिनायता एक्सले क्रिएटरहरूलाई प्रत्यक्ष प्रभाव पार्ने थुप्रै फेरबदल गरिरहेको छ। प्रयोगकर्ताबीचको प्रत्यक्ष संवादलाई बढावा दिन भन्दै कम्पनीले गत अप्रिलमा ‘कम्युनिटीज’ (Communities) फिचर बन्द गर्ने घोषणा गरेको थियो। साथै क्रिएटरहरूसँगको ‘रेभिन्यु सेयरिङ’ (revenue-sharing) प्रोग्राममा पनि परिवर्तन गर्ने प्रयास भएको थियो जसको तीव्र विरोध भएपछि कम्पनी केही निर्णयबाट पछि हट्दै त्यसलाई परिमार्जन गर्न बाध्य भयो।
यसबाहेक एक्सले क्रिएटरहरूका लागि ‘पेड पार्टनरसिप’ (Paid Partnership) लेबलसमेत सुरु गरिसकेको छ भने पोस्टलाई सिधै प्रडक्टसँग जोड्ने नयाँ विज्ञापन फर्म्याटहरूको परीक्षण पनि गरिरहेको छ।
त्यस्तै ‘क्रिएटर सब्स्क्रिप्सन’ (Creator Subscriptions) फिचरलाई पनि नयाँ रूप दिइएको छ। यसमा अब ‘एक्सक्लुसिभ थ्रेड’ (exclusive threads) र ‘सेयरेबल कार्ड’ (shareable cards) जस्ता सुविधाहरू थपिएका छन्। गत अप्रिलमा एक्सले ‘क्लिकबेट’ (clickbait) नियन्त्रण गर्न भन्दै कम गुणस्तरका सामग्री राख्ने अकाउन्टहरूको भुक्तानी (payouts) कटौती गर्ने कडा कदम पनि चालेको थियो।
