काठमाण्डौं — माइक्रोसफ्टले ओपनक्लोबाट प्रेरित नयाँ एआई असिस्टेन्ट ‘स्काउट’ सार्वजनिक गरेको छ। माइक्रोसफ्ट ३६५ इकोसिस्टमभित्र काम गर्ने गरी बनाइएको यो असिस्टेन्ट प्रयोगकर्तासँगै निरन्तर काम गर्ने, सिक्ने र समयसँगै आफूलाई अनुकूल बनाउँदै लैजाने दाबी कम्पनीको छ।
सन् २०२६ को सुरुआती साताहरूमा ओपनक्लोले एआई क्षेत्रमा तीव्र चर्चा कमाएको थियो। नियन्त्रणरहित एआई एजेन्टको अवधारणालाई व्यापक बहसमा ल्याएको यो परियोजनाको गति पछि कम भए पनि त्यसको प्रभाव भने अझै देखिइरहेको छ। त्यसको प्रत्यक्ष प्रभाव माइक्रोसफ्टको नयाँ उत्पादनमा पनि देखिन्छ।
स्काउट ओपनक्लो फ्रेमवर्कमा आधारित ‘अलवेज अन’ एजेन्टिक असिस्टेन्ट हो। प्रयोगकर्ताले आफ्नो स्काउट इन्स्ट्यान्सलाई आफैं नाम दिन सक्नेछन् र त्यसलाई निरन्तर प्रतिक्रिया दिँदै विभिन्न कामहरू स्वचालित बनाउन सिकाउन सक्नेछन्।
स्काउटका उपाध्यक्ष ओमार शाहिनका अनुसार यसको मुख्य उद्देश्य प्रयोगकर्ताको काम गर्ने शैलीअनुसार आफूलाई अनुकूल बनाउने असिस्टेन्ट तयार गर्नु हो। उनका अनुसार मानिसहरूको काम गर्ने आफ्नै बानी, शैली र प्रक्रियाहरू हुन्छन् र ती व्यवहारहरू एजेन्टभित्र मेमोरिज तथा स्किल्सका रूपमा सुरक्षित हुँदै जान्छन्। समयसँगै यसले प्रयोगकर्तालाई अझ राम्रोसँग बुझ्ने र बढी निर्णय क्षमता विकास गर्ने उनले बताएका छन्।
स्काउट सुरुमा माइक्रोसफ्टको फ्रन्टियर कार्यक्रममार्फत उपलब्ध हुनेछ जहाँ प्रयोगकर्ताले कम्पनीका प्रयोगात्मक उत्पादनहरूमा प्रारम्भिक पहुँच पाउँछन्। यसको प्रयोगका लागि गिटहब कोपाइलट सब्स्क्रिप्सन आवश्यक पर्नेछ।
यो प्रणाली क्लाउडमा आधारित भए पनि डेस्कटप र वेब ब्राउजर दुवैमार्फत सञ्चालन हुनेछ। यसले इनबक्स, क्यालेन्डर तथा अन्य प्रणालीसँग सजिलै जडान गर्न सक्ने माइक्रोसफ्टले जनाएको छ। सुरुमा क्यालेन्डर व्यवस्थापन, मिटिङ एजेन्डा तयार गर्ने लगायतका केही तयार स्किल्स उपलब्ध हुनेछन्।
तर शाहिनका अनुसार स्काउटको वास्तविक शक्ति प्रयोगकर्ताले आफैं विकास गर्ने नयाँ स्किल्स मा हुनेछ। प्रयोगकर्ताको व्यवहारबाट सिक्दै जाने र समयसँगै क्षमता बढाउने यही मोडेलले हालका कन्ज्युमर एआई टुलहरूलाई बढी प्रयोगयोग्य बनाएको उनीहरूको विश्वास छ।
सुरक्षालाई ध्यानमा राख्दै स्काउटमा विभिन्न सुरक्षा तहहरू पनि समावेश गरिएको माइक्रोसफ्टले जनाएको छ। ओपनक्लो प्रयोगका क्रममा यस वर्ष सुरुमै केही एजेन्टहरूले अनियन्त्रित व्यवहार देखाएको एउटा अनुसन्धानकर्ताको इनबक्सभित्र असामान्य गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि यस्ता चिन्ता बढेका थिए।
त्यसलाई ध्यानमा राख्दै स्काउटमा पोलिसी कन्फर्मेन्स सिस्टम समावेश गरिएको छ जसले प्रणाली पूर्वनिर्धारित निर्देशिकाअनुसार सञ्चालन भइरहेको छ कि छैन भन्ने निरन्तर जाँच गर्नेछ। प्रत्येक जाँचको छुट्टै अडिट ट्रेल पनि तयार हुनेछ।
स्काउट माइक्रोसफ्टले आफ्नो वार्षिक बिल्ड डेभलपर सम्मेलनमा सार्वजनिक गरेका एआई उत्पादनहरूमध्येको एक हो। यससँगै कम्पनीले हार्डवेयर केन्द्रित प्रोजेक्ट सोलारा, कोपाइलट अपडेट तथा नयाँ रिजनिङ एआई मोडल पनि सार्वजनिक गरेको छ।
