काठमाण्डौं — गुगलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण ‘एन्ड्रोइड १७’ र स्मार्टवाचका लागि ‘वेर ओएस ७’ सार्वजनिक गरेको छ। मङ्गलबार रिलिज भएको यो नयाँ अपडेट सबैभन्दा पहिले गुगलका आफ्नै पिक्सेल डिभाइसहरूमा उपलब्ध हुनेछ। यसपटक एन्ड्रोइडमा मल्टिटास्किङलाई थप सहज बनाउनुका साथै जेमिनाइ एआईका कैयौं नयाँ सुविधाहरू थपिएका छन्।
‘पिक्सेल ड्रप’ सँगै आएको यो अपडेटमा गुगलले आफ्ना पछिल्ला एआई मोडलहरूलाई प्रमुख प्राथमिकतामा राखेको छ। जसमा म्युजिक जेनेरेसन मोडल ‘लिरिया ३’, मल्टीमोडल ‘जेमिनाइ ओम्नी’ र पिक्सेल १० ए स्मार्टफोनका लागि ‘अडियोएलएम’ सहितको स्पिच-टु-ट्रान्सलेसन टुल समावेश छन्।
आउँदो सेप्टेम्बरमा एप्पलले सिरी र आईओएस २७ मार्फत ल्याउन लागेको एआई अपग्रेडलाई टक्कर दिन गुगलले यो कदम चालेको प्रस्ट देखिन्छ। गुगलको मुख्य ध्यान अहिले जेमिनाइ एआईलाई प्रयोगकर्ताको दैनिक सञ्चार र क्रिएसनमा कसरी जोड्ने भन्नेमै केन्द्रित छ।
एप्पलको एयरड्रपमा सिधै फाइल पठाउन मिल्ने
नयाँ अपडेटसँगै पिक्सेल ८ ए र ९ ए प्रयोगकर्ताले अब एन्ड्रोइडको ‘क्विक सेयर’ बाट सिधै एप्पलको ‘एयरड्रप’ मा फाइल पठाउन सक्नेछन्। त्यसैगरी जेमिनाइ ओम्नीको मद्दतले अब एआईसँग कुराकानी गरेकै भरमा भिडिओ एडिट गर्न सकिनेछ। जेमिनाइ एपमा टेक्स्ट वा तस्बिर प्रम्प्ट दिएर ‘लिरिया ३’ मार्फत म्युजिक ट्र्याकहरू आफैं बनाउन मिल्ने गज्जबको सुविधा पनि यसमा छ।
फोनमा कल उठाउन नसक्ने अवस्थामा कलरलाई सुनाउनका लागि पर्सनलाइज्ड अडियो म्यासेज रेकर्ड गर्न मिल्ने सुविधा पनि गुगलले थपेको छ। यसबाहेक ‘टेक अ म्यासेज’ फिचरलाई विश्वका थप बजारहरूमा विस्तार गरिएको छ।
यता पिक्सेल वाचमा भने इमर्जेन्सी डिटेक्सन फिचर दिइएको छ। प्रयोगकर्ता दुर्घटनामा परेमा, लडेमा वा पल्स नभेटिएमा घडीले आफैं इमर्जेन्सी सर्भिस र तोकिएका कन्ट्याक्ट पर्सनलाई खबर गरिदिन्छ।
मल्टिटास्किङका लागि ‘बबल बार’ र नयाँ सेक्युरिटी फिचर
एआईबाहेक एन्ड्रोइड १७ को मुख्य आकर्षण भनेको ‘बबल बार’ हो। स्क्रिनको तलपट्टि बबलको रूपमा देखिने यो नयाँ युजर इन्टरफेसले रिसेन्ट एपहरूलाई मिलाएर राख्न र छिटो चलाउन मद्दत गर्दछ। यसले गर्दा एकैपटक धेरै एप चलाउने प्रयोगकर्तालाई काम गर्न छिटो हुनेछ।
सामाजिक सञ्जालका पारखीहरूका लागि पनि आकर्षक फिचर ल्याइएको छ अब फोनको स्क्रिन र फ्रन्ट क्यामेराबाट एकैपटक भिडिओ रेकर्ड गर्न मिल्नेछ। टिकटक, युट्युब वा इन्स्टाग्रामका लागि रियाक्सन भिडिओ बनाउन यो निकै उपयोगी हुनेछ।
सेक्युरिटी र प्यारेन्टल कन्ट्रोलतर्फ ‘फाइन्ड हब’ मा ‘मार्क एज लस्ट’ र ‘लाइभ थ्रेट डिटेक्सन’ जस्ता फिचर थपिएका छन्। अब गुगल अकाउन्टबिनै पिन राखेर कन्टेन्ट फिल्टरिङ र स्क्रिन टाइम लिमिट तोक्न सकिनेछ। फोल्डेबल फोन प्रयोगकर्ताका लागि भने डाइनामिक गेम प्याडसहितको ५०/५० लेआउट भएको नयाँ गेमिङ मोड उपलब्ध छ।
स्मार्टवाचमा थप सुधार र ब्याट्री लाइफ
स्मार्टवाच प्रयोगकर्ताहरूले अब फोनका एपहरूबाट लाइभ अपडेट सिधै वाचमै हेर्न सक्नेछन्। वेर ओएस ७ भएको यो वाच गुगलले भविष्यमा ल्याउने एआई चस्मा र हेडफोनहरूसँग पनि सहजै कनेक्ट हुनेछ।
गुगलका अनुसार आउँदो गर्मीयाममा वेर ओएसमा थप जेमिनाइ इन्टेलिजेन्स फिचरहरू आउनेछन्। जसमा बोलेरै (डिस्क्राइब गरेर) पर्सनलाइज्ड विजेट बनाउने र गुगल एप्स तथा च्याट हिस्ट्रीलाई जेमिनाइसँग जोडेर ‘पर्सनल इन्टेलिजेन्स’ दिने सुविधा हुनेछ। नयाँ अपडेटले मल्टिस्टेप अटोमेसनलाई सपोर्ट गर्नुका साथै वेर ओएसको ब्याट्री लाइफ १० प्रतिशतसम्म बढाउने दाबी गुगलको छ।
