काठमाण्डौं — परीक्षामा हुन सक्ने अनियमिततालाई रोक्न भन्दै भारत सरकारले म्यासेजिङ एप टेलिग्राम (Telegram) माथि एक साताको प्रतिबन्ध लगाएपछि त्यहाँ भीपीएन (VPN) र अन्य वैकल्पिक एपहरू प्रयोग गर्नेको संख्या ह्वात्तै बढेको छ।
एप इन्टेलिजेन्स कम्पनी ‘एपफिगर्स’ (Appfigures) ले दिएको जानकारीअनुसार भारतले टेलिग्राममाथि रोक लगाएको घोषणा गरेको दिन (मंगलबार) सन् २०२५ यताकै सबैभन्दा धेरै भीपीएन एप डाउनलोड भएको छ। प्रमुख भीपीएन एपहरूको डाउनलोड दैनिक औसत १ लाख ३९ हजारबाट ४९ प्रतिशतले बढेर २ लाख ८ हजार पुगेको छ।
विशेषगरी प्रोटोन भीपीएन (Proton VPN) र टर्बो भीपीएन (Turbo VPN) को डाउनलोडमा ठूलो वृद्धि देखिएको छ। भारतको एप्पल ‘एप स्टोर’ (App Store) मा प्रोटोन भीपीएनको डाउनलोड ११३ प्रतिशत र टर्बो भीपीएनको ८५ प्रतिशतले बढेको छ। त्यस्तै ‘गुगल प्ले’ (Google Play) मा प्रोटोन भीपीएन ६४ प्रतिशत र टर्बो भीपीएन ३५ प्रतिशतले उकालो लागेको छ। नोर्ड भीपीएन (NordVPN) को एप स्टोर डाउनलोड ४१ प्रतिशत र एक्सप्रेस भीपीएन (ExpressVPN) को गुगल प्ले डाउनलोड ३१ प्रतिशतले बढेको तथ्याङ्क छ।
यसले गर्दा एप स्टोरको र्याङ्किङमा पनि यी एपहरू निकै माथि उक्लिएका छन्। एपफिगर्सका अनुसार जुन १६ देखि १८ को बीचमा एप्पलको युटिलिटिज र्याङ्किङमा प्रोटोन भीपीएन १८औं स्थानबाट ५औं स्थानमा पुगेको छ भने गुगल प्लेको टुल्स क्याटेगोरीमा ८औं बाट दोस्रो स्थानमा उक्लिएको छ।
प्रतिबन्धको कारण र अदालतको फैसला
भारतको सबैभन्दा ठूलो प्रवेश परीक्षा ‘नीट’ (NEET) को पुनः परीक्षा हुनुअघि ठगहरूले उम्मेदवारहरूलाई लक्षित गर्न टेलिग्राम प्रयोग गरिरहेको आशंकामा सरकारले जुन २२ सम्मका लागि यो एपमाथि अस्थायी रोक लगाएको हो। नक्कली प्रश्नपत्र र परीक्षासम्बन्धी ठगी रोक्न यस्तो कदम चालिएको सरकारको भनाइ छ। टेलिग्रामले भने पूरै प्लेटफर्म बन्द गर्नुको साटो निश्चित कन्टेन्ट मात्र हटाउनुपर्ने तर्क गर्दै दिल्ली उच्च अदालतमा आदेशलाई चुनौती दिएको थियो। तर अदालतले शुक्रबार सरकारकै प्रतिबन्धलाई सदर गरिदिएको छ।
दिल्ली उच्च अदालतमा भएको सुनुवाइमा टेलिग्रामका वकिलहरूले सरकारले पहिचान गरेका च्यानलहरू हटाइसकिएको दाबी गर्दै भारतका १५ करोडभन्दा बढी प्रयोगकर्तालाई असर पर्ने गरी पूरै प्लेटफर्ममा रोक लगाउनुको औचित्यमाथि प्रश्न उठाएका थिए। जवाफमा भारतका सोलिसिटर जनरल तुषार मेहताले अस्थायी प्रतिबन्ध नीट परीक्षासँग जोडिएको र यो तार्किक रहेको जिकिर गरेका थिए।
भीपीएन कम्पनीहरूको डेटाले के देखाउँछ?
प्रतिबन्धको असर एप स्टोरको तथ्याङ्कमा मात्र सीमित छैन। प्रोटोनले बुधबार भारतबाट हुने दैनिक रजिस्ट्रेसन सामान्य अवस्थाभन्दा १२० प्रतिशतले बढेको जनाएको छ। टेलिग्राम प्रतिबन्धको घोषणा लगत्तै मंगलबार साँझ प्रतिघण्टाको रजिस्ट्रेसनमै १५० प्रतिशतको उछाल आएको थियो।
क्यानडेली भीपीएन सेवा प्रदायक विन्डस्क्राइब (Windscribe) ले पनि यस्तै ट्रेन्ड देखेको छ। कम्पनीका अनुसार भारतबाट हुने साइनअप झन्डै १०० प्रतिशतले र आईओएस (iOS) एपको पहिलो पटकको डाउनलोड ८९ प्रतिशतले बढेको छ। विन्डस्क्राइबकी ग्रोथ अपरेसन म्यानेजर रेबेका रोजेनबर्गले इन्टरनेट पहुँचमा रोक लगाइँदा वा कुनै एप प्रतिबन्धित हुँदा यस्तै ट्रेन्ड देखिने गरेको बताइन्।
सर्फसार्क (Surfshark) ले पनि भारतबाट हुने कनेक्टिभिटीमा करिब ३० प्रतिशतले वृद्धि भएको जनाएको छ। सेन्सर टावर (Sensor Tower) का अनुसार जुन १७ मा भारतभर समग्र भीपीएन एप क्याटेगोरीको डाउनलोड अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढेको छ। नोर्ड भीपीएनकी प्राइभेसी एड्भोकेट लौरा टिरिलाइटका अनुसार मानिसहरूले भर परेको कुनै टुल एक्कासी बन्द हुँदा उनीहरूले तुरुन्तै विकल्प खोज्ने गर्छन्।
सिग्नल, भाइबर र आईमीतर्फ आकर्षण
प्रयोगकर्ताहरूले टेलिग्रामको विकल्पका रूपमा अन्य म्यासेजिङ एप पनि धमाधम डाउनलोड गरिरहेका छन्। एपफिगर्सका अनुसार प्रतिबन्धपछि भारतमा सिग्नल (Signal) को डाउनलोड एप्पल एप स्टोरमा ७२ प्रतिशत र गुगल प्लेमा ३२२ प्रतिशतले बढेको छ। भाइबर (Viber) को एप स्टोर डाउनलोड २१६ प्रतिशतले उकालो लागेको छ।
सबैभन्दा ठूलो उछाल भने टेलिग्रामसँग जोडिएको म्यासेजिङ एप आईमी (iMe) मा देखिएको छ। यसको गुगल प्ले डाउनलोड दैनिक औसत ८२७ बाट बढेर जुन १६ मा एकैदिन ५०,९०० पुगेको थियो।
टेलिग्रामको प्रयोग भने घटेन
चाखलाग्दो कुरा त के छ भने प्रतिबन्ध लाग्नेबित्तिकै टेलिग्रामको प्रयोग कम भएको छैन। सेन्सर टावरका अनुसार प्रतिबन्ध घोषणा भएको दिन भारतमा टेलिग्रामका दैनिक सक्रिय प्रयोगकर्ता (Daily active users) १७ प्रतिशतले बढेका थिए। सन् २०२१ मा मेटा (Meta) का सेवाहरू विश्वव्यापी रूपमा अवरुद्ध भएयताकै यो सबैभन्दा ठूलो एकदिने वृद्धि हो।
क्लाउडफ्लेयर राडार (Cloudflare Radar) का प्रमुख लाई यी ओल्सेनले प्रतिबन्धपछिका दुई दिन भारतमा टेलिग्राम डोमेनका लागि डीएनएस (DNS) रिक्वेस्ट तीव्र रूपमा बढेको बताए। तर यो वृद्धिले प्रयोगकर्ताहरूले एपमा सफलतापूर्वक पहुँच पाएको भन्दा पनि प्रतिबन्धपछि पटक पटक खोल्न प्रयास गरेको हुनसक्ने कम्पनीको भनाइ छ।
सर्फसार्कको इन्टरनेट सटडाउन ट्रयाकरका अनुसार हाल १३ वटा देशमा टेलिग्राम प्रतिबन्धित छ भने अन्य ४० भन्दा बढी देशमा यसले विभिन्न समयमा अवरोध झेल्नुपरेको छ। सेन्सर टावरका अनुसार सन् २०२५ मा अमेरिकामा टिकटकमाथि छोटो समयका लागि रोक लाग्दा पनि त्यहाँ भीपीएन डाउनलोड ४० प्रतिशतले बढेको थियो। रुस र इरानमा पनि इन्टरनेट प्रतिबन्ध हुँदा यस्तै अवस्था देखिएको थियो।
