Tekmandu

नेपालमा ५जी प्रयोगकर्ता अझै सीमित, तर परीक्षण र विस्तारका लागि पर्याप्त छन् ५जी मोबाइल

काठमाण्डौं —  नेपालमा ५जी सेवा विस्तारको बहस तीव्र बन्दै गए पनि हाल प्रयोगमा रहेका मोबाइल उपकरणमध्ये ५जी अनुकूल डिभाइसको हिस्सा १९.४ प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ। यद्यपि विज्ञहरूका अनुसार यो संख्या ५जी परीक्षण तथा प्रारम्भिक व्यावसायिक विस्तारका लागि पर्याप्त रहेको मानिन्छ।

उपलब्ध तथ्यांकअनुसार नेपालमा प्रयोग भइरहेका मोबाइल उपकरणमध्ये ६६.४ प्रतिशत ४जी, १९.४ प्रतिशत ५जी तथा १४.२ प्रतिशत २जी/३जी प्रविधिमा आधारित छन्। काठमाडौं उपत्यकाभित्र भने ५जी अनुकूल  मोबाइल ह्यान्डसेटको हिस्सा करिब १४ प्रतिशत रहेको तथ्यांक छ। उपत्यका देशको सबैभन्दा ठूलो दूरसञ्चार बजार भएकाले प्रारम्भिक ५जी सेवाका लागि पर्याप्त प्रयोगकर्ता आधार रहेको विश्लेषण गरिएको छ।

५जीका विभिन्न स्पेक्ट्रम ब्यान्डमध्ये सी-ब्यान्डसँग मिल्ने उपकरणको हिस्सा सबैभन्दा बढी रहेको देखिएको छ। नेपालमा प्रयोग भइरहेका ५जी अनुकूल उपकरणमध्ये ९७.२ प्रतिशत सी-ब्यान्डमा सञ्चालन गर्न सकिने छन्। त्यस्तै  २१०० मेगाहर्ज ब्यान्डसँग अनुकूल उपकरणको हिस्सा ९२.१ प्रतिशत, ७०० मेगाहर्जमा ८६.६ प्रतिशत, २६०० मेगाहर्जमा ८१.६ प्रतिशत तथा २३०० मेगाहर्जमा ७८.२ प्रतिशत रहेको छ।

दूरसञ्चार क्षेत्रका जानकारहरूका अनुसार सी-ब्यान्डसँग यति उच्च स्तरको उपकरण अनुकूलता हुनु नेपालका लागि सकारात्मक पक्ष हो। विश्वभर प्रयोग भइरहेका अधिकांश आधुनिक ५जी स्मार्टफोनले सी-ब्यान्ड समर्थन गर्ने भएकाले नेपालले यो ब्यान्डमा ५जी सेवा विस्तार गर्दा उपकरणसम्बन्धी ठूलो चुनौती व्यहोर्नु नपर्ने देखिन्छ।

विश्लेषकहरूका अनुसार काठमाडौं उपत्यकामा मात्र लाखौंको संख्यामा ५जी समर्थित मोबाइल उपकरण प्रयोगमा रहेकाले ५जी परीक्षण सञ्चालन गर्न वा सीमित क्षेत्रबाट व्यावसायिक सेवा सुरु गर्न आवश्यक उपकरण आधारको अभाव छैन। बरु अहिलेको चुनौती स्पेक्ट्रम व्यवस्थापन, व्यवसायिक मोडेल र लगानी प्रतिफलसँग सम्बन्धित रहेको उनीहरूको भनाइ छ।

तथ्यांकले ४जी प्रविधिको उपकरण इकोसिस्टम अझै निकै बलियो रहेको पनि देखाएको छ। २१०० मेगाहर्जको एलटीई ब्यान्डसँग ९९.७ प्रतिशत, १८०० मेगाहर्जसँग ९९.६ प्रतिशत तथा ९०० मेगाहर्जसँग ९७ प्रतिशत उपकरण अनुकूल रहेको पाइएको छ। यसले निकट भविष्यमा ४जी सेवा नै दूरसञ्चार सेवाको मुख्य आधार रहने संकेत गर्दछ।

विज्ञहरूका अनुसार नेपालमा तत्कालै देशव्यापी ५जी विस्तार आवश्यक नभए पनि उपलब्ध ५जी ह्यान्डसेट संख्या र उपकरण इकोसिस्टमलाई हेर्दा परीक्षण तथा चरणबद्ध व्यावसायिक सेवा विस्तारका लागि बजार पर्याप्त रूपमा तयार भइसकेको छ। विशेषगरी सी-ब्यान्ड र २१०० मेगाहर्ज ब्यान्डमा आधारित ५जी सेवाले प्रारम्भिक चरणमै ठूलो संख्याका प्रयोगकर्तालाई समेट्न सक्ने देखिएको छ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...