Tekmandu

स्टारलिङ्कसँग प्रतिस्पर्धामा रिलायन्स, आफ्नै स्याटेलाइट इन्टरनेट नेटवर्क बनाउने

काठमाडौं — भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको समूह रिलायन्स इन्डस्ट्रिजले अब अन्तरिक्षबाट इन्टरनेट सेवा विस्तार गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मुकेश अम्बानीले भारतका लागि आफ्नै ‘सार्वभौम’ लो-अर्थ अर्बिट (एलईओ) स्याटेलाइट कन्स्टेलेसन निर्माण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। यो योजना कार्यान्वयनमा आएमा भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारमा स्टारलिङ्कसँग प्रत्यक्ष प्रतिस्पर्धा हुने देखिएको छ।

गत शुक्रबार रिलायन्स इन्डस्ट्रिजको वार्षिक साधारण सभामा बोल्दै अम्बानीले कम्पनीको डिजिटल प्रविधि इकाइ जियो प्लेटफर्म्सको बहुप्रतीक्षित आईपीओ प्रक्रिया औपचारिक रूपमा सुरु भएको घोषणा गरेका थिए। तर आईपीओभन्दा बाहिर पनि उनले दूरसञ्चार, मिडिया, एआई र स्याटेलाइट सञ्चारसँग सम्बन्धित थुप्रै योजनाबारे जानकारी दिएका थिए।

अम्बानीका अनुसार जियोले अहिलेसम्म जमिनमार्फत भारतलाई जोड्ने काम गरिसकेको छ अब आकाशमार्फत देशलाई जोड्ने लक्ष्य राखिएको छ। उनले भारतका दुर्गम गाउँ, टापु क्षेत्र र सीमावर्ती चौकीसम्म अझै पनि पर्याप्त नेटवर्क पहुँच नपुगेको उल्लेख गर्दै त्यस्ता स्थानमा स्याटेलाइट कनेक्टिभिटी प्रभावकारी विकल्प बन्न सक्ने बताए।

“जियोले भारतलाई जमिनमा जोड्यो, अब हामीले आकाशबाट भारतलाई जोड्नुपर्छ,” उनले सभामा भनेका थिए।

रिलायन्सले आफ्नै एलईओ स्याटेलाइट नेटवर्क निर्माण गर्ने योजना अघि बढाइरहे पनि यस्तो पूर्वाधार निर्माणमा अझै केही वर्ष लाग्नेछ। त्यस अवधिसम्म सेवा विस्तारलाई तीव्र बनाउन कम्पनीले विश्वका प्रमुख स्याटेलाइट कन्स्टेलेसन प्रदायकहरूसँग साझेदारी गर्दै स्याटेलाइट क्षमता भाडामा लिने रणनीति अपनाउने जनाएको छ।

यद्यपि अम्बानीले कुनै साझेदारको नाम खुलाएनन्। रिलायन्सले यसअघि स्टारलिङ्कसँग सम्झौता गरिसकेको छ  जसअनुसार आवश्यक सरकारी अनुमति प्राप्त भएपछि स्टारलिङ्कको स्याटेलाइट ब्रोडब्यान्ड सेवा भारतभर आफ्ना ग्राहकलाई उपलब्ध गराउने तयारी गरिएको छ।

अर्कोतर्फ  स्टारलिङ्क स्वयं पनि भारतमा सकेसम्म छिटो सेवा विस्तार गर्ने योजनामा छ। कम्पनीले प्रत्यक्ष बिक्रीसँगै साझेदारमार्फत सेवा वितरण गर्ने रणनीति अपनाएको छ। यसका लागि उसले भारतको दोस्रो ठूलो टेलिकम अपरेटर भारती एयरटेलसँग समेत सहकार्य गरेको छ।

भारतमा स्याटेलाइट सञ्चार सेवाको लाइसेन्स प्राप्त गरेपछि पनि सञ्चालन सुरु गर्न थप सुरक्षा स्वीकृति आवश्यक पर्न सक्ने चर्चा भइरहेका बेला भारतीय कम्पनीद्वारा सञ्चालित ‘सार्वभौम’ स्याटेलाइट नेटवर्कलाई यसले फाइदा पुग्न सक्ने विश्लेषण गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार रिलायन्सले १,६५० वटा एलईओ स्याटेलाइट सञ्चालन गर्ने योजना बनाएको छ। यो नेटवर्कले सम्पूर्ण भारतमा स्याटेलाइट ब्रोडब्यान्ड सेवा उपलब्ध गराउनुका साथै ‘डाइरेक्ट-टु-डिभाइस (डी२डी)’ सेवा पनि दिनेछ। डी२डी प्रविधिबाट जमिनमा आधारित मोबाइल नेटवर्क नपुगेका क्षेत्रमा समेत सामान्य स्मार्टफोन सिधै स्याटेलाइटसँग जोडिन सक्नेछन्।

रिलायन्सको एलईओ नेटवर्क निर्माणका लागि १० अर्बदेखि १५ अर्ब डलरसम्म लगानी छुट्याउने तयारी भइरहेको बताइएको छ। अम्बानीले सन् २०३० को दशक सुरु हुनुअघि नै यो अन्तरिक्ष नेटवर्क सञ्चालनमा ल्याउने लक्ष्य राखेका छन्।

स्याटेलाइट नेटवर्क निर्माणसँगै जियोले भारतभर आफ्नै ग्राउन्ड स्टेशन पूर्वाधार पनि विकास गरिरहेको छ। यी ग्राउन्ड स्टेशनले साझेदार स्याटेलाइट नेटवर्क र भविष्यमा सञ्चालन हुने रिलायन्सका आफ्नै स्याटेलाइट दुवैलाई सहयोग गर्नेछन्। कम्पनीका अनुसार यसले अन्तरिक्षदेखि जमिनसम्मको पूर्ण स्याटेलाइट ब्रोडब्यान्ड इकोसिस्टम निर्माण गर्ने आधार तयार पार्नेछ।

अम्बानीले यस्तो रणनीतिले भारतको डिजिटल कनेक्टिभिटी आवश्यकता छिटो पूरा गर्नुका साथै विश्वस्तरको भारतीय स्याटेलाइट ब्रोडब्यान्ड प्लेटफर्म निर्माण गर्न मद्दत गर्ने दाबी गरेका छन्। उनका अनुसार यो पहलले अन्तरिक्ष क्षेत्रमा भारतको  आत्मनिर्भरतालाई थप मजबुत बनाउनेछ।

रिलायन्सको आर्थिक क्षमता पनि यस्तो महत्वाकांक्षी योजना अघि बढाउन पर्याप्त देखिन्छ। जियो प्लेटफर्म्सको आईपीओमार्फत कम्पनीले करिब ४ अर्ब डलर उठाउने अपेक्षा गरेको छ। सार्वजनिक निष्कासनमा कम्पनीको कुल इक्विटीको केवल २.५ प्रतिशत हिस्सा मात्र बजारमा ल्याइनेछ।

मार्च २०२६ मा समाप्त आर्थिक वर्षमा जियो प्लेटफर्म्सले १५.५ अर्ब डलर आम्दानी गरेको थियो  जुन अघिल्लो वर्षको तुलनामा १४.६ प्रतिशत बढी हो। सोही अवधिमा कम्पनीको ईबिट्डा १८.८ प्रतिशतले बढेर ८ अर्ब डलर पुगेको थियो भने करपछिको नाफा १५.१ प्रतिशत वृद्धि हुँदै ३.२ अर्ब डलरभन्दा माथि पुगेको थियो।

बलियो वित्तीय अवस्था, विशाल ग्राहक आधार र स्याटेलाइट क्षेत्रमा बढ्दो लगानीका कारण रिलायन्स अब भारतको अन्तरिक्ष आधारित इन्टरनेट बजारमा निर्णायक खेलाडी बन्ने तयारीमा देखिएको छ।

सम्बन्धित समाचार

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

काठमाडौं — एप्पलले आफ्ना प्रयोगकर्ताको अनलाइन पहिचान गोप्य राख्न ल्याएको 'हाइड माई इमेल' (Hide My Email) फिचरमा एउटा गम्भीर कमजोरी...
ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

काठमाडौं — लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ 'युजरनेम' (username) फिचरले अहिले नै सुरक्षा चि...
‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

काठमाडौं — इन्टरनेटको आधार बनेको टीसीपी/आईपी (TCP/IP) प्रोटोकल विकासमा निर्णायक भूमिका खेलेका तथा 'इन्टरनेटका पिता' का रूपमा परिचि...
नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

काठमाडौं — नेपाल टेलिकम (NTC) ले ‘सजिलो अनलिमिटेड’ र ‘नमस्ते रिकरिङ’ जस्ता प्याकेज बजारमा ल्याएको छ। निजी क्षेत्रको एनसेल (Ncell) ...