काठमाडौं — अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ सम्म अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमा उतार्ने लक्ष्यसहित आफ्नो आर्टेमिस कार्यक्रमको योजनामा महत्त्वपूर्ण फेरबदल गरेको छ। चन्द्रमामा अवतरण गर्ने यानको तयारीलाई तीव्र बनाउन नासाले स्पेसएक्स र ब्लु ओरिजिनका योजनामा नयाँ व्यवस्था अघि सारेको छ भने ओरियन अन्तरिक्षयानको लामो समयदेखिको प्राविधिक समस्या समाधान गर्ने दिशामा पनि काम थालेको छ।
विस्तृत पत्रकार सम्मेलनमा नासाले चन्द्रमामा मानवलाई पुनः पुर्याउने योजनाको खाका सार्वजनिक गरेको हो। यसअघि विभिन्न सञ्चारमाध्यममा यी योजनाका केही विवरण सार्वजनिक भए पनि यसपटक नासाले पहिलोपटक समग्र योजनालाई विस्तृत रूपमा प्रस्तुत गर्दै मिसन सञ्चालनको संरचनामा भएका महत्त्वपूर्ण परिवर्तनबारे जानकारी दिएको हो।
नयाँ योजनाअनुसार स्पेसएक्सको स्टारसिप चन्द्र अवतरण यानले पृथ्वीको उच्च कक्षमा ओरियन अन्तरिक्षयानसँग जोडिएर चन्द्रमातर्फ यात्रा गर्नेछ। त्यस्तै, जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले आफ्नो ब्लु मुन अवतरण यानका लागि चारवटा न्यु ग्लेन रकेट प्रक्षेपणमा आधारित योजना अघि सारेको छ। प्रारम्भिक मिसनमा अन्तरिक्षमै एउटा यानबाट अर्को यानमा इन्धन सार्नुपर्ने व्यवस्था भने यस योजनामा राखिएको छैन।
नासाका प्रशासक जेरेड आइज्याकम्यानले सन् २०२७ को गर्मीयामसम्म आर्टेमिस–३ मिसन प्रक्षेपण गर्ने र सन् २०२८ मा आर्टेमिस–४ मार्फत चन्द्रमाको सतहमा वास्तविक अवतरण गर्ने लक्ष्य कायम रहेको बताएका छन्।
“हामीसँग जिम्मेवारी पूरा गर्ने स्पष्ट म्यान्डेट, आवश्यक स्रोतसाधन र सरोकारवालाको समर्थन छ,” आइज्याकम्यानले भने, “हामी यही आधारमा कार्यक्रम कार्यान्वयन गर्न चाहन्छौँ।”
स्पेसएक्सको योजनामा के परिवर्तन भयो?
नासाको नयाँ योजनाले स्पेसएक्सलाई चन्द्रमामा मानव अवतरण गराउने तयारीमा केही प्राविधिक सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसअघि स्टारसिपले चन्द्रमाको वरिपरि रहेको विशेष कक्षमा ओरियनसँग जोडिनुपर्ने व्यवस्था थियो। उक्त कक्षलाई ‘नियर रेक्टिलिनियर हेलो अर्बिट’ भनिन्छ। त्यहाँसम्म पुग्न बढी ऊर्जा आवश्यक पर्ने र सञ्चालनमा थप कठिनाइ हुने भन्दै स्पेसएक्सले त्यस व्यवस्थामा परिवर्तन गर्न आग्रह गरेको थियो।
नासाले यसअघि चन्द्रमाको कक्षमा निर्माण गर्ने योजना बनाएको लुनार गेटवे अन्तरिक्ष स्टेसन परियोजना रद्द गरेपछि स्पेसएक्सको योजनामा परिवर्तन गर्ने बाटो खुलेको हो।
नयाँ व्यवस्थाअनुसार स्टारसिप चन्द्र अवतरण यानलाई पृथ्वीको न्यून कक्षमा इन्धन भरिनेछ। त्यसपछि यो पृथ्वीको उच्च कक्षमा ओरियनसँग जोडिनेछ। अन्तरिक्षयात्रीहरू ओरियनभित्रै चन्द्रमासम्म पुग्नेछन् र चारमध्ये दुई जना अन्तरिक्षयात्री स्टारसिपमा सरेर चन्द्रमाको सतहमा अवतरण गर्नेछन्।
तर स्टारसिपलाई चन्द्रमासम्म पुग्न आवश्यक इन्धन उपलब्ध गराउन कति पटक रकेट प्रक्षेपण गर्नुपर्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
नासाको सुरक्षा प्यानलले बिहीबार सार्वजनिक गरेको अनुमानअनुसार स्टारसिपलाई आवश्यक इन्धन उपलब्ध गराउन करिब २२ वटा ट्यांकर प्रक्षेपण गर्नुपर्ने हुन सक्छ। तर स्पेसएक्सका संस्थापक एलन मस्कले उक्त अनुमान गलत भएको भन्दै वास्तविक आवश्यकता ६ देखि ८ वटा प्रक्षेपण मात्रै हुन सक्ने बताएका छन्।
नासाले भने यसबारे यकिन सङ्ख्या सार्वजनिक गरेको छैन। स्टारसिपले एकपटकमा कति भार बोक्न सक्छ, अन्तरिक्षमा अत्यन्त कम तापक्रममा राखिने इन्धन कति नोक्सान हुन्छ र एउटा यानबाट अर्कोमा इन्धन सार्ने प्रक्रिया कति प्रभावकारी हुन्छ भन्ने विषयले अन्तिम सङ्ख्या निर्धारण गर्नेछ।
नासाका प्रशासक आइज्याकम्यानका अनुसार मस्कले उल्लेख गरेको ६ देखि ८ वटा प्रक्षेपणको लक्ष्य सम्भव हुन सक्छ। तर त्यसलाई स्टारसिपको पूर्ण क्षमतामा पुगिसकेपछिको सम्भावित अवस्था मान्नुपर्ने उनको भनाइ छ।
ब्लु ओरिजिनको योजनामा चारवटा न्यु ग्लेन प्रक्षेपण
नासाले चन्द्रमामा पुग्ने समय छोट्याउन आग्रह गरेपछि ब्लु ओरिजिनले पनि आफ्नो योजना परिमार्जन गरेको छ। प्रारम्भिक मिसनका लागि अन्तरिक्षमा इन्धन भर्ने जटिल प्रक्रिया आवश्यक नपर्ने गरी नयाँ संरचना प्रस्ताव गरिएको हो।
योजनाअनुसार न्यु ग्लेन रकेटले तीनवटा स्थानान्तरण चरण (ट्रान्सफर स्टेज) पृथ्वीको न्यून कक्षमा पुर्याउनेछ। त्यसपछि अर्को न्यु ग्लेन रकेटले ब्लु मुन मार्क–२ अवतरण यान प्रक्षेपण गर्नेछ।
कक्षमा पुगेपछि अवतरण यान ती तीनवटा स्थानान्तरण चरणसँग जोडिनेछ। तिनको सहायताले समग्र संरचनालाई चन्द्रमातर्फ पठाइनेछ।
यस योजनामा अर्को महत्त्वपूर्ण पक्ष ओरियन अन्तरिक्षयान र ब्लु मुन अवतरण यानबीचको भेट तथा जोडिने स्थान हो। नासाले सार्वजनिक गरेको चित्रअनुसार यी दुई यान चन्द्रमाको सतहबाट करिब ८ हजार ५०० किलोमिटर माथि रहेको दीर्घवृत्ताकार कक्षमा जोडिन सक्नेछन्। तर नासाले चन्द्रमाको सतहभन्दा केही सय किलोमिटर माथि रहेको न्यून कक्षमा पनि यस्तो भेट सम्भव बनाउने विकल्पमाथि काम गरिरहेको छ।
नासाको आर्टेमिस कार्यक्रमका व्यवस्थापक जेरेमी पार्सन्सका अनुसार न्यून कक्षमा ओरियन र ब्लु मुनलाई जोड्न सके चन्द्रमाको सतहमा अवतरण गर्न र पुनः माथि फर्कन आवश्यक पर्ने इन्धनको मात्रा घटाउन सकिन्छ।
यसबाट बच्ने भारलाई यानका अन्य आवश्यक प्रणालीमा उपयोग गर्न सकिनेछ। साथै, आपत्कालीन अवस्था उत्पन्न भएमा अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहबाट उद्धार गर्ने अवसर पनि तुलनात्मक रूपमा छिटो र बढी उपलब्ध हुन सक्छ।
यसले ब्लु ओरिजिनका लागि चन्द्र अवतरणसम्बन्धी केही प्राविधिक चुनौती कम गर्ने नासाको अपेक्षा छ।
ओरियनको लामो समयदेखिको समस्या समाधान गर्ने प्रयास
नासाको नयाँ योजनामा सबैभन्दा महत्त्वपूर्ण प्राविधिक परिवर्तन ओरियन अन्तरिक्षयानलाई चन्द्रमाको नजिकको कक्षसम्म पुर्याउने क्षमतासँग सम्बन्धित छ।
यसका लागि नासाले युनाइटेड लन्च एलायन्ससँग सहकार्य गरेर ‘सेन्टौर–५’ रकेटको विस्तारित संस्करण विकास गर्ने काम अघि बढाएको छ। स्पेस लन्च सिस्टम (एसएलएस) रकेटको मुख्य चरणसँगै प्रयोग गरिने यो माथिल्लो चरणले ओरियनलाई चन्द्रमाको न्यून कक्षसम्म पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
ओरियनको सेवा मोड्युलमा रहेको सीमित इन्धन तथा प्रणोदन क्षमताका कारण पृथ्वीबाट उडेर चन्द्रमाको न्यून कक्षसम्म पुग्ने र त्यहाँबाट पुनः पृथ्वी फर्कने यात्राका लागि आवश्यक गति परिवर्तन गर्ने क्षमता लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको थियो।
यही सीमितताका कारण नासाले चन्द्रमाको कक्षमा लुनार गेटवे अन्तरिक्ष स्टेसन राख्ने योजनाजस्ता वैकल्पिक उपाय अघि सारेको थियो। गेटवेलाई ओरियन तुलनात्मक रूपमा सहज रूपमा पुग्न सक्ने विशेष कक्षमा राख्ने योजना थियो। त्यसपछि चन्द्रमाको सतहसम्म पुग्ने थप जिम्मेवारी अवतरण यान र ती यान विकास गर्ने कम्पनीहरूलाई दिइएको थियो।
तर गेटवे परियोजना रद्द भएपछि ओरियनलाई चन्द्रमाको अझ नजिकको कक्षमा पुर्याउन सक्ने क्षमता विकास गर्नु थप महत्त्वपूर्ण बनेको छ।
“ओरियनलाई चन्द्रमाको न्यून कक्षमा पुर्याउनु भनेको लामो समयदेखि सम्बोधन नगरिएका प्रणोदन र अन्तरिक्षयान एकीकरणसम्बन्धी समस्याहरू समाधान गर्नु हो,” आइज्याकम्यानले शुक्रबार भने।
उनका अनुसार नासाले अवतरण यान विकास गरिरहेका कम्पनीहरूको प्रगति र उनीहरूले सामना गरिरहेका कठिनाइलाई ध्यानमा राखेर आफ्नो योजनामा परिवर्तन गरिरहेको छ।
“हामी तथ्याङ्कलाई ध्यान दिइरहेका छौँ र वरपर भइरहेका गतिविधि हेरिरहेका छौँ। हाम्रा अवतरण साझेदारहरूले कति प्रगति गरिरहेका छन्, कहाँ कठिनाइ भोगिरहेका छन् र उनीहरूलाई सहयोग गर्न हामी के गर्न सक्छौँ भन्ने विषय हेरिरहेका छौँ,” उनले भने।
ओरियनलाई चन्द्रमाको नजिक पुर्याउन सके अवतरण यान विकास गर्ने कम्पनीहरूका लागि काम सहज हुने उनको भनाइ छ।
सन् २०२८ को लक्ष्य पूरा होला?
नासाले आर्टेमिस कार्यक्रमअन्तर्गत चन्द्रमामा मानवलाई पुनः पुर्याउने लक्ष्य कायम राखेको भए पनि निर्धारित समयमै त्यो सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न भने बाँकी छ।
स्पेसएक्सको स्टारसिपमा आवश्यक इन्धन भर्ने प्रक्षेपणको सङ्ख्या, ब्लु ओरिजिनको अवतरण यानको तयारी, ओरियनको प्राविधिक क्षमता र विभिन्न अन्तरिक्षयानबीचको समन्वयले मिसनको समयतालिकालाई प्रभावित गर्न सक्छन्।
नासाले योजनामा परिवर्तन गरेर अवतरण यान विकास गर्ने कम्पनीहरूका चुनौती कम गर्न खोजेको छ। तर नयाँ व्यवस्था कार्यान्वयन गर्न आवश्यक प्राविधिक परीक्षण, सुरक्षा सुनिश्चितता र अन्तरिक्षयानको तयारी समयमै पूरा गर्नुपर्नेछ।
आर्टेमिस कार्यक्रम सफल भएमा सन् १९७२ मा सम्पन्न अपोलो–१७ मिसनपछि चन्द्रमाको सतहमा मानवलाई पुनः उतार्ने अमेरिकी प्रयासले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेछ। यसले भविष्यमा चन्द्रमामा दीर्घकालीन मानव उपस्थिति स्थापित गर्ने र थप गहिरो अन्तरिक्ष अन्वेषणको आधार तयार पार्ने नासाको योजनालाई समेत सहयोग गर्नेछ।
अहिलेका लागि नासाले सन् २०२७ मा परीक्षण मिसन र सन् २०२८ मा चन्द्र अवतरणको लक्ष्य कायम राखेको छ। तर त्यसलाई निर्धारित समयमै सफल बनाउन नयाँ योजनासँगै प्राविधिक चुनौतीहरू कति छिटो समाधान हुन्छन् भन्ने निर्णायक हुनेछ।
