Tekmandu

च्याटजीपीटीमा ओपेनएआईको नयाँ अपडेट, जीपीटी-५.५ इन्स्ट्यान्टले अब झन् सटिक उत्तर दिने

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपेनएआईले आफ्नो लोकप्रिय च्याटबोट च्याटजीपीटीको फ्रि मोडल ‘जीपीटी-५.५ इन्स्ट्यान्ट’ (GPT-5.5 Instant) मा महत्त्वपूर्ण सुधार गरेको छ। यो अपडेटसँगै च्याटजीपीटीले प्रयोगकर्ताका कुरा र सन्दर्भलाई अझ गहिराइसँग बुझ्ने तथा जटिल प्रश्नहरूको सटिक उत्तर दिन सक्ने भएको छ।

हामीले च्याटजीपीटी चलाउँदा सबैभन्दा बढी प्रयोग गर्ने डिफल्ट मोडल नै जीपीटी-५.५ इन्स्ट्यान्ट हो। कम्पनीले गत मे महिनामा यसलाई च्याटजीपीटीको डिफल्ट मोडल बनाएको थियो। त्यतिबेलै कम्पनीले परीक्षणका क्रममा यो मोडलले दिने गलत वा भ्रामक जानकारी (हलुसिनेसन) ५२.५ प्रतिशतले र तथ्यगत त्रुटि ३७.३ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक गरेको थियो।

अहिले गरिएको नयाँ अपग्रेडपछि यो मोडलले प्रयोगकर्ताले सोधेको प्रश्नको भित्री मनसाय बुझ्न झनै सिपालु भएको छ। तपाईँले च्याटबोटसँग लगातार दोहोरो कुराकानी गरिरहँदा पनि यसले अघिल्ला सन्दर्भहरू बिर्सने छैन। एउटै प्रश्नमा धेरै वटा सर्त वा कुराहरू सोधिएका छन् भने पनि यसले अब नअल्मलिइकन सबै पक्षलाई सम्बोधन गरेर उत्तर दिन्छ।

यदि तपाईँले आफ्नो प्रश्नमा थप स्पष्टीकरण दिनुभयो वा च्याटजीपीटीले दिएको उत्तरमा चित्त नबुझेर क्रस प्रश्न गर्नुभयो भने  यसले पुरानै कुरा दोहोर्याउँदैन। बरु प्रयोगकर्ताको चाहना अनुसार आफूलाई ढालेर नयाँ र सान्दर्भिक उत्तर दिने ओपेनएआईले जनाएको छ। च्याटजीपीटीको मुख्य मोडल नै यही भएकाले प्रयोगकर्ताले अब यो च्याटबोट चलाउँदा निकै सहज र छिटो महसुस गर्नेछन्।

नयाँ  जीपीटी-५.५ इन्स्ट्यान्टले लोकेसन (स्थान) सँग जोडिएका सन्दर्भहरू पनि राम्रोसँग बुझ्न सक्छ। जस्तै  तपाईँ कतै घुम्न जाँदै हुनुहुन्छ र नजिकैको राम्रो रेस्टुरेन्टको सुझाव माग्नुभयो भने यसले एकदमै सान्दर्भिक विकल्पहरू देखाउँछ। साथै आवश्यक पर्दा यसले प्रडक्ट (सामान) को सुझाव, व्यापारिक जानकारी र तस्बिरहरू पनि उपलब्ध गराउनेछ।

ओपेनएआईले आफ्नो घोषणामा भनेको छ, “समग्रमा अब च्याटजीपीटीका उत्तरहरू पहिलेभन्दा धेरै प्राकृतिक, सन्तुलित र उत्कृष्ट लाग्नेछन्।” पहिले पहिले च्याटबोटले दिएका उत्तरहरू मेसिनले लेखेको जस्तो ‘टेम्प्लेट’ शैलीका हुन्थे भने अबको फर्म्याटिङ निकै स्वाभाविक हुने कम्पनीको भनाइ छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...