काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा भइरहेको ठूलो लगानीलाई कसरी प्रत्यक्ष आम्दानीमा रूपान्तरण गर्ने भन्ने विषय अहिले विश्वभरका टेलिकम कम्पनीहरूको प्राथमिक चासो बनेको छ। यही क्रममा हुवावेले एआई ‘टोकन’मा आधारित नयाँ राजस्व मोडेल विकास गर्न मोबाइल अपरेटरलाई सहयोग गर्ने योजना सार्वजनिक गरेको छ।
चीनको सांघाईमा आयोजित एमडब्ल्यूसी सांघाई (MWC Shanghai) मा हुवावेका बोर्डका डेपुटी चेयरम्यान तथा रोटेटिङ चेयरम्यान डेभिड वाङले एआईले आगामी दशकमा मोबाइल उद्योगको वृद्धिलाई नयाँ दिशा दिने बताएका हुन्। उनले एआई र नेटवर्कमा गरिएको लगानीलाई आम्दानीमा रूपान्तरण गर्न आवश्यक छवटा प्रमुख प्राथमिकतासमेत सार्वजनिक गरे।
हुवावेका अनुसार मोबाइल सेवाका नयाँ क्षमता विकास गर्ने, मोबाइल सञ्चारसँग एआईलाई एकीकृत गर्दै तीन तहको इन्टेलिजेन्स निर्माण गर्ने, स्याटेलाइट र स्थलीय सञ्चारलाई एउटै नेटवर्क आर्किटेक्चरमा जोड्ने, भविष्यकेन्द्रित स्पेक्ट्रम योजना र विनियोजनलाई अघि बढाउने, एआई नेटिभ कोर नेटवर्कको मापदण्ड तयार गर्ने तथा मोबाइल सेवाका नयाँ व्यवसायिक मोडेल र प्रयोगका क्षेत्र खोज्ने काम अब उद्योगका मुख्य प्राथमिकता हुनेछन्।
रियल टाइम नेटवर्कसँगै बढ्दै ‘एआई टोकन’को आवश्यकता
वाङका अनुसार मोबाइल नेटवर्क अहिले केवल डाटा ट्राफिक बोक्ने पूर्वाधारबाट रियल टाइम इन्टरएक्सन सम्भव बनाउने संरचनामा रूपान्तरण हुँदैछ। एआई एजेन्टहरूको प्रयोग तीव्र गतिमा बढेसँगै एआई टोकन सेवाको माग पनि बढ्नेछ। त्यस्ता सेवाका लागि उच्च अपलोड क्षमता, उच्च विश्वसनीयता र न्यून लेटेन्सी भएको अल्ट्रा ब्रोडब्यान्ड नेटवर्क आवश्यक पर्ने उनको भनाइ छ।
कार्यक्रमकै क्रममा हुवावेले चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकमसँग मिलेर ५जी एड्भान्स्ड (5G-Advanced) हाई अपलिंक, एक्सपिरियन्स मोनेटाइजेसन, एआईबाट सञ्चालित व्यवसायिक स्तरोन्नति तथा टोकन मोनेटाइजेसनसँग सम्बन्धित नयाँ प्रविधि र व्यवसायिक अवधारणा सार्वजनिक गरेको छ।
हुवावेले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर ५जी एड्भान्स्ड प्रयोगकर्ताको संख्या एक सय मिलियन नाघिसकेको छ।
एआई टोकनबाट नयाँ आम्दानीको खोजी
टेलिकम कम्पनीहरूले एआई टोकनमा आधारित सेवा बेचेर नयाँ आम्दानीको स्रोत सिर्जना गर्न सक्ने अवधारणा अहिले विशेष चर्चामा छ। यद्यपि उद्योगका सबै विज्ञ यसमा सहमत भने छैनन्। केही विश्लेषकले यो मोडेल सबै अपरेटरका लागि उपयुक्त नहुन सक्ने तर्क गरिरहेका छन्।
यस क्षेत्रमा चीन अग्रस्थानमा देखिएको छ। गत मे महिनामा चाइना टेलिकमले प्रयोगकर्ताले आफ्नै एआई कम्प्युटिङ क्षमता प्रयोग गर्न सक्ने व्यावसायिक एआई टोकन सब्सक्रिप्सन योजनाको परीक्षण सुरु गरेको थियो। कम्पनीले एआई मोडेलले प्रशोधन गर्ने वा उत्पादन गर्ने टेक्स्ट, कोड वा डाटाका आधारभूत एकाइ अर्थात् टोकनलाई नयाँ सब्सक्रिप्सन प्याकेजमार्फत आम्दानीको स्रोत बनाउने प्रयास गरिरहेको छ।
भारतको सबैभन्दा ठूलो मोबाइल अपरेटर रिलायन्स जियो पनि टोकन सेवा प्रदायक बन्ने दिशामा काम गरिरहेको छ।
यो क्षेत्रमा हुवावे मात्र सक्रिय छैन। एरिक्सनले पनि टोकनमा आधारित व्यवसायिक मोडेलको सम्भावना अध्ययन गरिरहेको छ। त्यस्तै माभेनिर र रेड ह्याटले संयुक्त रूपमा विकास गरेको इन्टिग्रेटेड एआई प्लेटफर्मले नेटवर्क अपरेटरलाई अहिले डाटा बिक्री गरेझैँ टोकन आधारित कन्जम्प्सन योजनामार्फत एआई सेवा बिक्री गर्न सक्ने दाबी गरेको छ। यसमा फोन बिलमै शुल्क समावेश गर्ने, मूल्य निर्धारण, एसएलए (SLA) र एआई मोडेलमाथि अपरेटरकै पूर्ण नियन्त्रण रहने व्यवस्था रहेको उनीहरूको दाबी छ।
टोकन इकोनोमिक्स किन महत्वपूर्ण बन्दैछ ?
कोपनहेगनमा हालै सम्पन्न डीटीडब्ल्यू इग्नाइट (DTW Ignite) कार्यक्रममा पनि टोकन इकोनोमिक्स प्रमुख छलफलको विषय बनेको थियो। त्यहाँ मुख्यत एआई प्रयोगको लागत कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा बहस भएको थियो।
यसका लागि टीएम फोरम (TM Forum) ले मोडेल एज अ सर्भिस (MODaaS) अवधारणामार्फत विभिन्न एआई मोडेललाई क्लाउड, एज र अन प्रिमाइस वातावरणमा उद्यमस्तरको सेवाका रूपमा सञ्चालन र विस्तार गर्ने ढाँचामाथि काम गरिरहेको छ।
गत वर्ष टीएम फोरमले गरेको एआई बेन्चमार्क सर्वेक्षणले अधिकांश टेलिकम कम्पनी एआई प्रयोगको लागतप्रति चिन्तित रहेको देखाएको थियो। सर्वेक्षणअनुसार तीन चौथाइभन्दा बढी सञ्चार सेवा प्रदायकले एआई नेटिभ बन्ने क्रममा लागतलाई कम्तीमा पनि मध्यम स्तरको चुनौती मानेका थिए भने करिब एकतिहाइले यसलाई प्रमुख चुनौतीका रूपमा लिएका थिए।
एआई एजेन्ट प्रयोग गर्नु पनि भविष्यमा मानिससरह महँगो हुन सक्छ
टीएम फोरमका इन्नोभेसन उपाध्यक्ष आरोन बोआस्मान पटेलका अनुसार एआई टोकनले टेलिकम कम्पनी र ग्राहक दुवैका लागि मूल्य निर्धारणको नयाँ आधार तयार गरिरहेको छ। यसले कुनै काम सम्पन्न गर्न कति कम्प्युटिङ क्षमता वा कति एआई एजेन्ट आवश्यक पर्छ भन्ने मापन गर्न सजिलो बनाउने उनले बताए।
उनका अनुसार केही वर्षअघिसम्म एआईलाई सम्पूर्ण नेटवर्क नियन्त्रण गर्ने एउटा केन्द्रीय प्रणालीका रूपमा हेरिन्थ्यो। तर कम्प्युटिङ लागत र ऊर्जा खपत अत्यधिक भएकाले अहिले अपरेटरहरू विशेष कामका लागि छुट्टाछुट्टै साना एआई एजेन्ट प्रयोग गर्ने दिशामा गइरहेका छन्।
बोआस्मान पटेल भन्छन्, “यही कारण टोकन इकोनोमिक्स महत्वपूर्ण बन्दै गएको छ। कहाँ अटोमेसन आवश्यक छ र कहाँ स्वायत्त एआई प्रणाली प्रयोग गर्ने भन्ने निर्णय लिन यसले मद्दत गर्दछ। भविष्यमा एआई एजेन्ट सञ्चालन गर्नु पनि मानव एजेन्ट प्रयोग गरेजत्तिकै महँगो हुन सक्छ। त्यसैले लागत सन्तुलन गर्न र एआईबाट आम्दानी बढाउन यसको स्पष्ट मापन आवश्यक छ।”
