काठमाडौं — एआई एजेन्ट प्रयोगकर्तामाझ चर्चित बनेको ओपन सोर्स प्लेटफर्म OpenClaw अब एन्ड्रोइड र आईओएस दुवैमा एपका रूपमा उपलब्ध भएको छ। यससँगै प्रयोगकर्ताले आफ्नो मोबाइलबाटै एआई एजेन्ट सञ्चालन गर्न सक्ने भएका छन्।
OpenClaw ले मंगलबार सामाजिक सञ्जाल X मार्फत आफ्नो मोबाइल एप सार्वजनिक भएको जानकारी दिएको हो। यसअघि कम्प्युटरमा सीमित रहेको OpenClaw अब स्मार्टफोन प्रयोगकर्ताका लागि पनि सहज रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ।
एन्ड्रोइड र आईओएस दुवै संस्करणमा प्रयोगकर्ताले आफ्नो फोनलाई OpenClaw Gateway सँग जोड्न सक्नेछन्। यो एक प्रकारको राउटिङ लेयर हो जसले प्रयोगकर्ताको अनुरोधलाई एआई एजेन्टसँग जोड्ने मात्र होइन ती एजेन्टले प्रयोग गर्ने विभिन्न टुल्स र स्किल्ससँग पनि समन्वय गरेर काम गराउँछ।
यसको अर्थ प्रयोगकर्ताले अब आफ्नो खल्तीमै रहेको मोबाइलबाट OpenClaw एजेन्ट सञ्चालन गर्न सक्नेछन्। एजेन्टलाई आवश्यक रूपमा प्रोग्राम गरिएको अवस्थामा विभिन्न काम स्वचालित रूपमा सम्पन्न गराउन सकिने कम्पनीको दाबी छ। OpenClaw प्रयोगकर्ताले यसलाई कोडिङदेखि लिएर मील प्लानिङसम्मका काममा प्रयोग गरिरहेका छन्। यद्यपि केही प्रयोगकर्ताले अपेक्षाअनुसार नतिजा नआएको अनुभव पनि सार्वजनिक गरेका छन्।
OpenClaw यस वर्षको सुरुआतमा निकै चर्चामा आएको थियो। विशेषगरी MoltBook नामक सामाजिक सञ्जाल सार्वजनिक भएपछि यसको चर्चा झन् चुलिएको थियो। उक्त प्लेटफर्ममा सबैजसो प्रयोगकर्ता एआई एजेन्ट मात्रै रहेको दाबी गरिएको थियो। त्यसको केही समयपछि फेब्रुअरीमा OpenClaw का सिर्जनाकर्ता Peter Steinberger ले आफू OpenAI मा आबद्ध भएको घोषणा गरेका थिए।
तर पछि अनुसन्धानकर्ताहरूले MoltBook मा देखिएका सबै गतिविधि एआई एजेन्टबाट मात्र नभई केही मानिसहरूले एजेन्टको भूमिका निर्वाह गरेर पनि सिर्जना गरिएको निष्कर्ष सार्वजनिक गरेका थिए। उनीहरूका अनुसार त्यो अभियान प्रभावशाली प्रदर्शनसँगै OpenClaw को मार्केटिङ रणनीतिको हिस्सा पनि बनेको थियो यद्यपि त्यसले प्लेटफर्मको विश्वसनीयतामाथि प्रश्न पनि उठाएको थियो।
यद्यपि त्यस घटनाले एआई एजेन्टको प्रयोग बढ्दै जाने संकेत भने दिएको थियो। अहिले एआई एजेन्टहरू विभिन्न एआई सेवामा समावेश भइरहेका छन् र विस्तारै मोबाइल उपकरणसम्म पनि पुग्न थालेका छन्। OpenClaw को मोबाइल एप सार्वजनिक हुनु त्यसै प्रवृत्तिको पछिल्लो उदाहरणका रूपमा हेरिएको छ।
