Tekmandu

गर्मीले शरीर मात्रै होइन, मस्तिष्कलाई पनि असर गर्छ, बालबालिका र मानसिक स्वास्थ्य समस्या भएकामा जोखिम बढी

काठमाडौं — युरोपमा फैलिएको भीषण गर्मीको लहरले हजारौंको ज्यान जाने जोखिम बढाइरहेका बेला वैज्ञानिकहरूले अर्को गम्भीर विषयतर्फ पनि ध्यान केन्द्रित गरेका छन्। अत्यधिक गर्मीले मानिसको सोच्ने क्षमता, व्यवहार र मानसिक स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषय अझै पूर्ण रूपमा बुझ्न नसकिएको भए पनि यसले मस्तिष्कमा गम्भीर प्रभाव पार्ने प्रमाणहरू भने बढ्दै गएका छन्।

यो साता बेलायतको लन्डनसहित पश्चिमी युरोपका विभिन्न क्षेत्रमा खतरनाक Heat Wave देखिएको छ। मंगलबार बेलायतले जुन महिनाकै इतिहासमा सबैभन्दा उच्च ३६.१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गर्‍यो। मौसम सेवाका अनुसार त्यस दिनको वास्तविक अनुभूति भने करिब ३९ डिग्री सेल्सियस बराबर थियो।

बेलायतको राष्ट्रिय मौसम तथा जलवायु सेवा Met Office का अनुसार सन् १९९१ देखि २०२० सम्म इंग्ल्यान्डमा जुन महिनाको औसत अधिकतम तापक्रम १९ डिग्री सेल्सियस थियो। अहिले देखिएको तापक्रमलाई असामान्य मानिएको छ। विशेषज्ञहरूका अनुसार यसपटकको Heat Wave ले युरोपभर हजारौंको मृत्यु गराउन सक्ने जोखिम छ। यसको असर कृषि, पूर्वाधार र स्वास्थ्य प्रणालीमा समेत पर्ने अनुमान गरिएको छ।

तर वैज्ञानिकहरूको चासो अहिले गर्मीले मानव मस्तिष्कमा पार्ने प्रभावतर्फ पनि केन्द्रित भएको छ। अत्यधिक गर्मीमा धेरैलाई ध्यान केन्द्रित गर्न कठिन हुने, सोचाइ स्पष्ट नहुने, थकान र अन्योल बढ्ने अनुभव हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

यसको असर केवल असहजतामा सीमित नरहन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। तापक्रम बढ्दै जाँदा मानिसहरू बढी चिडचिडे हुने, आक्रामक व्यवहार देखाउने र हिंसात्मक घटनासमेत बढ्ने सम्बन्ध विभिन्न अध्ययनहरूले देखाएका छन्। यद्यपि  Heat Wave ले मस्तिष्कको काम गर्ने तरिकामा प्रत्यक्ष रूपमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषय अझै अनुसन्धानकै चरणमा छ।

Liverpool Hope University की कग्निटिभ साइकोलोजिस्ट Catherine Thompson ले यस विषयमा Firefighters माथि अध्ययन गरिरहेकी छन्। आगो लागेको भवनभित्र प्रवेश गर्ने तालिमअघि र त्यसपछि उनीहरूको कग्निटिभ क्षमता परीक्षण गर्दा तीव्र गर्मीपछि ध्यान केन्द्रित गर्ने र एकाग्रता नियन्त्रण गर्ने क्षमता घटेको पाइएको छ।

अध्ययनअनुसार Firefighters करिब १५ मिनेट अत्यधिक गर्मीमा बसेपछि प्रभावित भएका थिए। उनीहरू चिसो वातावरणमा फर्किएको करिब २० मिनेटपछि भने मस्तिष्कको कार्यक्षमता सामान्य अवस्थामा आएको थियो। तर धेरै दिनसम्म लगातार रहने Heat Wave ले मानिसको मस्तिष्कमा कस्तो असर पार्दछ र त्यो प्रभाव कति समयसम्म रहन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

अनुसन्धानकर्ताहरूका अनुसार यस्तो अध्ययन गर्न व्यावहारिक रूपमा निकै कठिन छ। Heat Wave सुरु हुनुअघि नै हजारौं मानिससम्म परीक्षण सामग्री पुर्‍याएर छोटो समयमा अध्ययन सञ्चालन गर्नुपर्ने भएकाले यो चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ।

अहिलेसम्म भएका अध्ययनहरूले भने मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिहरूमा Heat Wave को असर झन् गम्भीर हुने संकेत गरेका छन्। Hartford Health Care अन्तर्गतको Heat Mind Lab का निर्देशक Joshua Wortzel का अनुसार कुनै क्षेत्रमा सामान्य मानिने तापक्रमभन्दा माथि पुगेपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या थप बिग्रिने प्रवृत्ति देखिन्छ।

सन् २०२३ मा University of Oxford की अनुसन्धानकर्ता Emma Lawrance र उनको टोलीले सार्वजनिक गरेको अध्ययनले Heat Wave का बेला मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिको अस्पताल भर्ना हुने दर ९.७ प्रतिशतले बढेको देखाएको थियो।

Lawrance का अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिहरू अत्यधिक गर्मीको शारीरिक असरबाट सबैभन्दा बढी प्रभावित हुने समूहमा पर्दछन्। उदाहरणका रूपमा सन् २०२१ मा क्यानडामा आएको रेकर्डब्रेक Heat Wave का क्रममा Schizophrenia भएका व्यक्तिको मृत्यु हुने सम्भावना अन्य व्यक्तिको तुलनामा तीन गुणा बढी रहेको अध्ययनले देखाएको थियो।

गर्मीले मानसिक स्वास्थ्य किन बिगार्छ भन्ने प्रश्नको उत्तर भने अझै स्पष्ट छैन। अत्यधिक तापक्रममा मानिसहरू घरभित्रै सीमित हुन सक्छन्,  बाहिर खेल्न वा व्यायाम गर्न छोड्दछन्, राम्रोसँग निद्रा पर्दैन। यी सबै कुरा मानसिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।

यसबाहेक  अत्यधिक गर्मीले मस्तिष्कभित्र हुने जैविक प्रक्रियामै असर गर्न सक्ने प्रमाण पनि देखिन थालेका छन्। प्रयोगशालाका जनावरमा गरिएको अध्ययनले उच्च तापक्रमका कारण Serotonin जस्ता Neurotransmitters को मात्रा परिवर्तन हुन सक्ने देखाएको छ। यसले मस्तिष्कका विभिन्न नेटवर्कबीचको सञ्चार प्रक्रिया र मस्तिष्कका कोषिकासम्म अक्सिजन पुग्ने तरिकामा समेत असर पार्न सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।

Wortzel का अनुसार गर्मीले मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्ने जैविक कारण धेरै छन्। तर तीमध्ये कुन कारण सबैभन्दा महत्वपूर्ण हो भन्ने अझै निश्चित भइसकेको छैन।

नयाँ अनुसन्धानले बालबालिका र युवाहरू सबैभन्दा जोखिममा रहेको संकेत पनि दिएको छ। यही साता प्रकाशित एक अध्ययनमा अमेरिकामा १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिमा औसत मासिक तापक्रम प्रत्येक १ डिग्री सेल्सियसले बढ्दा आत्महत्याको दर २.९७ प्रतिशतले बढेको पाइएको छ। यो २४ वर्षभन्दा माथिका व्यक्तिमा देखिएको वृद्धिदरभन्दा दोब्बरभन्दा बढी हो।

अर्को अध्ययनले सानै उमेरमा अत्यधिक गर्मी वा अत्यधिक चिसोको सम्पर्कमा आएका बालबालिकाको ९ देखि १२ वर्षको उमेरमा मस्तिष्कको White Matter मा परिवर्तन देखिएको जनाएको छ। यद्यपि  त्यसको दीर्घकालीन प्रभाव व्यक्तिगत रूपमा कस्तो हुन्छ भन्ने अझै स्पष्ट हुन बाँकी छ।

Lawrance का अनुसार जीवनको प्रारम्भिक चरणमै अत्यधिक तापक्रमको सामना गर्नुपर्दा बालबालिकाको मस्तिष्क विकासमा असर पर्न सक्ने संकेतहरू देखिएका छन्।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण Heat Wave को आवृत्ति र तीव्रता दुवै बढिरहेका छन्। त्यसैले अत्यधिक गर्मीले मानव मस्तिष्क र मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे गहिरो अध्ययन गर्नु अहिलेको आवश्यकता बनेको छ।

Lawrance का अनुसार सन् २०२० मा जन्मिएका बालबालिकाले आफ्ना हजुरबुबा हजुरआमाको पुस्ताले भोगेको भन्दा करिब सात गुणा बढी Heat Wave अनुभव गर्ने अनुमान गरिएको छ। त्यसैले बढ्दो तापक्रमसँग जुध्न समाज र स्वास्थ्य प्रणाली दुवैले समयमै अनुकूलन गर्नुपर्ने आवश्यकता झन् बढ्दै गएको उनले बताएकी छन्।

सम्बन्धित समाचार

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

काठमाडौं — एप्पलले आफ्ना प्रयोगकर्ताको अनलाइन पहिचान गोप्य राख्न ल्याएको 'हाइड माई इमेल' (Hide My Email) फिचरमा एउटा गम्भीर कमजोरी...
ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

काठमाडौं — लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ 'युजरनेम' (username) फिचरले अहिले नै सुरक्षा चि...
‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

काठमाडौं — इन्टरनेटको आधार बनेको टीसीपी/आईपी (TCP/IP) प्रोटोकल विकासमा निर्णायक भूमिका खेलेका तथा 'इन्टरनेटका पिता' का रूपमा परिचि...
नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

काठमाडौं — नेपाल टेलिकम (NTC) ले ‘सजिलो अनलिमिटेड’ र ‘नमस्ते रिकरिङ’ जस्ता प्याकेज बजारमा ल्याएको छ। निजी क्षेत्रको एनसेल (Ncell) ...