Tekmandu

‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

काठमाडौं — इन्टरनेटको आधार बनेको टीसीपी/आईपी (TCP/IP) प्रोटोकल विकासमा निर्णायक भूमिका खेलेका तथा ‘इन्टरनेटका पिता’ का रूपमा परिचित भिन्टन सर्फले गुगलबाट अवकाश लिने भएका छन्। ८३ वर्षीय सर्फले अर्को सातादेखि आफ्नो जिम्मेवारीबाट औपचारिक रूपमा बिदा लिनेछन्।

योसँगै प्रविधि इतिहासकै सबैभन्दा प्रभावशाली करिअरमध्ये एकको अन्त्य हुने भएको छ। सर्फको अवकाशबारे जानकारी लाउडे इन्स्टिच्युटले आयोजना गरेको ओपन फ्रन्टियर सम्मेलनमा सार्वजनिक गरिएको हो।

भिडियोमार्फत सम्मेलनमा सहभागी भएका सर्फलाई यूसी बर्कलीका प्राध्यापक तथा आरआईएससी (RISC) प्रोसेसर आर्किटेक्चरका सह-विकासकर्ता डेभ प्याटरसनले सम्मान गर्दै उनी अर्को सातादेखि अवकाशमा जान लागेको घोषणा गरेका थिए।

“भिन्ट गुगलमा २० वर्षभन्दा बढी समय रहे र आजबाट ठीक एक सातापछि उनी अवकाश लिँदैछन्। त्यसैले उनको निकै सफल करिअरका लागि हामीले ताली बजाउनुपर्छ,” प्याटरसनले भनेका थिए। त्यसपछि सम्मेलन हल तालिले गुञ्जिएको थियो।

यो विषयमा गुगलले भने समाचार प्रकाशन हुँदासम्म कुनै प्रतिक्रिया दिएको छैन।

सर्फ र उनका सहकर्मी रोबर्ट कानलाई आजको इन्टरनेट सम्भव बनाउने नेटवर्किङ प्रोटोकलका प्रमुख आर्किटेक्ट मानिन्छ। सन् १९७० को दशकदेखि उनीहरूले विकास र लोकप्रिय बनाएको टीसीपी/आईपी (TCP/IP) ले फरक फरक कम्प्युटर नेटवर्कबीच सञ्चार सम्भव बनाउने आधारभूत नियमहरूको सेट तयार गरेको थियो।

यस योगदानका लागि सर्फले धेरै मानार्थ उपाधि, प्रेसिडेन्सियल मेडल अफ फ्रिडम र ट्युरिङ अवार्ड लगायतका प्रतिष्ठित सम्मान प्राप्त गरेका छन्।

सन् २००५ देखि उनी गुगलमा भाइस प्रेसिडेन्ट तथा चिफ इन्टरनेट इभान्जेलिस्ट का रूपमा कार्यरत थिए।

सम्बन्धित समाचार

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...