काठमाडौं — लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ ‘युजरनेम’ (username) फिचरले अहिले नै सुरक्षा चिन्ता बढाएको छ। फोन नम्बरको सट्टा ह्यान्डल (handle) प्रयोग गरेर मेसेज गर्न मिल्ने यो फिचरले नक्कली अकाउन्ट र ठगी बढाउन सक्ने भन्दै सुरक्षा विज्ञ तथा नियामक निकायहरूले प्रश्न उठाएका छन्। विशेषगरी ५० करोडभन्दा बढी प्रयोगकर्ता रहेको ह्वाट्सएपको सबैभन्दा ठूलो बजार भारतमा यसको कडा आलोचना सुरु भएको छ।
ह्वाट्सएपमा मानिसहरूले एकअर्कालाई चिन्ने तरिका अब फेरिँदै छ। फोन नम्बरको साटो प्लेटफर्मले व्यवस्थापन गर्ने युजरनेमबाट प्रयोगकर्ता जोडिनेछन्। मेटा (Meta) ले यसलाई प्राइभेसी (privacy) सुधारको कदम भने पनि आलोचकहरूले भने यसबाट अरूको नाममा नक्कली अकाउन्ट खोल्ने (impersonation) मौका बढ्ने बताएका छन्।
एक प्रारम्भिक परीक्षणमा भारतका प्रख्यात राजनीतिज्ञ, बलिउड अभिनेता, व्यवसायी र सार्वजनिक संस्थाहरूसँग मिल्दोजुल्दो युजरनेमहरू अझै पनि रिजर्भ गर्न मिल्ने अवस्थामा भेटिएका थिए। जस्तै: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता शाहरुख खान, अमिताभ बच्चन, मुकेश अम्बानीको टेलिकम कम्पनी जियो र भारतीय रिजर्भ बैंकलाई संकेत गर्ने “indiamodi”, “shahrukh.actor”, “teamamitabh”, “ambanijio” र “rbi_verify” जस्ता युजरनेम खाली नै थिए। अर्कोतर्फ, बाइनान्स (Binance) का संस्थापक चाङपेङ झाओले एक्स (X) मा आफूले प्रयोग गर्दै आएको ह्यान्डल “cz_binance” ह्वाट्सएपमा रिजर्भ गर्न नसकेको बताएका थिए। नेपालमा पनि यहि अवस्था रहेको छ ।
नक्कली अकाउन्ट नियन्त्रणबारेको प्रश्नमा मेटाले सार्वजनिक व्यक्ति, सरकारी निकाय र उनीहरूका नामका केही भेरिएसन (variations) हरू रिजर्भ राखिने बताएको छ ताकि सही व्यक्तिले मात्र त्यो दाबी गर्न सकोस्। तर कुन नाम रिजर्भ राख्ने र कुन नराख्ने भन्नेबारे कम्पनीले स्पष्ट पारेको छैन।
भारत सरकारको कडा पत्र
भारतमा यो विषयले सरकारी अधिकारीहरूको ध्यानाकर्षण गरिसकेको छ। त्यहाँ साइबर ठगहरूले मेसेजिङ प्लेटफर्म प्रयोग गरेर पुलिस, बैंक र सरकारी अधिकारीको भेषमा ठगी गर्ने घटना सामान्य छन्।
भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (MeitY) ले बुधबार ह्वाट्सएपलाई पठाएको पत्रमा यो फिचरले अनलाइन फ्रड (online fraud), फिसिङ (phishing), डिजिटल अरेस्ट स्क्याम (digital arrest scams) र इम्पर्सनेसन अट्याक (impersonation attacks) जस्ता घटना ह्वात्तै बढाउन सक्ने चेतावनी दिएको छ। फोन नम्बर नदेखाईकन अपराधीहरूले सोझै प्रयोगकर्तालाई सम्पर्क गर्न सक्ने भएकाले मन्त्रालयले ह्वाट्सएपलाई भारतको आईटी कानुनअनुसार किन कारबाही अगाडि नबढाउने भनेर स्पष्टीकरण सोधेको छ। साथै आवश्यक छलफल नटुंगिएसम्म यो फिचर सार्वजनिक नगर्न पनि निर्देशन दिएको छ।
सरकारको यो कदमको नयाँ दिल्लीस्थित डिजिटल अधिकार समूह इन्टरनेट फ्रिडम फाउन्डेसन (IFF) ले विरोध गरेको छ। फाउन्डेसनले सरकारको पत्रमा स्पष्ट कानुनी आधार नभएको र यसले प्रडक्ट डिजाइनमै नियन्त्रण गर्ने खतरा रहेको औंल्याएको छ। “ठगी र नक्कली अकाउन्टको जोखिम वास्तविक हो तर यसलाई अपराध गर्नेहरूविरुद्ध फौजदारी कानुन लगाएर समाधान गर्नुपर्छ,” संस्थाले भनेको छ, “सरकारले बन्द कोठामा पत्र काटेर भारतीयहरूले कुन फिचर प्रयोग गर्न पाउने वा नपाउने भनेर तोक्न मिल्दैन।”
यसअघि दिल्ली उच्च अदालतले टेलिग्राम (Telegram) सँग सम्बन्धित एउटा मुद्दामा फोन नम्बरको सट्टा युजरनेम प्रयोग गर्दा प्रयोगकर्ताको पहिचान लुकाउन र अवैध सामग्री छिटो फैलाउन सजिलो हुने टिप्पणी गरेको थियो। अहिले ह्वाट्सएपको नयाँ फिचर आउने तयारी भइरहँदा सोही प्रकृतिको बहस फेरि सतहमा आएको छ।
विज्ञहरू के भन्छन्?
सोसलप्रुफ सेक्युरिटी (SocialProof Security) की प्रमुख कार्यकारी रेचल टोब्याकका अनुसार समग्रमा युजरनेम फिचरले प्रयोगकर्ताको प्राइभेसी बढाउँछ। किनभने यसले फोन नम्बर सार्वजनिक गर्नुपर्ने बाध्यता हटाउँछ जसले गर्दा प्रयोगकर्ताहरू सिम स्वाप अट्याक (SIM-swap attacks), फिसिङ र अकाउन्ट टेकओभर (account takeovers) बाट जोगिन सक्छन्। तर मिल्दोजुल्दो युजरनेमले नक्कली अकाउन्टको जोखिम भने कायमै राख्ने उनको भनाइ छ। अपरिचित व्यक्ति वा ह्याकरले सजिलै अनुमान गर्न नसक्ने युजरनेम राख्न उनी सुझाव दिन्छिन्।
ह्वाट्सएपले पनि युजरनेम सबैका लागि एउटै नियमअनुसार नहुने स्वीकारेको छ। बुधबार एक्समा राखिएको एफएक्यु (FAQ) मा कम्पनीले अधिकांश प्रयोगकर्तालाई युजरनेम युनिक हुनुपर्ने बताएको छ। तर क्रिएटर, व्यवसाय र संस्थाहरूलाई मेटाका सबै प्लेटफर्ममा एउटै पहिचान राख्न सजिलो होस् भनेर इन्स्टाग्राम (Instagram) वा फेसबुक (Facebook) को युजरनेम लिंक गरेर राख्न मिल्ने सुविधा पनि दिइएको छ।
मोजिल्ला फाउन्डेसन (Mozilla Foundation) ले यो फिचरसँगै नयाँ चुनौतीहरू आउने बताएको छ। नक्कली ह्यान्डलबाट हुने ठगी बढ्नु यसको मुख्य जोखिम हो। मोजिल्लाले मेटाको इकोसिस्टमभित्र रहेको इन्टरअपराबिलिटी (interoperability) को विषय पनि उठाएको छ। मेटाले आफ्ना एपहरूमा पहिचान जोड्न सजिलो बनाए पनि प्रयोगकर्ताले त्यो पहिचान वा आफ्ना कन्ट्याक्टहरू अन्य प्रतिस्पर्धी प्लेटफर्ममा भने लैजान पाउँदैनन्।
अहिलेको लागि ह्वाट्सएपले यो फिचर ल्याउन हतार नगर्ने जनाएको छ। “हामी समय लिएर काम गरिरहेका छौं र फिडब्याक सुनिरहेका छौं, ताकि यसै वर्षको अन्त्यमा यो फिचर सार्वजनिक हुँदा सबै कुरा सही होस्,” कम्पनीले भनेको छ।
