Tekmandu

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

काठमाडौं — एप्पलले आफ्ना प्रयोगकर्ताको अनलाइन पहिचान गोप्य राख्न ल्याएको ‘हाइड माई इमेल’ (Hide My Email) फिचरमा एउटा गम्भीर कमजोरी (बग) फेला परेको छ। आफूलाई सुरक्षित महसुस गर्दै यो फिचर प्रयोग गर्नेहरूको सक्कली इमेल ठेगाना नै लिक भइरहेको नयाँ अनुसन्धानले देखाएको छ।

‘४०४ मिडिया’ले यो बगको आफैंले परीक्षण र पुष्टि गर्दै समाचार बाहिर ल्याएको हो। यो कमजोरी पत्ता लगाउने अनुसन्धानकर्ता टाइलर मर्फीका अनुसार  उनले एक वर्षअघि नै एप्पललाई यसबारे जानकारी गराएका थिए। तर  कम्पनीले यति लामो समयसम्म पनि यो समस्या किन समाधान गरेन भन्ने खुल्न सकेको छैन। मर्फीले आफूहरूले गरेका सबै परीक्षणमा यो बगको दुरुपयोग गर्न सम्भव भएको बताएका छन्।

“यसको असर कति ठूलो छ भन्ने त हामीलाई थाहै छैन तर हाम्रा स्वयंसेवकहरूसँग गरिएको सीमित परीक्षणमा १०० प्रतिशत ‘हाइड माई इमेल’ एड्रेसहरू एक्सपोज गर्न मिल्ने अवस्थामा भेटिए,” मर्फीले भने। यसको दुरुपयोग नहोस् भनेर बगको विस्तृत प्राविधिक विवरण भने अहिले सार्वजनिक गरिएको छैन।

मर्फी ‘इजीअप्टआउट्स’ (EasyOptOuts) का सह-संस्थापक हुन्। यो संस्थाले डेटा ब्रोकर साइटहरूबाट मानिसहरूको व्यक्तिगत जानकारी हटाउने सशुल्क सेवा दिन्छ। उनका अनुसार सार्वजनिक रूपमा उपलब्ध पिपुल सर्च (people-search) साइटहरूले कुनै पनि इमेललाई मानिसका अन्य व्यक्तिगत विवरणसँग सजिलै जोड्न सक्छन्। त्यसैले अनलाइन सुरक्षाका लागि हाइड माई इमेलमा भर पर्नेहरू अहिले सीधै जोखिममा छन्।

प्रविधि जगतमा प्राइभेसी टुलहरू पाउन मुश्किल छ  र पाइहाले पनि तिनले सधैं राम्ररी काम गर्छन् भन्ने ग्यारेन्टी हुँदैन। एप्पलमाथि आफ्नै प्राइभेसी दाबीहरूमा चुकेको आरोप लागेको यो पहिलो पटक भने होइन।

उदाहरणका लागि २०२२ मा एप्पलविरुद्ध एउटा मुद्दा नै परेको थियो। त्यतिबेला प्रयोगकर्ताले ‘आइफोन एनालिटिक्स’ (iPhone Analytics) प्राइभेसी सेटिङ अफ गर्दा पनि आइफोनका एपहरूले निरन्तर रूपमा एप्पललाई एनालिटिक्स डेटा (analytics data) पठाउने गरेको तथ्य बाहिरिएको थियो।

त्यस्तै  २०२३ मा अनुसन्धानकर्ताहरूले एप्पलको अर्को एउटा प्राइभेसी फिचरलाई  काम नलाग्ने  प्रमाणित गरिदिएका थिए। मोबाइल प्रयोगकर्ताको वाइफाइ (Wi-Fi) कनेक्सनलाई गोप्य राख्न रेन्डमाइज्ड म्याक एड्रेस (randomized MAC addresses) उपलब्ध गराउने भनिएको टुलले उल्टै प्रयोगकर्ताको सक्कली म्याक एड्रेस छर्लङ्ग पारिरहेको अनुसन्धानबाट पत्ता लागेको थियो।

एप्पलले आफ्नो ब्रान्डिङ र प्रतिष्ठा मुख्यतया प्रयोगकर्ताको प्राइभेसीमै अडेको दाबी गर्दै आएको छ। त्यसैले उसले  हाइड माई इमेल मा देखिएको यो गम्भीर बगलाई सकेसम्म छिटो समाधान गर्नुपर्ने दबाब बढेको छ। कम्पनीले आफ्ना प्राइभेसी बाचाहरूमा थप इमान्दार हुन सके मात्र प्रयोगकर्ताको विश्वास जोगिने देखिन्छ।

सम्बन्धित समाचार

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

काठमाडौं — एप्पलले आफ्ना प्रयोगकर्ताको अनलाइन पहिचान गोप्य राख्न ल्याएको 'हाइड माई इमेल' (Hide My Email) फिचरमा एउटा गम्भीर कमजोरी...
ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

काठमाडौं — लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ 'युजरनेम' (username) फिचरले अहिले नै सुरक्षा चि...
‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

काठमाडौं — इन्टरनेटको आधार बनेको टीसीपी/आईपी (TCP/IP) प्रोटोकल विकासमा निर्णायक भूमिका खेलेका तथा 'इन्टरनेटका पिता' का रूपमा परिचि...
नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

काठमाडौं — नेपाल टेलिकम (NTC) ले ‘सजिलो अनलिमिटेड’ र ‘नमस्ते रिकरिङ’ जस्ता प्याकेज बजारमा ल्याएको छ। निजी क्षेत्रको एनसेल (Ncell) ...