काठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा विभिन्न सदस्य पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यवसायिक कार्ययोजना (बिजनेस प्लान) प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तथा समय सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै अध्यक्षसहित चार वटा पदका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ताको विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि अर्जुन घिमिरे, अनन्त मान सिंह, नवीन कुमार झा, अम्लेन्दु नारायण सिंह, जनार्दन भट्ट, मधु सुदन दाहाल, रविन्द्र श्रेष्ठ, सल्लाउद्दीन खान र सुशील प्रसाद साह सर्टलिस्टमा परेका छन्। उनीहरूको व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार २४ गते बुधबार सूचना तथा सञ्चार मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ।
यस्तै सदस्य (लेखा तथा लेखापरीक्षण) पदका लागि कृष्णमणि पौडेल, कविन्द्र दाहाल, क्षेत्र गोपाल प्रधान र हेमन्तराज सापकोटा सर्टलिस्टमा परेका छन्। उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार २६ गते शुक्रबार हुनेछ।
सदस्य (कानुन) पदका लागि गौरी गौतम प्रधान, दिनेश कुमार अर्याल, निलम कुमार ओझा, प्रशन्न मान बज्राचार्य, भीम बहादुर गुरुङ र विराज ध्वज थापा छनोट सूचीमा परेका छन्। उनीहरूको अन्तर्वार्ता पनि असार २६ गते शुक्रबार नै सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
त्यसैगरी सदस्य (प्रशासन तथा प्राविधिक, बजार व्यवस्थापन) पदका लागि अनन्त पौडेल, श्रीलाल गौतम, आशिष शर्मा, जनार्दन भट्ट, जनमेजय खतिवडा, दीपेन्द्र बहादुर शाह, नवीन जी.सी., नारायण प्रसाद काफ्ले र विमल प्रकाश साह सर्टलिस्टमा परेका छन्। उनीहरूको व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार २५ गते बिहीबार हुनेछ।
यस्तै सदस्य (बजार व्यवस्थापन) पदका लागि बद्री न्यौपाने दास, विनोद चौधरी, रमेश कुमार श्रेष्ठ र सुजिता श्रेष्ठ छनोट सूचीमा परेका छन्। उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता पनि असार २५ गते बिहीबार सञ्चालन हुनेछ।
मन्त्रालयले उम्मेदवारलाई तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि नै उपस्थित भई आवेदनसँग पेश गरिएका सम्पूर्ण कागजातका सक्कल तथा प्रतिलिपि साथमा ल्याउन निर्देशन दिएको छ। रोजगारसम्बन्धी अनुभव पेश गरेका उम्मेदवारले सम्बन्धित निकायबाट जारी गरिएको अनुभवको सक्कल प्रमाणपत्र समेत अनिवार्य रूपमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
