काठमाडौं — जेनेरेटिभ एआई (Generative AI) लाई मूलधारमा ल्याएको च्याटजीपीटी (ChatGPT) अब व्यक्तिगत प्रयोगकर्ताबाट अघि बढेर घर परिवारमा केन्द्रित हुन थालेको छ। लन्च भएको तीन वर्षभन्दा बढी समयपछि यसको निर्माता कम्पनी ओपेनएआई (OpenAI) ले फ्यामिली र हेरचाहकर्ता (caregivers) लाई लक्षित गरेर नयाँ प्रडक्ट बनाउने तयारी थालेको हो।
यसका लागि कम्पनीले सान फ्रान्सिस्कोमा एक छुट्टै प्रडक्ट म्यानेजर नै नियुक्त गर्दैछ। खुलाइएको रोजगारीको विवरणअनुसार यो पदमा आउने व्यक्तिले अभिभावक, परिवार र पाका उमेरका मानिसहरूका लागि विश्वासिलो उपभोक्ता अनुभव तयार पार्नुपर्नेछ।
च्याटजीपीटी चलाउने युवा पुस्ताको हिस्सा घट्दै गर्दा पाको उमेरका प्रयोगकर्ता भने बढिरहेका छन्। प्राप्त सेन्सर टावर (Sensor Tower) को तथ्याङ्क हेर्ने हो भने यस वर्षको दोस्रो त्रैमासमा ३५ वर्षभन्दा माथिका प्रयोगकर्ताको हिस्सा विश्वव्यापी रूपमा ३१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो २६ प्रतिशत मात्र थियो। त्यस्तै १८ देखि २४ वर्ष उमेर समूहका प्रयोगकर्ता ३४ प्रतिशतबाट घटेर २९ प्रतिशतमा झरेका छन्।
अमेरिकाको कुरा गर्ने हो भने स्मार्टफोन चलाउने हरेक चारमध्ये करिब एक अभिभावकले यो त्रैमासमा च्याटजीपीटी चलाएका छन्। गत वर्ष यो १६ प्रतिशत मात्र थियो। नयाँ रोजगारी खुलाइएको विषयमा ओपेनएआईले भने कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
परिवारलाई लक्षित गरेर छुट्टै प्रडक्ट म्यानेजर खोज्नुले ओपेनएआई अब आफ्ना उत्पादनलाई व्यक्तिगत कामको टुलभन्दा पनि घर परिवारको साझा प्रविधिको रूपमा विकास गर्न चाहन्छ भन्ने देखाउँछ। टेक्नोलोजी कन्सल्टेन्सी क्रिएटिभ स्ट्राटेजिजका प्रमुख कार्यकारी बेन बाजरिन भन्छन् “गुगल, एप्पल र मेटाले पनि आफूलाई दैनिक जीवनको हिस्सा बनाउन सुरुमा यही बाटो रोजेका थिए। तर एआईको हकमा भने जोखिम अझै बढी छ किनभने यो असिस्टेन्टले कन्टेन्ट वा डिभाइसको मध्यस्थता गर्ने काम मात्र गर्दैन।”
यो परिवर्तनसँगै विश्वास र सुरक्षाका नयाँ चुनौतीहरू पनि थपिएका छन्। फ्यामिली अनलाइन सेफ्टी इन्स्टिच्युटका प्रमुख कार्यकारी स्टिफन बाल्कमका अनुसार नयाँ पदपूर्तिले ओपेनएआई परिपक्व हुँदै गएको र बालबालिकाले प्रयोग गर्ने एआई प्रडक्टमा वयस्कका लागि भन्दा फरक किसिमको सुरक्षा संयन्त्र चाहिन्छ भन्ने बुझाइ बढ्दै गएको संकेत गर्दछ। “सुरुवातमा यो प्रडक्ट बालबालिकालाई ध्यानमा राखेर बनाइएको थिएन त्यसैले अहिलेको यो कदम एकदमै जरुरी थियो,” उनले भने।
यसै साता फ्यामिली अनलाइन सेफ्टी इन्स्टिच्युटले एउटा नयाँ अनुसन्धान सार्वजनिक गरेको थियो। अमेरिका र अष्ट्रेलियाका ४ हजारभन्दा बढी परिवारमा गरिएको उक्त सर्वेक्षणले अभिभावकहरू आफ्ना बालबालिकाले कति धेरै जेनेरेटिभ एआई चलाउँछन् भन्ने कुरामा अझै अन्जान रहेको देखाएको छ। अमेरिकाका २७ प्रतिशत अभिभावकले आफ्ना बालबालिकाले पछिल्लो एक सातामा जेनेरेटिभ एआई चलाएको बताएका थिए। तर ३८ प्रतिशत बालबालिका आफैंले भने आफूले एआई प्रयोग गरेको स्वीकारेका छन्।
बाल्कमका अनुसार एआई कम्पनीहरूले साना प्रयोगकर्ताका लागि छुट्टै तरिकाले प्रडक्ट बनाउनु पर्दछ। जसमा बलियो कन्टेन्ट कन्ट्रोल, उमेर सुहाउँदो अनुभव, अभिभावकको निगरानी र आफूले मान्छेसँग नभई एआईसँग कुरा गरिरहेको छु भन्ने रिमाइन्डर समावेश हुनु पर्दछ।
पछिल्लो समय युवा प्रयोगकर्ताको सुरक्षालाई लिएर एआई कम्पनीहरूमाथि सार्वजनिक निगरानी बढिरहेको छ। च्याटजीपीटीकै कारण आफ्ना बालबालिकाले आत्महत्या लगायतका गम्भीर क्षति बेहोर्नुपरेको भन्दै अभिभावकहरूले ओपेनएआईविरुद्ध थुप्रै मुद्दा समेत हालेका छन्।
यी चिन्ताहरूलाई सम्बोधन गर्न कम्पनीले गत वर्षदेखि विभिन्न सुरक्षा उपायहरू लागू गर्दै आएको छ। टिनएजर (किशोरकिशोरी) अकाउन्टमा प्यारेन्टल कन्ट्रोल राख्ने, संवेदनशील कुराकानीहरूलाई पहिचान गरेर सम्हाल्न सक्ने ‘रिजनिङ मोडल’ (reasoning models) मा पठाउने र सम्भावित आत्म हानीको अवस्थामा परिवारका सदस्य वा हेरचाहकर्तालाई अलर्ट पठाउने ‘ट्रस्टेड कन्ट्याक्ट’ (Trusted Contact) फिचर यसका केही उदाहरण हुन्।
सामाजिक सञ्जालहरूले वर्षौंसम्म बालबालिकालाई पनि वयस्कलाई जस्तै व्यवहार गरेका थिए र पछि चौतर्फी दबाबपछि मात्र सुरक्षाका उपाय अपनाउन बाध्य भए। बाल्कमका अनुसार एआई कम्पनीहरूसँग भने त्यो गल्ती नदोहोर्याउने अवसर छ। ओपेनएआईले हालै सान एन्टोनियो स्पर्स कम्युनिटी इम्प्याक्ट र पोजिटिभ कोचिङ एलायन्ससँग मिलेर एउटा वर्कसप आयोजना गरेको थियो जहाँ सिकाइ र युवा सहभागितामा एआईको भूमिकाबारे खोजी गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको थियो।
उमेर समूहको यो परिवर्तन च्याटजीपीटीमा मात्र भने सीमित छैन। सेन्सर टावरको अनुमान अनुसार एन्थ्रोपिक (Anthropic) को क्लाउड (Claude) र गुगल (Google) को जेमिनी (Gemini) का २५ देखि ३४ वर्ष उमेर समूहका ग्लोबल एप प्रयोगकर्ता ४० प्रतिशत छन् जुन च्याटजीपीटीसँग ठ्याक्कै मिल्छ। तर माइक्रोसफ्ट (Microsoft) को कोपाइलट (Copilot) को हकमा यो ३३ प्रतिशत मात्र छ।
कोपाइलट चलाउने पाका प्रयोगकर्ता धेरै छन्। यसका २० प्रतिशत प्रयोगकर्ता ४५ वर्ष र सोभन्दा माथिका छन् जबकि क्लाउडमा १४%, जेमिनीमा १२% र च्याटजीपीटीमा यो उमेर समूहका ११% मात्र छन्। च्याटजीपीटीमा पाका प्रयोगकर्ताको संख्या तुलनात्मक रूपमा कम भए पनि उनीहरू थपिने दर भने प्रतिस्पर्धीको भन्दा छिटो छ। दोस्रो त्रैमासमा यो उमेर समूहको हिस्सा अघिल्लो वर्षको तुलनामा तीन प्रतिशत बिन्दुले बढेको छ।
अमेरिकामा स्मार्टफोन चलाउने अभिभावकहरूमध्ये दोस्रो त्रैमासमा जेमिनीको पहुँच सबैभन्दा बढी (३२ प्रतिशत) देखिएको छ। त्यसपछि च्याटजीपीटी २४%, क्लाउड ४% र कोपाइलट २% मा छन्।
बाजरिनका अनुसार परिवारलक्षित प्रडक्ट म्यानेजर नियुक्त गर्ने ओपेनएआईको निर्णयले कन्जुमर एआई (Consumer AI) अब कुन दिशामा जाँदैछ भन्ने प्रष्ट पार्दछ । एआई विस्तारै सबै पुस्ताले चलाउने साझा प्रविधि बन्दै गर्दा कम्पनीहरूले अब फ्यामिली प्लान, चाइल्ड र टिन प्रोफाइल, केयरगिभर टुल, सेयर्ड हाउसहोल्ड मेमोरी, एआई ट्युटोरिङ र अझै बलियो सुरक्षा कन्ट्रोलहरू ल्याउने उनको अपेक्षा छ।
