काठमाडौं — अमेरिकी टेक जायन्ट एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। एप्पलले आफ्ना पूर्वकर्मचारीहरूलाई प्रयोग गरेर ओपनएआईले व्यापारिक गोप्य सूचना (ट्रेड सिक्रेट) चोरेको र सम्झौता उल्लंघन गरेको गम्भीर आरोप लगाएको छ।
शुक्रबार क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा एप्पलले ओपनएआईका उच्च अधिकारीहरूकै निर्देशनमा यो चोरी भएको दाबी गरेको छ। विशेषगरी ओपनएआईका चिफ हार्डवेयर अफिसर ट्याङ ट्यानको नाम यसमा मुख्य रूपमा मुछिएको छ। ट्यान यसअघि एप्पलमै २४ वर्ष काम गरेका थिए र आईफोन तथा एप्पल वाचको प्रडक्ट डिजाइनतर्फका भीपी (उपाध्यक्ष) थिए।
मुद्दामा उल्लेख भएअनुसार ट्यानले ओपनएआईमा कर्मचारी भर्ना गर्ने क्रममा एप्पलका गोप्य प्रोजेक्ट कोडनेमहरू प्रयोग गरेका थिए। अन्तर्वार्तामा आउने उम्मेदवारहरूलाई एप्पलका हार्डवेयर कम्पोनेन्ट लिएर आउन भनिएको, एप्पल छाड्न लागेका कर्मचारीलाई सुरक्षा जाँचबाट कसरी बच्ने भनेर सिकाएको र सार्वजनिक नभएका प्रडक्टबारे जानकारी मागेको गम्भीर आरोप एप्पलको छ।
यो विवाद यस्तो बेला बाहिर आएको छ जतिबेला ओपनएआईले आफ्नो पहिलो हार्डवेयर प्रडक्ट बनाइरहेको चर्चा बजारमा छ। विश्लेषक मिङ-ची कुओले गत अप्रिलमै ओपनएआईले एपको सट्टा एआई एजेन्टमा आधारित स्मार्टफोन बनाउन लागेको बताएका थिए। यदि यो साँचो हो भने यसले एप्पलको मुख्य हार्डवेयर व्यवसायलाई नै ठूलो चुनौती दिनेछ।
हार्डवेयर निर्माणकै लागि भनेर ओपनएआईले गत वर्ष एप्पलका पूर्व लिड डिजाइनर जोनी आइभको स्टार्टअप ‘io’ लाई साढे ६ अर्ब डलर (६.५ बिलियन डलर) मा खरिद गरेको थियो। अदालतमा पेस गरिएको कागजातमा आइभको नाम नभए पनि उनको कम्पनी ‘io’ को नाम भने उल्लेख छ।
यस प्रकरणमा मुछिएका अर्का व्यक्ति हुन् च्याङ लिउ। उनी एप्पलमा ८ वर्षसम्म सिनियर सिस्टम्स इलेक्ट्रिकल इन्जिनियरका रूपमा कार्यरत थिए। सन् २०२६ मा एप्पल छाडेर ओपनएआई जाँदा उनले कम्पनीले दिएको ल्यापटप नबुझाएको र त्यही कम्प्युटर प्रयोग गरेर एप्पलका गोप्य प्राविधिक कागजातहरू डाउनलोड गरेको एप्पलको दाबी छ।
ती कागजातहरूमा एप्पलले सार्वजनिक गरिनसकेका प्रविधि, फिचर र प्रडक्टका प्राविधिक स्पेसिफिकेसन, इन्जिनियरिङ प्रेजेन्टेसन तथा प्रोजेक्टका महत्त्वपूर्ण डाटाहरू रहेको बताइएको छ। साथै लिउले ओपनएआईमा जागिर खान खोजिरहेका एप्पलका अन्य कर्मचारीलाई गोप्य सूचना बाँडेको र अन्तर्वार्ताअघि के के पढ्ने भनेर सिकाएको आरोप पनि छ।
एप्पलले आफ्ना चिन्ताहरू व्यक्त गर्दै गत फेब्रुअरीमै ओपनएआईलाई पत्र पठाएको थियो तर कुनै जवाफ पाएन। ओपनएआईले एप्पलका गोप्य सूचना निकालेर आफ्नै हार्डवेयर बनाउन प्रयोग गरिरहेको एप्पलको भनाइ छ। उदाहरणका लागि ओपनएआईले एउटा पार्टनर कम्पनीलाई ‘हामीसँग एप्पलको अनुमति छ’ भनेर झुक्याउँदै एप्पलको स्वामित्वमा रहेको ‘मेटल फिनिसिङ टेक्निक’ समेत प्रयोग गरेको दाबी गरिएको छ।
एप्पलले अदालतसमक्ष ओपनएआईलाई आफ्ना व्यापारिक गोप्य सूचना प्रयोग गर्न वा सार्वजनिक गर्नबाट रोक्न, सबै गोप्य सामाग्री फिर्ता गर्न र यस केससँग सम्बन्धित प्रमाण सुरक्षित राख्न माग गरेको छ।
“यो त केवल सुरुवात (Tip of the iceberg) मात्र हो,” अदालतमा पेस गरिएको कागजातमा भनिएको छ, “ओपनएआईको बन्द कोठाभित्र के भइरहेको छ भन्ने एप्पललाई थाहा छैन जहाँ नेतृत्वबाटै यस्ता गलत कामलाई सामान्य मानिएको छ। अरूको गोप्य सूचना चोरेर उभिएको ओपनएआईको नयाँ हार्डवेयर व्यवसायको जग भित्रैदेखि कुहिएको छ।”
एप्पलले एक छुट्टै विज्ञप्ति जारी गर्दै आफ्ना टिमले तयार पारेका उत्कृष्ट प्रविधि र बौद्धिक सम्पत्तिको रक्षा गर्न कम्पनी सधैं गम्भीर रहेको बताएको छ।
यता आरोपहरूबारे ओपनएआईले सुरुमा प्रतिक्रिया नदिए पनि समाचार प्रकाशित भएपछि सामाजिक सञ्जाल ‘एक्स’ (X) मार्फत आफ्नो धारणा राखेको छ। कम्पनीले भनेको छ, “हामीलाई अरू कम्पनीका व्यापारिक गोप्य कुराहरूमा कुनै चासो छैन। हामी मानिसहरूलाई सशक्त बनाउने नयाँ प्रविधि निर्माण गर्नमै केन्द्रित छौं।”
