Tekmandu

चीनले गर्‍यो लङ मार्च १०बी को सफल उडान, रियुजेबल रकेट प्रविधिमा अमेरिकालाई चुनौती

काठमाडौं — चीनको सरकारी रकेट विकासकर्ता कम्पनीले शुक्रबार दक्षिण चीन सागरमा आफ्नो पहिलो ‘रियुजेबल अर्बिटल-क्लास बुस्टर’ (reusable orbital-class booster) सफलतापूर्वक रिकभर गरेको छ। लङ मार्च (Long March) रकेट परिवारको निर्मातासमेत रहेको यस कम्पनीले हासिल गरेको यो सफलतालाई अन्तरिक्ष दौडमा चीनको ऐतिहासिक छलाङ मानिएको छ।

हाइनान टापुको वेनचाङ कमर्सियल स्पेस लन्च साइटबाट लङ मार्च १०बी (Long March 10B) रकेटमार्फत यो मिसन सुरु भएको थियो। करिब २०९ फिट (६३.६ मिटर) अग्लो यो रकेटमा सातवटा केरोसिन फ्युएल (kerosene-fueled) इन्जिन प्रयोग गरिएका थिए। स्थानीय समयअनुसार दिउँसो १२:१५ बजे (१२:१५ एएम ईडिटी / ०४:१५ युटिसी) रकेटले समुद्र किनारको स्पेसपोर्टबाट उडान भरेको थियो।

उडान भरेको करिब १० मिनेटपछि  लङ मार्च १०बी बुस्टर अन्तरिक्षबाट तल झर्दै समुद्रमा तैरिइरहेको जहाजमा जडान गरिएको चार खुट्टे फ्रेममा आफैं निर्देशित भएर आयो। जहाजमाथि ग्रिड आकारमा तानिएका तारहरूको जालो (net system) ले रकेटको ल्यान्डिङ इन्जिन बन्द हुनासाथ त्यसलाई हावामै झुन्डिएको अवस्थामा समात्यो। रकेटको माथिल्लो भाग भने अर्बिट (orbit) तर्फ गयो र सीएक्स-२६ (CX-26) नामक पेलोड (payload) सफलतापूर्वक डिप्लोय गर्‍यो। चिनियाँ अधिकारीहरूले यसलाई “पूर्ण रूपमा सफल” उडान भनेका छन्।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले एक्स (X) मा लेख्दै यसलाई चीनको अन्तरिक्ष कार्यक्रमका लागि ऐतिहासिक दिन भनेकी छन्। “चीनको लङ मार्च १०बी ले सफलतापूर्वक आफ्नो पहिलो उडान पूरा गरेको छ र समुद्रमा आधारित नेटमार्फत आफ्नो पहिलो स्टेज रिकभर गरेको छ,” उनले लेखेकी छन्, “यो देशकै पहिलो नियन्त्रित रकेट रिकभरी हो। रियुजेबल लन्च क्षमताको दिशामा यो ठूलो फड्को हो।”

शुक्रबारको यो सफलतासँगै चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन (CASC) र यसको सहायक कम्पनी चाइना एकेडेमी अफ लन्च भेहिकल टेक्नोलोजी (CALT) यस्तो उपलब्धि हासिल गर्ने तेस्रो संस्था बनेका छन्। यसअघि स्पेसएक्स (SpaceX) ले सन् २०१५ मा फाल्कन ९ (Falcon 9) र २०२४ मा स्टारसिप/सुपर हेभी बुस्टर (Starship/Super Heavy booster) मार्फत यो सफलता हात पारेको थियो। गत नोभेम्बरमा ब्लु ओरिजिन (Blue Origin) ले आफ्नो न्यु ग्लेन बुस्टर (New Glenn booster) लाई पहिलो पटक अफसोर प्लेटफर्ममा ल्यान्ड गराएको थियो।

फरक प्रविधि यसका फाइदाहरू

स्पेसएक्स र ब्लु ओरिजिनले आफ्ना रकेटलाई समुद्र वा जमिनको प्याडमा ल्यान्ड गराउन प्रोपल्सिभ ल्यान्डिङ  (propulsive landings) प्रविधि प्रयोग गर्दछन्। स्पेसएक्सले स्टारसिपका लागि लन्च टावरमा जडान गरिएका मेकानिकल आर्म (mechanical arms) प्रयोग गरेर बुस्टर समात्ने नयाँ तरिका अपनाएको छ।

लङ मार्च १०बी ले भने अलि फरक तरिका अपनाएको छ। यसले स्टारसिपले जस्तै हावामै रकेट समात्ने प्रविधि र समुद्रमा तैरिइरहेको जहाजको संयोजन गरेको छ। यसरी नेटमा रकेट समात्दा पेलोड क्षमतामा पर्ने असर कम हुन्छ। रकेटले ल्यान्डिङ लेग (landing legs) को अतिरिक्त भार बोक्नुपर्दैन र तल झर्दा खपत हुने इन्धनको मात्रा पनि घट्छ।

CASC का अनुसार यो परीक्षण उडानले उच्च उचाइमा इन्जिन रिस्टार्ट (engine restarts with high-altitude ignition), उच्च सटीकताको नेभिगेसन र कन्ट्रोल  र नेट प्रणालीमार्फत पहिलो क्याप्चर र रिकभरी जस्ता रियुजेबल लन्च आर्किटेक्चरका मुख्य प्रविधिहरू प्रमाणित गरेको छ।

१६ मेट्रिक टन (३५,००० पाउन्ड) पेलोडलाई लो अर्थ अर्बिट (low-Earth orbit) मा लैजान सक्ने क्षमताको यो मिडियम लिफ्ट (medium-lift) रकेटको पहिलो उडान थियो। यसको क्षमता स्पेसएक्सको फाल्कन ९ भन्दा थोरै कम छ। रकेटको बुस्टरमा केरोसिन र लिक्विड अक्सिजन (liquid oxygen) खपत गर्ने सातवटा वाईएफ-१००के (YF-100K) इन्जिन छन् भने दोस्रो स्टेजमा मिथेनबाट चल्ने एउटा वाईएफ-२१९ (YF-219) इन्जिन रहेको छ। विकास टोलीले यसै वर्षको अन्त्यसम्ममा पहिलो स्टेजको रियुज फ्लाइट टेस्ट पूरा गर्ने लक्ष्य राखेको छ।

लङ मार्च १०बी चीनको अर्को रकेट लङ मार्च १०ए (Long March 10A) सँग मिल्दोजुल्दो छ  जुन पूर्ण स्तरको परीक्षण उडानको पर्खाइमा छ। १०ए रकेटले चीनको तियानगोङ (Tiangong) स्पेस स्टेसनमा नयाँ मेङ्झाउ (Mengzhou) स्पेससिपमार्फत भविष्यमा क्रु लन्च (crew launches) गर्नेछ।

चन्द्रमाको लक्ष्य अन्तरिक्षमा अमेरिकालाई टक्कर

लङ मार्च १० कन्फिगरेसन चीनको चन्द्रमा कार्यक्रमको मुख्य हिस्सा हो। तीनवटा रियुजेबल बुस्टरहरू जोडेर बनाइने यो शक्तिशाली रकेटले चिनियाँ अन्तरिक्ष यात्री र लुनार ल्यान्डर (lunar landers) लाई चन्द्रमातर्फ लैजानेछ। सन् २०३० सम्ममा आफ्ना नागरिकलाई चन्द्रमामा उतार्ने चीनको लक्ष्यमा शुक्रबारको लन्च एक महत्त्वपूर्ण कदम हो।

अन्तरिक्षमा अमेरिकालाई टक्कर दिन चीनका धेरै व्यावसायिक र सरकारी रकेट कम्पनीहरू अगाडि बढिरहेका छन्। हाल चीन विश्वको दोस्रो ठूलो अन्तरिक्ष राष्ट्र हो  तर स्पेसएक्सको दबदबा रहेको अमेरिकी कम्पनीहरूले चिनियाँ रकेटभन्दा झन्डै दोब्बर बढी पेलोड अर्बिटमा पठाइरहेका छन्।

चिनियाँ रकेटको यो प्रगतिलाई अमेरिकी सैन्य अधिकारीहरूले गम्भीर चासोका साथ हेरेका छन्। गत वर्ष स्पेस फोर्सका गुप्तचर विभागका डेपुटी चिफ मेजर जनरल ब्रायन सिडारीले चीनले छिटो लन्च गर्न सक्ने क्षमता विकास गरेमा त्यसले अमेरिकी सम्पत्तिलाई अन्तरिक्षमा चुनौती थप्न सक्ने चिन्ता व्यक्त गरेका थिए।

स्पेसएक्सले फाल्कन ९ को मद्दतले १२,००० भन्दा बढी स्टारलिंक (Starlink) भूउपग्रह प्रक्षेपण गरिसकेको छ। यसबाट अमेरिकी सेनाका लागि स्टारसिल्ड (Starshield) जस्ता सुरक्षित सञ्चार नेटवर्क निर्माण भइरहेका छन्। चीनले पनि आफ्नै स्टारलिंक संस्करणहरू लन्च गर्ने तयारी गरिरहेको छ। रकेट रियुज प्रविधिमा सफलता हात पारेमा चीनको लन्च क्षमता तीव्र रूपमा बढ्नेछ।

मिचेल इन्स्टिच्युटका स्पेसपावर एडभान्टेज सेन्टर अफ एक्सिलेन्सका निर्देशक तथा अवकाशप्राप्त अमेरिकी स्पेस फोर्स कर्नेल चार्ल्स ग्यालब्रेथ भन्छन्, “स्पष्ट रूपमा उनीहरू स्पेसएक्सको कामको प्रशंसा गर्दछन् र त्यसलाई नक्कल गर्ने प्रयास गरिरहेका छन्।” चीनले यो प्रविधिमार्फत आफ्नो स्याटेलाइट आर्किटेक्चर कति छिटो विस्तार गर्छ भन्ने कुरा अब हेर्न बाँकी रहेको उनले बताए।

यसअघि ल्यान्डस्पेस (LandSpace) र अर्को एक चिनियाँ सरकारी कम्पनीले आफ्ना रकेटहरू रिकभर गर्ने प्रयास गरे पनि ती सफल भएका थिएनन्। अब आउने दिनमा जुके-३ (Zhuque-3), तियानलोङ-३ (Tianlong-3), लङ मार्च १२बी (Long March 12B), काइनेटिका-२ (Kinetica-2), हाइपरबोला-३ (Hyperbola-3) जस्ता चिनियाँ रकेटहरूले यो प्रविधि पछ्याउनेछन्। भविष्यमा चीनले स्टारसिप जत्रै ठूलो लङ मार्च ९ (Long March 9) ल्याउने लक्ष्यसमेत राखेको छ।

उता अमेरिकामा रकेट ल्याब (Rocket Lab), रिलेटिभिटी स्पेस (Relativity Space), फायरफ्लाई एरोस्पेस (Firefly Aerospace) र स्टोक स्पेस (Stoke Space) जस्ता कम्पनीहरू रियुजेबल रकेट निर्माणमा जुटेका छन्। युरोप, भारत, जापान र रुसले पनि यो प्रविधिलाई आफ्नो रोडम्यापमा राखेका छन्।

ग्यालब्रेथका अनुसार चीनसँग अमेरिकाभन्दा धेरै लन्च साइटहरू भएकाले रियुजेबल प्रविधिको संयोजन गर्दा उनीहरूको लन्च रेट अमेरिकाभन्दा बढी हुन सक्छ। “प्रतिस्पर्धा शान्तिपूर्ण भएसम्म राम्रो हो,” उनले भने, “तर चीनको अन्तरिक्ष कार्यक्रम सैन्य नियन्त्रणमा रहेकाले यस दौडबाट उनीहरूको सशस्त्र सेनाले महत्त्वपूर्ण फाइदा लिन सक्ने कुरालाई हामीले नजिकबाट हेर्नु पर्दछ।”

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...