काठमाडौं — नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक (एमडी) पदमा संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छन् । टेलिकमको ‘बिलिङ सिस्टम अपग्रेड’ (विद्युतीय भुक्तानी प्रणाली स्तरोन्नति) गर्ने कार्यमा भ्रष्टाचार गरेको आरोप लागेकी पहाडीले विशेष अदालतबाट क्लिन चिट (सफाइ) पाएसँगै उनी पुन आफ्नो जिम्मेवारीमा फर्किएकी हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट गत असार २६ गते उनको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । विशेष अदालतको फैसलासँगै मन्त्रालयले निलम्बन फुकुवा गरेपछि उनी टेलिकमको नेतृत्वमा पुनर्बहाली भएकी हुन् ।
यसअघि असार २५ गते विशेष अदालतले टेलिकमको बिलिङ प्रणाली स्तरोन्नतिमा भ्रष्टाचार भएको भन्दै दायर गरिएको मुद्दामा आरोपित सबैलाई सफाइ दिएको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उक्त प्रकरणमा कुनै बदनियत नदेखिएको ठहर गर्दै प्रबन्ध निर्देशक पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित सबै १८ जना प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको थियो ।
पहाडी २०८१ भदौ २१ गते नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । तर उक्त खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै उनीसहित अन्य आरोपित कर्मचारीहरू स्वत निलम्बनमा परेका थिए ।
पहाडी निलम्बनमा परेपछि टेलिकमको दैनिक कामकाज सञ्चालन गर्न सरकारले सविना मास्केलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । मास्केले अनिवार्य अवकाश पाएपछि भने रिना डंगोलले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अदालतको अन्तिम फैसलासँगै टेलिकमको नेतृत्व पुन पहाडीले नै सम्हाल्ने भएकी छन् ।
