काठमाडौं — प्रविधि कम्पनी गुगल फेरि एकपटक एआई प्रशिक्षणसँग सम्बन्धित कपीराइट विवादमा तानिएको छ। प्रमुख अन्तर्राष्ट्रिय प्रकाशक र लेखकहरूको समूहले गुगलले अनुमति नलिई कपीराइट सुरक्षित सामग्री प्रयोग गरेर आफ्नो जेमिनी एआई मोडललाई प्रशिक्षण दिएको आरोप लगाउँदै अमेरिकामा सामूहिक (क्लास एक्शन) मुद्दा दायर गरेको हो।
न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा हाचेट (Hachette), सेन्गेज (Cengage), एल्सेभियर (Elsevier), लेखक स्कट टुरो (Scott Turow) र एस.सी.आर.आई.बी.ई. (S.C.R.I.B.E.) लगायत वादीका रूपमा छन्।
मुद्दाअनुसार गुगलले कपीराइट सुरक्षित सामग्री प्रयोग गरेर जेमिनी मोडललाई प्रशिक्षण दिनुका साथै त्यसको प्रमाण लुकाउन कपीराइटसम्बन्धी जानकारी हटाएको वा परिवर्तन गरेको आरोप लगाइएको छ। वादीहरूले यसलाई चोरी गरिएका सामग्रीबाट एआई मोडल प्रशिक्षण गरिएको तथ्य लुकाउने नियोजित प्रयास भएको दाबी गरेका छन्।
यो विवाद गुगलमाथि मात्रै सीमित छैन। पछिल्ला केही वर्षयता मेटा, ओपनएआई, एन्थ्रोपिक लगायत एआई कम्पनीविरुद्ध पनि प्रकाशक, लेखक तथा अन्य कपीराइट अधिकारधनीहरूले यस्तै प्रकृतिका थुप्रै मुद्दा दायर गरिसकेका छन्।
यीमध्ये अधिकांश मुद्दा अझै अदालतमा विचाराधीन छन्। तर क्यालिफोर्नियामा आएका दुई प्रारम्भिक फैसलाले भने एआई कम्पनीहरूको पक्ष लिएका छन्। ती फैसलामा अमेरिकाको कपीराइट कानुनअनुसार कपीराइट सामग्रीलाई एआई प्रशिक्षणमा प्रयोग गर्नु “फेयर युज” को दायराभित्र पर्ने उल्लेख गरिएको छ। उक्त कानुन इन्टरनेटको विकासअघि बनाइएको भएकाले अहिलेको एआई प्रविधिसँग सम्बन्धित धेरै विषय त्यसमा समेटिएका छैनन्।
यद्यपि एन्थ्रोपिक भने प्रशिक्षणका लागि प्रयोग गरिएका सामग्री पाइरेसी गरेको ठहर गर्दै १.५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न बाध्य भएको थियो। यो अमेरिकी कपीराइट कानुनको इतिहासकै सबैभन्दा ठूलो क्षतिपूर्ति मानिएको छ। करिब पाँच लाख लेखक कम्तीमा ३ हजार अमेरिकी डलरका दरले भुक्तानी लिन योग्य थिए। तर धेरै लेखकहरूले थप कानुनी लडाइँ जारी राख्न उक्त सम्झौताअन्तर्गतको रकम नलिने निर्णय गरेका थिए।
क्यालिफोर्नियाका ती फैसलाले एआई कम्पनीहरूको फेयर युज बचाउलाई केही बल पुर्याए पनि कानुनी बहस अझै जटिल रहेको विश्लेषण गरिएको छ। त्यसैले ती निर्णयलाई अन्तिम नजिरका रूपमा लिन नमिल्ने कानुनी तर्क पनि उठिरहेको छ। नयाँ मुद्दा न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा दर्ता भएकाले यसमा फरक न्यायाधीशले नयाँ दृष्टिकोणबाट फैसला गर्ने सम्भावना छ।
गुगलविरुद्धको पछिल्लो मुद्दामा प्रकाशक र कम्पनीबीचको पुरानो सहकार्यलाई पनि आधार बनाइएको छ। मुद्दामा उल्लेख गरिएअनुसार प्रकाशकहरूले लामो समयदेखि गुगल बुक्स मार्फत पुस्तक खोज्न मिल्ने सेवा उपलब्ध गराउन आफ्नो कपीराइट सुरक्षित सामग्री गुगललाई उपलब्ध गराउँदै आएका थिए। तर उक्त सेवामा प्रयोगकर्ताले पूरा पुस्तक पढ्न पाउँदैनन् पुस्तकका साना अंश र पुस्तकसम्बन्धी आधारभूत जानकारी मात्र हेर्न सक्ने व्यवस्था छ।
वादीहरूको दाबीअनुसार गुगलले त्यही प्रयोजनका लागि उपलब्ध गराइएका पुस्तकका प्रतिलिपि तथा गुगल प्ले स्टोरमा अपलोड गरिएका पुस्तकहरूलाई अनुमति नलिई जेमिनी प्रशिक्षणमा प्रयोग गरेको हो।
मुद्दामा भनिएको छ, “गुगलसँग आवश्यक अनुमति नभएको जानकारी हुँदाहुँदै पनि सीमित उद्देश्यका लागि उपलब्ध गराइएका सबै सामग्रीलाई गैरकानुनी रूपमा एआई प्रशिक्षणमा प्रयोग गरियो।”
वादीहरूले गुगलको आन्तरिक दस्तावेजसमेत उद्धृत गरेका छन्। उक्त दस्तावेजमा कपीराइट सुरक्षित पुस्तकहरूलाई एआई प्रशिक्षणमा प्रयोग गर्नु कम्पनीका लागि “अत्यन्त समस्याजनक” हुन सक्ने र त्यसबाट १० अर्बदेखि १०० अर्ब अमेरिकी डलरसम्म सम्भावित जरिवाना लाग्न सक्ने उल्लेख रहेको दाबी गरिएको छ।
